दलितको शौचालय बनाउने सपना

वडा कार्यालयले लक्षित वर्गलाई छुट्याएको बजेटबाट प्रतिपरिवार ५ हजार बराबरको नि:शुल्क शौचालय सामग्री वितरण
रवीन्द्र उप्रेती

महोत्तरी — जलेश्वर–२ की दलित महिला रिंकुदेवी पासवानले लामो समयपछि सपना पूरा हुने भएको छ । त्यो सपना मात्र नभएर उनको परिवारको आधारभूत आवश्यकता हो ।

‘मैले साँचेको सपना हो, घरमा एउटा शौचालय होस्,’ उनले बताइन्, ‘श्रीमानले ठेला चलाएर कमाएको पैसाले ६ जनाको परिवार पाल्नु परेकाले शौचालय बनाउन सकेको थिएन ।’


बिहीबार वडा नं २ वडा कार्यालयले लक्षित वर्गलाई छुट्याएको बजेटबाट प्रतिपरिवार ५ हजार बराबरको नि:शुल्क शौचालय सामग्री वितरण गरेपछि रिङु जस्ता वडाका एक सय दलित एवं विपन्न परिवारको शौचालय बनाउने सपना पूरा हुने भएको छ ।


वडाध्यक्ष वरुण दाहालका अनुसार यो वर्ष नगरसभाले उनको वडाका लागि ५० लाख बजेट विनियोजन गरेको थियो । त्यसमध्ये लक्षित वर्गका लागि छुट्याएको १० प्रतिशत रकम अर्थात् ५ लाख बराबरको शौचालय सामग्री वितरण गरेको हो ।


दाहालले बिहीबार अपरान्ह वडाकी ७० वर्षीया लक्ष्मिनिय देवीलाई शौचालय सामग्री हस्तान्तरण गरी नि:शुल्क वितरणको सुरुवात गरे । उनले वितरण गरेका सामग्रीमा ३ सय थान रिङ र सय थान सिट रहेको छ । नि:शुल्क समग्री पाउने सवै बनिबुतो गर्ने र रिक्सा ठेला चलाउने परिवारका छन् । ‘निर्माण सामग्री पाएपछि १५ दिनभित्र शौचालय निर्माण गर्छौं,’ शौचालय सामग्री पाएपछि अर्की महिला प्रतिमा देवीले भनिन् । घरमा शौचालय नहुँदा सवैभन्दा दु:ख र पीडा महिलालाई नै हुने उनले बताइन् ।


केही समययता नगरलाई शौचालय मुक्त बनाउन स्वयंसेवकले खुला ठाउँमा दिसापिसाव गर्न बसेकै ठाउमा पुगेर सिटी फुक्ने, टर्च बालिदिने र हप्की दप्की गर्दै लोटा बोतल खोस्ने फालिदिने गरेका छन् । गाउँलाई खुला दिसामुक्त बनाउन शौचालय निर्माण गर्न आवश्यकता महसुस गराएको महिला वडा सदस्य तारादेवी साहले बताइन् ।


तर यहाँका अधिकांस जनप्रतिनिधिकै घरमा शौचालय छैन । ‘खानेपानी तथा सरसफाइ कार्यालयका इन्जिनियर सुरेन्द्र शर्माकाले जिल्ला सदरमुकाम रहेको जलेश्वर समेत खुला दिसामुक्त हुन नसकेको बताए । जलेश्वर नगरपालिकामा करिब २ हजार परिवार (१७ प्रतिशत) घरपरिवार शौचालयविहीन छन् ।


जलेश्वर नगरपालिकामा १२ हजार परिवार बसोबास गर्छन् । गरिबी, अशिक्षा र जमिन अभावले शौचालय बनाउन नसकिएको वडाध्यक्ष दाहालले बताए । सरकारी निकायवाट आर्थिक सहयोग प्राप्त गर्न सके सवैको घरमा शौचालय बन्ने र खुला दिसामुक्त बनाउन सकिने उनीहरूले बताए ।


‘नारा दिएर मत्रै चर्पि बन्दैन,’ वडाध्यक्ष दहालले भने । वडा नं–२ मा एक हजार परिवारमध्ये १ सय ९६ परिवार शौचालयविहीन छन् ।

प्रकाशित : मंसिर २८, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?