ईस्टु प्रचारको नयाँ शैली

पवन यादव

सिमरा — कलैयाका एक खाजा पसलेले आफ्नो पसलमा बनाएको परिकारको प्रचार अरुभन्दा फरक शैलीमा गरेका छन् । हतपत्ती उनको प्रचार शैलीलाई कसैले ठम्याउन सक्दैन्न ।

ईस्टु प्रचारको नयाँ शैली

सेकुवाको लागि प्रसिद्ध कलैया पछिलो समय ‘ईस्टु’ परिकारका लागि प्रसिद्ध बन्दै छ । ‘इस्टु’ मासुको परिकारलाई फरक शैलीमा कलैया उपमहानगरपालिका १ भरत चोकमा संचालनमा रहेको राजेश होटलले प्रचार गर्न थालेको हो ।


होटलका संचालक राजेश शर्मा (तिवारी) ले ‘ईस्टु’ परिकारको प्रचार गर्न ५ दिनदेखि उम्रेको प्याजलाई कुकरको सिट्टीमा झुन्डयाई दिने गरेका छन् । त्यसको संकेत ग्राहकले सजिलै बुझून् । आज प्याजको परिकार बनेको छ भनेर । उनले जुन दिन जे कुक्करमा झुन्डयाउँछन्, त्यो दिन त्यसैको ‘ईस्टु’ परिकार बनाएको बुझिन्छ । उनले खिरा, गाँजर, गोलभेडा, मुलाको ‘ईस्टु’ बनाउने गरेको बताए ।


यसरी प्रचार गर्दा ग्राहक बढेको उनले जानकारी दिए । ‘कुखुराको ईस्टु र सेकुवा बनाउँछु,’ उनले भने, ‘तीमध्ये मैले पकाएको ईस्टुलाई सबैले मन पराउँछन् ।’ पकाएको परिकारबारे ग्राहकलाई सजिलै जानकारी होस् भनेर एक महिनादेखि यो प्रचार शैलीलाई अपनाएको उनले जानकारी दिए । कुखुराको १ सयभन्दा बढी परिकार बनाउने गरेको दाबी उनले गरे ।


उनको पसलमा पहिला ३ देखि ४ किलो ‘ईस्टु’ परिकार फरक टेस्टका कारण खप्दै आएको थियो । नयाँ प्रचार शैलीलाई अपनाएपछि अहिले दैनिक ५ देखि ६ किलो ईस्टु परिकार खपत हुने गरेको उनले जानकारी दिए । यो प्रचार शैलीले व्यपार राम्रो भएको उनले बताए ।


नयाँ ग्राहकले उनको पसल अगाडि राखिएको कुकरको सिट्टीमा झुन्डयाइएको प्याज हेरेर किन झुन्डयाएको भनी सोध्न आउँछन् । त्यसको कारणबारे उनले प्रस्टयाएपछि अधिकांशले ईस्टुको परिकार चाख्ने गरेको बताए । वीरगन्ज महानगरपालिका १५ लक्ष्मणवाका लोक दर्शन झा पनि उनको प्रचार शैलीबाटै प्रभावित भएर खाजा खान पसल छिरेको बताउँछन् ।


‘प्याज र गाजरको ईस्टु मलाई धेरै मन पर्छ,’ उनले भने, ‘सबैतिर ईस्टु पाइन्छ । तर यहाँको स्वाद अरु ठाउँमा चख्न पाइँदैन ।’ यहाँको स्वादिष्ट ईस्टु चाख्न आफू बीरगंजबाट साताको एक दिन प्रत्येक शनिवार आउने गरेको उनले बताए ।


कहिले एक्लै त कहिले साथीहरूको समूहमा आउने गरेको उनले जनाए । पहिला कलैयाको सेकुवा खान यहाँ आउने गथ्र्यौं । अहिले ईस्टु खान आउने गरेको उनले बताए । यहाको ईस्टु स्वादकै कारण अहिले प्रसिद्ध बन्दै गएको उनले आफ्नो अनुभव सुनाए ।


ईस्टुको पारखीहरूको जमघट हुने यो पसल बिस्तारै थलो बन्दै गएको स्थानीय श्यामप्रसाद साहले बताए । ‘यहाँको जस्तो मासुको परिकार कहीं चाख्न पाइँदैन,’ उनले दाबी गर्दै भने, ‘पसल संचालक राजेशको हातमा जादु नै छ ।’ उनले बनाएको मासुको जुनसुकै परिकार धेरै स्वादिलो रहने गरेको उनले जानकारी दिए ।


४ वर्षदेखि निरन्तर कलैयामा खाजा, खाना पसल संचालन गर्दै आएको राजेशको पसलमा एक पटक जोकोही छिर्छ । दोहोर्‍याएर अरु पसलमा खाजा खान छिर्दैन । आफू पनि उनले पकाएको ईस्टुको फ्यान हुँ । स्टाफको कमीले मात्र उनको व्यवसाय कमजोर भएको उनले जानकारी दिए ।


परिकार र स्वादको मामलामा उनलाई टक्कर दिने अहिलेसम्म कलैयामा कोही व्यवसायी देखा पर्न नसकेको उनले जानकारी दिए । कलैयामा सेकुवा, ईस्टु, तास, रोस्टलगायत परिकार खुवाउने दुई दर्जन बढी खाजा पसल संचालित छन् ।

प्रकाशित : मंसिर २७, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?