कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विमानस्थल बनाउन प्रतिवेदन

बारा — संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिअन्तर्गतको संसदीय उपसमितिले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बारामै बनाउनुपर्ने भन्दै अन्तिम प्रतिवेदन तयारीमा जुटेको छ ।

विमानस्थल निर्माणबारे अध्ययन गर्न गठित उपसमितिले बाराको टाँगियाबस्ती विमानस्थल क्षेत्र अनुगमन गरेपछि बारामै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने निष्कर्षमा पुगेको उपसमितिले जनाएको छ ।


सरकारले विमानस्थल क्षेत्रको तारबार गरेर चार किल्लाको सिमांकन गरिसकेको छ । विमानस्थल क्षेत्रको पूर्व र पश्चिममा पर्ने क्रमश: बकैया र पसाहा खोलामा बाँध बनाइसकेको छ । त्यस क्षेत्रमा २४ लाख रुख काट्ने विषय चर्चामा आएपछि अन्योल बढेको थियो । त्यसपछि सरकार र संसदबाट विभिन्न समिति बनाएर त्यसको अध्ययन थालेको छ ।


पछिल्लो समय संसदको उपसमितिले विमानस्थलको स्थलगत अनुगमन गरेको छ । टाँगियाबस्ती, पसाहा खोला, बकैया खोला, निजगढ, सपही, कोल्हवी, सिमराजितपुरलगायत राष्ट्रिय जंगलको स्थलगत अनुगमन गरेपछि कम क्षतिमा बारामै विमानस्थल बनाउनुपर्ने पक्कापक्की भइसकेको उपसमितिका एक जना सदस्यले बताए ।


‘कम क्षतिमा बारामै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अन्तिम प्रतिवेदन तयारी भइरहेको छ,’ उपसमिति स्रोतले भन्यो, ‘सरकार, संसदीय समिति र संसदले उपसमितिकै प्रतिवेदनका आधारमा काम अगाडि बढाउँछ । विमानस्थल छिटो बनाउन अन्तिम प्रतिवेदन तयारी इरहेको छ । थुप्रै ठाउँको अवलोकनपछि बारा नै उपयुक्त देखिएको छ ।’


उपसमितिका संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितको टोलीले विमानस्थल क्षेत्रको स्थलगत निरीक्षण गरेपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बारामै बनाउने निष्कर्षमा पुगेको विमानस्थल आयोजना प्रमुख ओम शर्माले बताए ।


‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने हो भने बाराको विकल्प छैन्,’ शर्माले भने, ‘बाराबाहेक उपयुक्त कतै छैन । कम क्षतिमा यहीं उपयुक्त भएकाले समितिले साझा धारणा बनाइसकेको छ ।’


उपसमितिका सदस्यहरू दीपक प्रकाश भट्ट, दिव्यमणिराज भण्डारी र शेख चाँद तारासम्मलित टोलीले स्थलगत अनुगमन गरेका हुन् । बारा र रौतहटका सांसद, जिल्लाका स्थानीय तहका प्रमुख उपप्रमुखलगायत स्थानीय सरोकारवालाको साथमा उपसमितिले आयोजनास्थल अनुगमन गरेका हुन् ।


केही समय अघि उपसमितिले विमानस्थललाई हवाई अनुगमन गरेको थियो । उपसमितिलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख ओम शर्माले विमानस्थलबारे ‘ब्रिफिङ’ गरेपछि उपसमितिले आयोजना स्थलमा पुगेर स्थानीय सरोकारवालासित अन्तक्र्रियासहित विमानस्थलको चार किल्ला अनुगमन र विमानस्थलभित्र पर्ने १६ सय घरधुरीको टाँगियाबस्तीलाई सार्न सकिने सम्भावित स्थलको अनुगमन गरेको थियो ।

प्रकाशित : मंसिर २७, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?