१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

उपभोक्ताले काठ पाएनन्

प्रदेश वन मन्त्रालयले आदेश नदिएपछि काठ त्यतिकै कुहिन थालेको छ
शिव पुरी

रौतहट — डिभिजन वन कार्यालयअन्तर्गतको वैज्ञानिक वन क्षेत्रबाट कटान गरी निस्किएको काठ, दाउरा वितरणको आदेश दिएको छैन । आदेश नहुँदा एक वर्षदेखि उपभोक्ताले काठ पाएका छैनन् ।

उपभोक्ताले काठ पाएनन्

प्रदेश वन मन्त्रालयले आदेश नदिएपछि काठ त्यतिकै कुहिन थालेको छ । आदेश नहुँदा झन्डै १८ हजार क्युफिट काठ र ६५ चट्टा दाउरा कुहिने अवस्थामा पुगेको छ ।


चन्द्रपुर ६ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समूहले २०७४ चैतमा पहिलो पटक बैज्ञानिक वन व्यवस्थापन भनेर साल र कुकाठको रूख कटान गरी झन्डै ८ हजार क्युफिट काठ दाउरा घाडगद्दी गरेको थियो । पुरानो, कमसल, सेपमा परेका साल लगायतका २ सय ३६ वटा रूखहरू कटान गरी त्यसबाट निस्केको काठ दाउरा संकलन गरिएको हो ।


स्थानीय उपभोक्तामा आन्तरिक खपत गरिने सामुदायिक वनको उद्देश्य हो । तर एक वर्ष बढी समयदेखि उपभोक्ताले काठ दाउरा पाउन नसकेको समूहका अध्यक्ष रामलाल ठोकरले बताए । ‘हामीले काठ कुहिन थाल्यो वितरणका लागि चाँडै आदेश दिनुस् भनेर डिभिजन वनलाई अनुरोध गर्दै आएका छांै,’ उनले भने, ‘प्रदेश वन मन्त्रालयबाट रोकेको भनेर फर्काइने गरिएको छ । एक वर्षदेखि उपभोक्ताले काठ पाएका छैनन् ।’


उपभोक्ताले काठ नपाएपछि चोरी निकासी बढ्न सक्ने आशंका गरिएको छ । समूहले बैज्ञानिक वन क्षेत्रबाट ८ हजार गोलिया र ३२ चट्टा दाउरा संकलन गरेको थियो । उपभोक्ताले निजी खपतका लागि पाउँछन् । यसको राजस्व तिरेर समूहका सदस्यले घरायसी प्रायोजनका लागि लैजान्छन् । यसले राष्ट्रिय वनको चोरी निकासी कम हुने अनुमान गरिएको छ ।


घाम, पानीले काठ कुहिन थालेको वन कार्यालयलाई जानकारी गराइएको अध्यक्ष ठोकरले जनाए । वन कार्यालयले प्रदेश वन मन्त्रालयमा काठको लगत सहित आदेशका लागि फायल पठाएको थियो । तर अहिलेसम्म त्यहाँबाट कुनै किसिमको आदेश नआएको वन अधिकृत बिनोद सिंहले बताए ।


‘हामीले पुन: पत्राचार गरेका छौं,’ उनले भने, ‘चाँडै आदेश आउँछ । समयमा खपत गराउन सकिएन भने काठ, दाउरा कुहिन सक्छ ।’ प्रदेश वन मन्त्रालयले स्थलगत अनुगमन गरेर मात्र आदेश दिने बताउँदै आएको छ ।


समूहले सालको गोलियाको ग्रेड हेरी राजस्व लिने गरेको छ । ‘ए’ ग्रेडको प्रतिक्युफिट १ हजार,‘बि’ को ८ सय र ‘सि’ ग्रेडको ५ सयमा उपभोक्तालाई बिक्री गरिँदै आएको छ । त्यस्तै दाउरा प्रतिचट्टा २० हजार कायम गरिएको छ । उपभोक्ताले घर बनाउन यही काठ प्रयोग गर्छन् । उनीहरूले समूहमा निवेदन दिएपछि पालोअनुसार काठ उपलब्ध गराइने प्रावधान छ ।


संकलन गरिएको काठ समूहकै कार्यालयको कम्पाउन्डमा राखिएको छ । जनएकता र नमुना सामुदायिक वनअन्तर्गत बैज्ञानिक वनबाट संकलन गरेको काठ दाउरा वितरण गर्न नसक्दा कुहिन थालेको छ । वन कार्यालयका अनुसार गत आर्थिक वर्षमै बैज्ञानिक वनबाट हातेमालोले ७ हजार ७ सय १९, जनएकताले १ हजार ८ सय ७२ र नमुना सामुदायिक वन उपभोक्ता समूहले ८ हजार ३ सय ५४ गरि १७ हजार ९ सय ४५ क्युफिट काठ संकलन गरेको थियो ।


त्यस्तै तीनवटै सामुदायिक वनले ६५ चट्टा दाउरा संकलन गरेको थियो । ती सबै उपभोक्तालाई खपतका लागि वितरण गर्नुपथ्र्यो । तर आदेश नभएकाले त्यतिकै कुहिने अवस्थामा पुगेको छ । आदेश नभएकाले यो समूहमा पनि समस्या उस्तै छ । वनले आदेश नदिएकाले वितरणमा समस्या भएको वन समूहले जनायो ।


बैज्ञानिक वनमा साल सप्रिँदै

वन क्षेत्रलाई वैज्ञानिक र दिगो व्यवस्थापन गर्दा उत्पादनशिलता वन क्षेत्रवाट काठ दाउराको आपूर्ति बढ्न गई कहालीलाग्दो मूल्य बृद्धिमा शिथिलता आउने तथ्य सहित ल्याइएको बैज्ञानिक वनमा सालको रूख सप्रिँदै गएको छ ।


बजार भाउ स्थिर र न्यूनीकरण गरी सर्वसाधारणलाई केही हदसम्म भए पनि राहत पुग्न सक्ने बैज्ञानिक वनको अवधारणा हो । बुढा, पाका, कमसल र सेपमा परेका रूख बिरुवा काँटछाँट गरी वनको प्राकृतिक पुनरुत्पादन वा रोपण गरी नयाँ पुस्ताका लागि स्वस्थ र गुणस्तरयुक्त वन सृजना गर्ने लक्ष्य हो ।

यस क्षेत्रमा झन्डै १० हजारभन्दा बढी साना साल लगायतका रूखका बिरुवा हुर्किदै गएको छ । वन क्षेत्रको दिगो र वैज्ञानिक व्यवस्थापन हुन नसके जैविक विविधताको ह्रास हुने, जलवायु परिवर्तनको असर बढ्ने, विकास र वातावरण बीचको सन्तुलनता बिग्रने डिभिजन वन प्रमुख सिंहले बताए ।


यहाँ चोचा र चेतनगर वन सेक्टरअन्तर्गत ६ वटा बैज्ञानिक वनको व्यवस्थापन क्षेत्र बनाइएको छ । गत आवमा हातेमालो, जनएकता र नमुना सामुदायिक वन उपभोक्ता समूहमा व्यवस्थापनको काम सम्पन्न गरिसकेको छ । यी समूहमा समेत सालका साना रूख सप्रिँदै गएको छ ।

प्रकाशित : मंसिर २६, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?