कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

विवाहपञ्चमी उत्सव : जनकपुर आउने तीर्थयात्रीको लस्कर

बस, जिपदेखि हिँडेरै जनकपुर पुग्ने तीर्थयात्रुको संख्या बाक्लै छ
रवीन्द्र उप्रेती

महोत्तरी — विवाहपञ्चमीका अवसरमा रामजानकी मन्दिर दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको भीड लागेको छ । भीडका कारण भिट्ठामोड र जलेश्वरदेखि नै मेला र उत्सवको रौनक छ ।

विवाहपञ्चमी उत्सव : जनकपुर आउने तीर्थयात्रीको लस्कर

यो पटक जन्तीमा सहभागी हुन भारत उत्तर प्रदेशका हिन्दुवादी मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउने भएकाले भारतीय दर्शनार्थीको चाप बढेको हो । तीर्थयात्रुको चाप थपिदै गएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडाइ गरेको जनाएको छ ।

भन्सार क्षेत्रमा आइतबारदेखि भारतीय सवारी र तीर्थयात्रीको बढ्दो चापले भिट्ठामोड–जनकपुर सडक खण्डमा पाइलो राख्ने ठाउँ छैन । बस, जिपदेखि हिँडेरै जनकपुर पुग्ने तीर्थयात्रुको संख्या बाक्लै छ । जनकपुरदेखि १८ किलोमिटर दक्षिण भन्सार क्षेत्रमा पर्ने मटिहानी, मलिवारा र जलेश्वरमा शनिबार साँझदेखि नै मेला र उत्सवझै रौनक छ ।

त्रेता युगमा राजर्षि जनकको प्रतिज्ञालाई मर्यादा पुरुषोत्तम रामले पूरा गरेपछि जनककी छोरी सीतासँग मार्ग शुक्ल पञ्चमी तिथिमा विवाह भएको जनविश्वास छ । यही विश्वास र संस्कृतिलाई निरन्तरता दिँदै साधु, सन्त, महन्थ, साहु महाजन तथा ब्राम्हण पुजारीसहित धर्मपरायण नरनारीको भव्य जन्ति जनकपुरस्थित जानकी मन्दिर गई वैवाहिक संस्कार सम्पन्न गर्ने परम्परा छ ।

त्रेता युगदेखि सुरु भएको विवाहपञ्चमीको अलौकिक अनुभूति गर्नका लागि देश विदेशबाट दर्शनार्थी जनकपुर आउने भएकाले बाटोमा पर्ने महोत्तरीका मलिवारा, मटिहानी र जलेश्वरमा भक्तजन नरनारीको भीड लागेको हो । बाजागाजा, भजनकीर्तन र हर्षवढाइँ साथ महोत्तरीको मलिवारा र मटिहानी नाकाबाट नेपाल प्रवेश गरेका जन्तीले शोभायात्राका रूपमा जनकपुर सहरको परिक्रमा गर्ने परम्परा छ ।

यसपटक विवाहपञ्चमीकै लागि पहिलोपटक भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आउने भएपछि जनकपुर झिलिमिली पारिएको छ । अयोध्याबाट आउने जन्तीलाई मन्दिर प्रशासन, धार्मिक संगठन, जनकपुरबासी एवं प्रदेश सरकारद्वारा मिथिला संस्कृतिअनुसार स्वागतको तयारी गरिएको छ । योपटक विवाह उत्सवमा सहभागी हुन महोत्तरीको मटिहानी र मलिवार नाकाबाट तीन हजार बढी साधु सन्त भित्रिएको सीमा कार्यालयले जनाएको छ ।

मलिवारस्थित मूल भन्सारको यात्रु तथा गेट शाखाका अनुसार मंगलवार (आज) अपरान्हसम्म तीर्थयात्री बोकेका ५ सय ४७ भारतीय सवारी (बस,जिप) नोपाल प्रवेश गरिसकेको छ । सीमा नाकामा थपिँदो सवारीका कारण यो संख्या रातिसम्म दोब्बर पुग्ने भन्सारकर्मीको अनुमान छ ।

जनकपुर जान भनी सोमबार साँझसम्म ३ सय ३५ भारतीय सवारी नेपाल प्रवेश गरेको शाखाले जनाएको छ । मटिहानी र समसीबाट समेत भारतीय तीर्थयात्री बोकेको सवारी नेपाल प्रवेश गरेका जनाइएको छ ।

विवाहपञ्चमीमा सहभागी हुन जनकपुर जाने सवारी मात्र छैनन्, पैदल तीर्थयात्रीको संख्या पनि उल्लेख्य देखिन्छ ।

मलिवारा नाकाबाट नेपाल प्रवेश गरेका भारत यूपीस्थित गोरखपुरका रामप्रकाश दाशको टोली मंगलबार पैदल जनकपुर जाँदै गरेको भेटिए । उनको टोलीमा ४ महिलासहित ११ जना छन् । हिँडेर माताको दर्शन गर्न जाँदा बढी पुण्यको भागी हुने उनीहरूको विश्वाश छ ।

रामप्रगास जस्ता पैदल जनकपुर जाने तीर्थयात्रीको लस्कर सडकभरि देखिन्छ । यो दिन विवाहका लागि साइत हेर्नु नपर्ने विश्वास छ । धार्मिक मान्यताअनुसार भगवान् राम मर्यादाका महापुरुष र जगत जननी सीता शक्तिकी देवी हुन् । दुवैको विवाहोत्सवलाई आस्थाको दृष्टिले पवित्र तिथिका रूपमा मानिँदै आएको छ । यही आस्थाका कारण यस दिन भगवान् रामजानकीलाई साक्षी राखी नयाँ जोडी लगन गाँठोमा बाँधिने गर्छन् ।

सुरक्षा कडाइ

जनकपुर जाने तीर्थयात्रीको बढ्दो भीडलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले महोत्तरीका सीमा इलाकामा सुरक्षा सतर्कता बढाएको जनाएको छ ।

प्रहरी उपरीक्षक ईश्वर कार्कीले तीर्थयात्री प्रवेश गर्ने सीमा नाका मलिवारा, मटिहानी र समसीमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरेको जनाए । तीर्थयात्रीको सुरक्षा र सहज आवागमनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरीले अतिरिक्त जनशक्ति परिचालन गरेको जनाएको छ ।

कार्कीका अनुसार भीडको फाइदा उढाई आपराधिक गिरोहको चलखेल हुने भएकाले ती स्थानमा सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ । तीर्थयात्री ठगिने, लुटिनेलगायत कुनै प्रकारको घटना हुन नदिन सवै प्रकारका सुरक्षा सतर्कता अपनाइको उनको दाबी छ ।

सीमा नाकामा रहेका सशस्त्र

प्रहरीको बोर्डर आउट पोस्ट, भन्सार सुरक्षा गुल्मले समेत नाकामा विशेष सुरक्षा र निगरानी बढाएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका एसपी विश्वेश्वर थापाले जनाए ।


जलेश्वर ट्राफिक प्रमुख मनोज न्यौपानेका अनुसार विवाहपञ्चमीका लागि सरपल्लो, रामगोपालपुरबाट समेत जनशक्ति झिकाएर अतिरिक्त ड्युटी खटाइएको छ ।


प्रकाशित : मंसिर २६, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?