३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रोकिएन हात्ती आतंक

जंगली हात्तीको समूहले सोमबार राति ईश्वरपुर नगरपालिका– १३ गौरीशंकरमा आधा दर्जन घर तोडफोड गरेको छ

सर्लाही — करिव १० दिनदेखि सर्लाहीवासीले भोग्दै आएको हात्ती आतंक अझै छ । चुरे बस्तीमा बितण्डा मच्चाएको हात्ती सोमबार रातिबाट राजमार्ग तल जिल्लाको पूर्वी नाकामा आतंक मचाउन सुरु गरेको छ । 

रोकिएन हात्ती आतंक

जंगली हात्तीको समूहले सोमबार राति ईश्वरपुर नगरपालिका– १३ गौरीशंकरमा आधा दर्जन घर तोडफोड गरेको छ । घरमा भन्डारण गरी राखिएको अन्न खाएर नष्ट समेत गरेको छ । यस्तै धर्मशाला टोलमा पनि किसानले खेतमा लगाएको आलु लगायत तरकारी बालीमा पनि क्षति पुर्‍याएको स्थानीय सरोज कुमार महतोले बताए ।


गाउँको नजिकको जंगलमा आएको जंगली हात्ती आतंकले त्यस क्षेत्रका स्थानीय त्रासमा छन् । दिनभरि नजिकैको जंगलमा बस्ने र रात परेपछि बस्ती छिर्ने हात्तीका कारण स्थानीयबासी निकै त्रसित बनेका हुन् । केही दिन अघि जिल्लामा देखापरेको हात्तीको समूहले अहिलेसम्म करिव दुई दर्जन घर भत्काइसकेको छ ।


हात्तीले घरमा क्षति पुर्‍याउनुका साथै घरमा राखिएको अन्नपात समेत खाने गरेको छ । चिसो मौसममा हात्तीले घर भत्काउँदा स्थानीयको बिजोग छ । हात्तीले घर भत्काएका कारण कतिपयको ओत लाग्ने ठाउँ समेत छैन । उनीहरू अर्काको घरमा साहारा लिएर बस्दै आइरहेका छन् ।


हात्तीलाई स्थानीय र प्रहरी मिलेर आगोको राँको बालेर पूर्वतर्फको जंगलमा भगाएका छन् । हात्ती आतंकका कारण लालबन्दी नगरपालिकाको हिरापुर, रानीगञ्ज, परवानीपुर र ईश्वरपुर नगरपालिकाको गौरीशंकर लगायत जंगल छेउका बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् ।


वन जंगलमा घाँस दाउरा गर्न जान समेत समस्या भइरहेको बताएका छन् । हात्ती आउने बित्तिकै गाउँले मिलेर भाँडा ठटाउने, आगो बाल्ने, पटा पडकाउने जस्ता काम गर्दै आएका छन् । हात्तीबाट बच्न गाउँलेहरू समूह बनाएर राति गस्ती समेत गर्दै आएका छन् ।


१० दिनदेखि जिल्लामा देखा परेको हात्ती सुरक्षितसँग पर्सा राष्ट्रिय वन्यजन्तु निकुञ्जतर्फ धपाउने प्रयास गरिरहेको डिभिजन वन कार्यालयका प्रमुख माधव प्रसाद देवले जानकारी दिए ।


हात्तीलाई निकुञ्जतर्फ कसरी लान सकिन्छ ? भनेर पर्सा वन्यजन्तु आरक्षबाट हात्ती विज्ञ सहितको टोली केही दिनदेखि सर्लाही आएर हात्ती देखा परेको क्षेत्रमा खटिरहेको छ ।


जिल्लामा हात्तीले थप क्षति पुर्‍याउन नपाओस् र सुरक्षितसँग निकुञ्जतर्फ पुर्‍याउन प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेलले बताए ।

प्रकाशित : मंसिर २६, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?