३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

महोत्सवमा आउन थाले जन्ती 

श्यामसुन्दर शशि

जनकपुर — अयोध्याबाट आएका जन्तीहरूलाई सोमबार नेपाल–भारतको सीमामा अवस्थित जटहीमा स्वागत गरिएको छ । कांग्रेसका नेता रामसरोज यादव, नगराइन नगरपालिकाका मेयर परमेश्वर यादव तथा जानकी मन्दिरका छोटे महन्त रामरोशन दाससहित स्थानीयले स्वागत गरेर जन्तीलाई नेपाल भित्र्याए ।

महोत्सवमा आउन थाले जन्ती 

रामजानकी विवाह महोत्सवमा अयोध्याबाट जन्ती आउने परम्परा नयाँ नभए पनि यस वर्ष उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत महोत्सवमा सहभागी हुने भएपछि दुबै देशका साधु सन्त र सर्वसाधारण उत्साहित छन् ।


विवाहमा तिलकोत्सव

साधु, सन्त, महन्थ मर्यादाका प्रतीक हुन् । सामान्यता उनीहरूको बोलीवचन, आहार(व्यवहारलाई अनुशरण गर्ने चलन छ । तर,नेपाल–भारतका प्रसिद्ध मठ–मन्दिरका सन्त–महन्थको जमघटमा सोमबार जनकपुरको राम मन्दिरमा आयोजना गरिएको तिलकोत्सव समारोहमा उनीहरू गाली सुनेर मुस्कुराइ रहे । एक–अर्कालाई अँगालो कँस्दै गाली मिसिएको गीत सुने ।


रामजानकी विवाह महोत्सवको चौथो दिन सोमबार राममन्दिर परिसरमा तिलकोत्सव भयो । त्यसमा सहभागी गीत गाइन (लोकगीत गाउने महिला) हरूले जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव, छोटे महन्त रामरोशन दासलाई मात्र होइन, बेहुली पक्षका सबै सहभागीलाई गाली मिश्रित गीत गाएर स्वागत गरे ।


‘समधीके दाढीमे कवुतर लटकाऊ । लटकाऊ मिलि सखिया दाढीमे कवुतर लटकाऊ ..।’ (समधी (जानकी मन्दिरका महन्त) को दाढीमा सबै मिलेर परेवा झुन्डियाऊ) । तिलकोत्सवमा जानकी मन्दिर (बेहुली पक्ष) र राम मन्दिर (बेहुला पक्ष) बीच बैवाहिक नोकझोंक पनि चल्छ ।


कन्यापक्ष र वेहुलापक्ष गरी दुई समूहमा विभाजित साधुसन्तबीच अविर, बेसार, दही छ्याछ्याप्प समेत चल्यो । अयोध्याबाट आएका जन्तीसँगै राम पक्षका महिला–पुरुष जानकी मन्दिरका महन्थ दास र उनीसँगै तिलकोत्सवमा सहभागी भएकाहरूलाई अविर, दही, बेसार दलेका थिए ।


सप्ताहव्यापी राम जानकी विवाह महोत्सवको पूर्वसंध्यामा आयोजित हुने तिलकोत्सवको अवसरमा प्रत्येक वर्ष यस्तै माहोल हुन्छ । तर, यसवर्ष अयोध्याबाट सयौंका संख्यामा साधुसन्त, महन्त जन्तीमा सहभागी भएकाले अझ रमाइलो भएको थियो ।


अपरान्ह जानकी मन्दिरबाट बाजागाजा तथा फलफूल, लत्ताकपडा, मिष्ठान्नसहित आएका कन्यापक्ष नगर परिक्रमा गरी राममन्दिर पुगेका थिए । सीताको पिताका रूपमा जानकी मन्दिरका महन्थ दासले कन्या पक्षको नेतृत्व गरेका थिए ।


कन्यापक्षलाई स्वागत गर्न महावीर युवा कमिटीले राम मन्दिरमा पण्डाल निर्माण गरेको थियो । जहाँ उनीहरूलाई राम मन्दिरका महन्थ राम गिरी, तिलकोत्सव आयोजक कमिटीले स्वागत गरेका थिए ।

प्रकाशित : मंसिर २५, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?