१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नगरपालिका प्राङ्गणमा कुस्ती

लक्ष्मी साह

बारा — यहाँको एक नगरपालिका प्राङ्गणमै कुस्ती अभ्यास हुने गरेको छ । पहलवानहरू लड्ने (कुस्ती खेल्ने) स्थानीय भाषामा अखाँड भनिन्छ । नगरपालिकाले कुस्ती सिकाउनका लागि अखाँड (नरम माटोको गोलाकार क्षेत्र) नै बनाएको छ, जहाँ दिनहुँ कुस्ती सिकाइसँगै कुस्तीको प्रदर्शन गरिन्छ । 

नगरपालिका प्राङ्गणमा कुस्ती

चलनचल्तीको लोकप्रिय क्रिकेट, फुटबललगायत अन्य खेल संरक्षण र प्रबद्र्धनको लागि थुप्रैले लगानी गरिरहेको पाइन्छ ।


स्थानीय तहदेखि संघीय सरकारको समेत यसप्रति चासो देखिन्छ तर हराउँदो पौराणविक कुस्ती खेललाई जोगाउन कसैले चासो नदिँदा यहाँको महागढीमाई नगरपालिकाले कार्यालयको प्राङ्गणमै कुस्ती सिकाउन थालेको छ । कुस्ती संरक्षणको लागि बजेट नै छुट्याएर ४ जना अन्तर्राष्ट्रिय र राष्ट्रिय कुस्ती खेलाडीलाई प्रशिक्षक राखी कुस्ती अभ्यासशाला नै बनाएर कुस्ती सिकाउन सुरु गरेको हो ।


कोरिया, बंगलादेश, पाकिस्तान र भारतजस्ता मुलुकमा भएको कुस्ती प्रतियोगितामा भाग लिइ सकेका कुस्ती प्रशिक्षक सत्येन्द्र यादवले विद्यार्थीको पाठशालाझैं कुस्तीको खेलाडीको लागि अखाँडा बनाइदिएर कुस्ती अभ्यासशाला सुरु गरेको प्रति खुसी व्यक्त गरे ।


उनी अन्तर्राष्ट्रियस्तरका खेलाडी हुन् । यस्तै चार प्रशिक्षकमध्ये अर्का कुस्ती खेलाडी प्रशिक्षक किशोरी राय यादवले नगरपालिकाले कुस्तीको विकासका लागि सोच बनाएर हाम्रो मनोबल बढाएको बताए ।


नगरपालिकाले आफ्नै कार्यालय हाताभित्र अखाँडा (माटाको मैदान) बनाएर कुस्ती प्रशिक्षण दिन थालेको हो । प्रशिक्षक कुस्ती खेलाडीको खाना र आवाससहितको व्यवस्था गरेर विगत तीन महिनादेखि स्थानीय इच्छुक युवालाई कुस्ती सिकाउँदै आएको छ । कुस्ती सिक्नेहरूका लागि नगरपालिकाले प्रत्येक दिन दूध, अन्डा, फलफूल दिँदै आएको छ ।


नगरपालिकाभित्र प्रवेश गर्नेबित्तिकै कुस्तीका जोडीहरू भिडिरहेको देखिन्छ । उनीहरू साँच्चिकै हारजितका लागि कुस्ती प्रतियोगिता खेल्दैनन्, सेवाग्रही र आगन्तुकका लागि कहिलेकाहीं मनोरञ्जन दिलाउन लँगौटी कसेर एकापसमा समेत भिड्छन् ।


‘प्राचीनकालीन कुस्ती खेल लोप हुने अवस्थामा छ । न राज्यले संरक्षण गर्न सकेको छ, न त खेलाडीको मनोबल उच्च राख्न कुनै क्रियाकलाप गरेको देखिन्छ, त्यसैले आफूले नगरबाट चालु वर्षमा ६ लाख बजेट छुट्याएर कुस्ती सिकाउन थालेका छौं,’ नगर प्रमुख उपेन्द्रप्रसाद यादवले भने, ‘यसबाट कुस्तीको संरक्षण पनि हुन्छ र खेलाडीको आत्मबल बढ्नुसँगै सम्मानसमेत मिल्छ ।’


आवश्यक्ताअनुसार नगरपालिकाभित्र बजेट थपेर खेलमैत्री वातावरणको विकास गर्ने उनले बताए । कुस्ती लोप न होस् र यसप्रति युवाको आकर्षण रहिरहोस् भन्ने उद्देश्यसहित प्रशिक्षकको खाना र आवाससहित नगरको आफ्नै प्राङ्गणभित्र कुस्ती सिकाउने गरिएको उनले बताए ।


‘कुस्ती प्रशिक्षण केन्द्र स्थापित गरेर राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा कुस्तीको पहिचान दिलाउने र कुस्ती खेलाडी उत्पादन गर्ने योजना छ,’ नगर प्रमुख यादवले भने, ‘नगरपालिमा आउने जोकोही आगन्तुकलाई अनिवार्य रूपमा चियापानी खुवाएर कुस्ती खेलले मनोरञ्जन दिलाउँछौं ।’


कुस्ती प्रशिक्षण केन्द्रको उद्घाटन उनले प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई बोलाएर उद्घाटन गराए । ‘यस कुस्तीले मधेसको संस्कृतिको संरक्षण गर्छ र राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग मिल्छ,’ उनले भने ।

प्रकाशित : मंसिर २७, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?