गढीमाई क्षेत्रको विकास भएन

लक्ष्मी साह

बारा — पशु बलीले प्रसिद्ध गढीमाई क्षेत्रमा विकास नभएकोमा सरोकारवालाहरूले चिन्ता जनाएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिले महागढीमाई नगरपालिकास्थित रहेको मन्दिरको मंगलबार स्थलगत अनुगमन गर्दै सरोकारवालाहरूले चिन्ता जनाएका हुन् । 

हरेक पाँच वर्षमा लाग्ने गढीमाई मेला आउँदो एक वर्षपछि (अर्को वर्ष) मंसिरमा लाग्दैछ । सरोकार समितिले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमनपछि गढीमाई मन्दिरको अनुगमन गर्दा त्यहाँका स्थानीयहरूले समितिसित यस्तो गनासो व्यक्त गरे ।


गढीमाईको गुरुयोजना बनेको वर्षौं भए पनि त्यस अनुसार काम हुन नसकेको स्थानीयको भनाइ छ । गुरुयोजनाअनुसार गढीमाई मन्दिर क्षेत्रमा आवास, पार्किङ, सडक, रिङ रोड, रंगशाला, विवाह मण्डपलगायत बनाउनुपर्नेछ । यस क्षेत्रलाई सरकारले पर्यटन क्षेत्रको सूचीमा राखेको छ ।


तर त्यसअनुसार पर्यटकलाई तान्न सक्ने कुनै पूर्वाधारको विकास हुन नसकेकोप्रति उनीहरू चिन्तित छन् । महागढीमाई नगरपालिकामा पर्ने यस यस क्षेत्रलाई पर्यटन क्षेत्रका रूपमा विकास हुनुपर्ने नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले सरकारसित माग गरे ।


‘अहिलेसम्ममा तत्कालीन राजा, अहिलेका राष्ट्रपतिसहित तत्कालीन प्रधानमन्त्री, मन्त्रीहरूसमेत दर्शन गर्न आउने बेलामा गढीमाईको विकास गर्ने प्रतिबद्धता जनाउनुहुन्छ तर फर्केर गएपछि बिर्सनुहुन्छ,’ नगर प्रमुख यादवले भने, ‘पर्यटकीय स्थलका रूपमा विकास चिनाउन धेरथोर नगरपालिकाले आफ्नो लगानी गरेको छ ।’


पर्यटक भित्र्याउनका लागि बहुवर्षीय योजनाअन्तर्गत करिब १० करोडको लागतमा सूर्य भगवानको मन्दिर निर्माण कार्य अगाडि बढाएको उनले बताए छ । ‘गढीमाई मन्दिर क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न चाहेर पनि बजेटको कमीले हुन सकेको छैन,’ उनले भने, ‘पर्यटकीयस्थल बनाउन आवश्यक बजेट सरकारले उपलब्ध गराउनुपर्‍यो ।’


यस क्षेत्रलाई आवश्यक अनुदान रकम उपलब्ध गराई पर्यटकीय स्थलका रूपमा परिणत गर्न राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापालाई उनले मंगलबार पत्र हस्तनान्तरण गरे ।


सरकारले बनाएको १२ सदस्यीय सांसदहरूको सरोकार समितिले मन्दिरमै पुगेर अनुगमन गरेको हो । अनुगमनका क्रममा गढीमाईको गुरुयोजनाअनुसार सरकारले विकास गरिदिन गढीमाई ट्रस्टका पदाधिकारीहरूले समितिलाई आग्रह गरे । ‘गढीमाई चर्चामा धेरै छ तर विकासमा पछाडि छ,’ ट्रस्टका सचिव मोतिलाल कुसवाहाले समितिकालाई भने, ‘त्यसैले यसको चर्चा जतिकै सरकारले विकासमा ध्यानदिनुपर्छ ।’


अनुगमनका क्रममा टोलीले स्थानीय तहका पदाधिकारी, मन्दिर सञ्चालन तथा विकास समितिका पदाधिकारी, समाजसेवी, बुद्धिजीवीसँग छलफल गर्‍यो । समितिका सभापति दिलकुमारी रावल थापाको नेतृत्वमा स्थलगत अनुगमन गर्न आएको टोलीले पर्यटकीय स्थलका रूपमा विकास गर्न आवश्यक पर्ने जग्गा, बजेट, भौतिक पूर्वाधारका बारेमा छलफलसमेत गरेका थिए । समितिका सभापति थापाले पर्यटकीय स्थलका रूपमा विकास गर्न आवश्यक पर्ने बजेटको बारेमा सरकारलाई ध्यान केन्द्रित गराउने बताइन् ।


‘सरकारलाई गढीमाईको विकासका लागि सरोकार समिति लागि पर्नेछ,’ उनले भनिन् । समितिका सदस्य खिमलाल भट्टराईले आफू १० वर्ष अगाडि आउँदा र अहिले आउँदा विकासमा खासै परिवर्तन नभएको बताए ।


अनुगमन टोलीमा सांसद कोमल ओली, रमेश यादव, रामपृत पासवान, खेमराज नेपाली, राजकुमार राई, दिपा गुरुङ, इन्दु कडरिया, जिवन बुढा, प्रकाश पन्थ र समितिका सचिव सुदर्शन कुइँकेल लगायतको सहभागिता रहेको थियो । सरोकार समितिका सदस्यहरूलाई नगर प्रमुख यादवले गढीमाईको चिनो प्रदान गरेका थिए ।

प्रकाशित : मंसिर २६, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?