१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

आक्रमण गर्ने साँढे समातियो

सडकमा हिँड्ने यात्रुमाथि लगातार आक्रमणको प्रयास गरेपछि चन्द्रपुर ४ का वडा अध्यक्ष अमर आले साँढे पक्रनेलाई इनाम दिने घोषणा गरेका थिए

रौतहट — एक महिनादेखि आतंक मच्याउँदै आएको साँढेलाई सोमबार नियन्त्रमा लिइएको छ । पशु प्राविधिक, जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

आइतबार दिउँसो साँढेको आक्रमणबाट एक बृद्धा गम्भीर घाइते भएकी थिइन् । एक महिनाको अवधिमा आधा दर्जन मानिसलाई आक्रमण गरी घाइते बनाएको थियो ।


नगर पशु स्वास्थ्य शाखाका प्राविधिक दुर्गा चिमरिया सहितको टोलीले साँढे समातेको हो । बिहान साँढेले लखेटेपछि केही बेर भागदौड भएको थियो । साँढेलाई नथ्थी लगाई बलरीको जंगलमा लगेर छाडिएको छ । सडकमा हिँड्ने यात्रुमाथि लगातार आक्रमणको प्रयास गरेपछि चन्द्रपुर ४ का वडा अध्यक्ष अमर आले साँढे पक्रनेलाई इनाम दिने घोषणा गरेका थिए ।


बिहान चोकमा निस्कदै गर्दा सुरक्षाकर्मी र प्राविधिकको टोलीले घेराहाली पक्रने प्रयास गरेको थियो । तर प्रयास असफल भयो । साँढेले लेखेट्न थालेपछि भागभाग भयो । निकै बेरको प्रयासपछि पक्रन सफल भएको प्राविधिक चिमरियाले बताए । ‘मानिसको भीडभाड धेरै भएकाले साँढे बिचकियो,’ उनले भने, ‘निकै प्रयासको बाबजुद पक्रन सफल भयौं ।’


साँढेलाई चारै खुट्टा बाँधेर नगरपालिकाको जेसिबिले उचालेर टयाक्टरमा राखेको थियो । अघिल्लो दिन घरमा बसिरहेका चन्द्रपुर ४ का धनमाया तिमल्सिनालाई आक्रमण गरी गम्भीर घाइते बनाएपछि वडा अध्यक्ष आलेले पशु प्राविधिकलाई गुहारेका हुन् । घाइते तिमल्सिनाको वीर अस्पतालमा उपचार भइरहेको छ ।


साँढेले भौतिक र मानवीय क्षति पुर्‍याउन सक्ने हुनाले पक्रनु परेको आलेले जनाए । उनले इनामको रकम कसलाई दिने भन्ने खुलाएनन् । साँढे पक्रन वडा अध्यक्षले स्थानीय समाजसेवी, पत्रकार, नागरिक समाज लगायतकालाई प्रहरी कार्यालयमा बोलाएर मुचुल्का गरेको थियो ।


एक महिनादेखि यहाँको चोकमा साँढे आतंक थियो । एक साताअघि ई–रिक्सामा आक्रमण गर्दा एक महिला र बालक घाइते भएका थिए । साँढेको आक्रमणमा परी चन्द्रनिगाहपुरका बिसान्तप्रसाद सुवेदीको हात भाँचिएको थियो । रिक्सा सडकमै पल्टिएर बालक सहित २ यात्रु सामान्य घाइते भए । सडकमा हिँड्ने बटुवा देख्ना साथ यसले आक्रमण गथ्र्यो ।


यो आक्रामक छ भन्ने कसैलाई थाहा हुँदैनथ्यो । त्यसैले नजिक पुग्नेलाई सिङले हान्थ्यो । गाउँबाट डामेर पठाइएको साँढेलाई हतपत मानिसले धपाउने गर्दैनन् । यो सडकमै बस्छ । चर्न समेत कतै जादैन । सडकमा फालिएका बस्तु खान्छ । मुख्य चोकको दायाँबायाँ यसले आफनो बासस्थान बनाउँछ ।


यसअघि स्थानीयले पक्रने प्रयास गरे पनि सकेका थिएनन् । त्यसपछि यो झनै आक्रामक बनेको थियो । यसलाई बिच्कायो भने झनै ठूलो क्षति पुर्‍याउने स्थानीयको भनाइ छ ।


पहिला गाउँघरमा साँढेलाई पूजा गरिन्थ्यो । गाईको बथानमा देखियो भने शुभ मानिन्थ्यो । यो निकै खतरनाक हुन्छ । गाईको बाछोलाई त्रिशूलले शरीरमा डामेर चिन्ह बनाउँदै छाड्ने चलन छ । यसरी डामेर छाडेपछि साँढे बन्छ । यसलाई बाँधेर पाल्न पाइँदैन । जहाँ जतासुकै घुम्न डुल्न पाउँछ । गाईको बाछालाई सुमार (खसी पार्ने) नगरेपछि साँढे हुने स्थानीयको भनाइ छ ।


चन्द्रनिगाहपुरमा पक्रेको साँढेको शरीरमा त्रिशूलले डामिएको थियो । डेढ दशकअघिसम्म धेरै जसो गाउँ साढे देख्न पाइन्थ्यो । गाईबस्तसुको प्रत्येक हुलमा एउटा साँढे हुन्थ्यो । मेलामा साँढे जुधाइन्थ्यो । यसको महत्त्व छुट्टै थियो । अहिले लोप हुँदै गएको छ । पछिल्लो समय कुनै पनि गाउँमा भेटिँदैन । अहिले एकाधबाहेक देख्न पाइँदैन । जंगलमा कहिलेकाहीँ देखिने गरिन्छ ।

प्रकाशित : मंसिर २५, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?