कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आश्रममा शिशुको जन्म

आश्रमका स्वयंसेवी/ अभियन्ताहरू शिशु र सुत्केरीको स्याहारमा लागेका छन् । 
शंकर आचार्य

पर्सा — मानव सेवा आश्रम वीरगन्जमा आश्रित मनोरोगी महिलाले बिहीबार आश्रम एक शिशुलाई जन्म दिएकी छन् । करिब ३० वर्षीया ‘सबिता मानव’ ले बिहान सवा ८ बजे छोरा जन्माएकी हुन् ।

आश्रमकी स्वयंसेवी नर्स उषा घिमिरेको नेतृत्वमा नर्स संगम कुमारी द्विवेदी सहितको टोलीले सुत्केरी र शिशुको उपचार गरेका थिए ।


नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत नर्स घिमिरेले आफू त्यहाँ पुग्दा महिलाले शिशुलाई जन्म दिइसकेको बताइन् । ‘हामीलाई आश्रमबाट कल आए लगत्तै हामी आश्रममा पुग्यौं, आश्रम पुग्दा उहाँले शिशुलाई जन्म दिइसक्नुभएको थियो,’ उनले भनिन्, ‘सुत्केरी र नवजात शिशुको समेत उपचार र स्याहार गर्ने काम गर्‍यौं ।’


अहिले आमा र शिशु दुबैको स्वास्थ्य राम्रो रहेको तर शिशुको तौल कम रहेको उनले बताइन् । शिशु करिब १ किलो ४५ ग्रामको छ । आमाले शिशुलाई दूध नचुसाएकाले शिशुलाई ल्याक्टोजिन दिइएको छ । सुत्केरी सबितालाई दाल, भात, दूध,पाउरोटी लगायत प्रोटिनयुक्त खाना दिइएको छ । यसबाहेक पीडा कम गर्ने पेनकिलर र रक्तस्राव रोक्ने औषधि दिइएको छ ।


आश्रमका अभियन्ता ऋषभ अग्रवालले सबितालाई आफू गर्भवती रहेको र बिहीबार एक शिशुलाई जन्म दिएको भन्ने कुराको समेत चेत नरहेको बताए । ‘प्रहरीले ५ महिनाअघि सबितालाई आश्रमको जिम्मा लगायो, त्यति बेला उहाँको गर्भमा ४ महिनाको शिशु रहेछ,’ उनले भने, ‘आश्रममा आएपछि हालसम्म उहाँले एक शब्द बोल्नु पनि भएको छैन, कहिले काही एकहोरो चिच्याउनु हुन्छ, न त उहाँलाई आज सुत्केरी व्यथा लागेको हामीले थाहा नैं पायौं, सुत्केरी व्यथा समेत अनुभव नगरेकी उहाँको आँखाबाट आँसु मात्र बगेको थियो ।’


आश्रममा नया सदस्यको रूपमा एक शिशु थपिएपछि आश्रमका स्वयम्सेवीहरू खुसी छन् । आश्रमका स्वयम्सेवी/अभियन्ताहरू शिशु र सुत्केरीको स्याहारमा लागेका छन् ।


सामाजिक अभियन्ता प्रकाश थारू आश्रमकै इतिहासमा पहिलो पटक यसरी आश्रित महिलाले शिशुलाई जन्म दिएको बताए । ‘शिशुको नामाकरण गरिएको छैन,’ उनले भने, ‘तर यो शिशु मानवताको एउटा उदाहरण हो, गर्भमा आइसकेको मानवले पनि बाँच्न र सुरक्षित रूपमा जन्मन पाउनु पर्छ भन्ने सन्देश दिएको छ यो शिशुले, मनोरोगी बेवारिशे महिलाले अचेत अवस्थामा जन्माएको शिशुलाई अब हामी असल संस्कार, शिक्षादिक्षा दिने प्रयास गर्ने छौं, ऊ असल नागरिक बनोस्, जुनसुकै पेसा अँगाले पनि मानव सेवा गर्न सधैं तत्पर रहोस् ।’


सबितालाई ५ महिनाअघि वीरगन्जस्थित नेपाल–भारत सीमा भन्सार नजिक बेवारिेसे अवस्थामा फेला पारेर प्रहरीले आश्रमको जिम्मा लगाएको थियो । आश्रममा स्वास्थ्य परीक्षण गर्दा ती महिलाको ४ महिनाको गर्भ रहेको यकिन भएको थियो । ती महिलाको बास्तविक, नाम,थर, आफन्तबारे हालसम्म न त प्रहरीलाई थाहा छ, न त आश्रमका अभियन्ताहरूलाई नै थाहा छ । सीमामा भेटिएकाले उनी भारतीय नागरिक हुन सक्ने बलियो सम्भावना भने छ । उनी तराई मूलकी जस्ती देखिन्छिन् ।


आश्रम व्यवस्थापनले उनको नामकरण गरिदियो ‘सबिता मानव’ । सबितालाई सधैं चिकित्सकको सल्लाह अनुसारको औषधि दिइँदै आएको छ । २०७४ जेठदेखि वीरगन्जमा सेवा प्रारम्भ गरेको मानव सेवा आश्रमले हाल ३१ मनोरोगीहरूलाई आश्रय दिएको छ । तीमध्ये १८ महिला छन् । सबै सडकमा बेवारिसे अवस्था फेला परेका मनोरोगी हुन् ।


यसअघि कतिपय मनोरोगीको उपचार गरी पारिवारिक पुनर्मिलन गराइएको छ भने केही वृद्ध मनोरोगीले आश्रममा मृत्यु भएको छ । प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको तथा आश्रमका अभियन्ताहरूलाई व्यक्तिगत रूपमा आएको सूचनाका आधारमा पनि बेवारिसे मनोरोगीहरूको सडकबाट उद्धार गरेर आश्रममा आश्रय दिने गरिएको छ । चन्दा र सहयोगबाटै हालसम्म आश्रम सञ्चालित छ ।

प्रकाशित : मंसिर २८, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?