ग्रामीण भेगमा सहकारी

शंकर आचार्य

पर्सा — ११ वर्षअघि ४ हजार रुपैयाँबाट कारोबार सुरु गरिएको सृजना मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले हाल वार्षिक २ करोड बढीको कारोबार गरेको छ ।

ग्रामीण भेगमा सहकारी

लामो समय बैंक तथा वित्तीय संस्थाविहीन रहेको ठोरी बजारमा यो सहकारीले स्थानीयलाई बचत तथा ऋण दुबैमा निकटको सहयोगीको भूमिका खेल्दै आएको छ ।


२०६४ फागुन १० गतेदेखि कारोबार सुरु गरेको यो सहकारीका संस्थापक सदस्यले त्यति बेला जनही एक/एक सय मासिक बचत तथा २५/२५ रुपैयाँ प्रवेश शुल्क तिरेका थिए । हाल सेयर सदस्य ४ सय ५२ पुगिसकेको सहकारीका व्यवस्थापक जगेन्द्र पौडेलले बताए । सहकारीमा हाल बचत निक्षेप ७४ लाख रहेको छ । यो सहकारीले १ करोड ३० लाख आफ्ना सदस्यहरूमा लगानी गरेको छ । सदस्यको सेयर रकम १८ लाख रहेको छ ।


ठोरी गाउँपालिका १ को चौतारादेखि वडा नं ३ को शिकारीबाससम्मका ठूलो क्षेत्रका स्थानीय यो सहकारीमा आबद्ध भएका छन् । सहकारीले आफ्ना सदस्यलाई बिनाधितो तथा २ जना सदस्यको ग्यारेन्टीमा ५ हजारदेखि १ लाखसम्म कर्जा दिँदै आएको छ । आयआर्जन, कृषि, वैदेशिक रोजगारी, बायोग्यास लगायतमा सहकारीले लगानी गरेका छन् ।


सहकारीले आम्दानीबाट वर्षेनी केही रकम सामाजिक तथा गाउँपालिकाको विकास निर्माणको क्षेत्रमा समेत लगानी गर्ने गरेको छ । स्थानीय सामुदायिक वनसंग समन्वय गरेर वन्यजन्तुको मानव बस्ती प्रवेश रोक्न वन क्षेत्र बाहिर तारबार, स्थानीयको गोठ सुधार कार्यक्रम, पुराना गाई हटाएर उन्नत गाई पालन गर्नका तालिम समेत दिँदै आएको छ । यस बाहेक दुई दर्जन सहकारी सदस्यको घरमा बायोग्यास प्लान्ट जडान गर्न सहकारीले घुम्ती कोषमार्फत २५/२५ हजार ऋण लगानी समेत गरेको छ ।


यो सहकारीलाई डब्लूडब्लूएफको ताल कार्यक्रमले पनि सघाएको छ । तालका सामुदायिक संरक्षण सहजकर्ता वेदहरी दाहालले चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्सा जिल्लाको एक मात्र उपभोक्ता समितिले पछिल्लो केही वर्षयता विभिन्न क्षेत्रमा गरेको लगानी तथा अन्य प्रयासबाट स्थानीयको वन तथा वनपैदावार माथिको निर्भरता स्वात्तै घटाएको बताए ।


ताल कार्यक्रमले सहकारीलाई कम्प्युटर, वाइफाइ, सफ्टवेयर, सहकारी शिक्षा तालिम आदिको व्यवस्था समय समयमा गर्दै आएको उनले बताए ।

प्रकाशित : मंसिर २८, २०७५ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?