३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

नहर कब्जा गरी बनाइएका घर हटाइने

‘स्थानीयले जथाभावी कब्जा गरी घर बनाएपछि मर्मत समेत गर्न सकेका छैनौं, हटाउन सूचना जारी गरेका छौं’
शिव पुरी

रौतहट — चन्द्रपुर ५ स्थित पूर्वपश्चिम मूल नहर क्षेत्र कब्जा गरी स्थानीयले बनाएको घर, टहरा हटाउन बागमती सिँचाइ आयोजनाले सूचना जारी गरेको छ ।

नहर कब्जा गरी बनाइएका घर हटाइने

लामो समयदेखि नहरको दुबै क्षेत्रमा बाहिरबाट आएकाहरू कब्जा जमाई बसेका हुन् । उनीहरूले त्यही ठूला घर समेत बनाएका छन् । त्यही बाटोमा पराल राख्ने,पशु बाँध्ने र धारा गाडेका छन् ।


आयोजनाअन्तर्गतको पूर्वी तथा पश्चिमी मूल नहर, शाखा, प्रशाखा र टसैरी नहरहरूको रेखांकन, जग्गाभित्र बनाइएका स्थायी, अस्थायी घर, टहरा तथा अन्य संरचनाहरू हटाउन सिँचाइ आयोजनाले सूचना जारी गरेको हो । कब्जा गरिएका घरहरू हटाई नहरलाई व्यवस्थित गर्न लागिएको आयोजनाका डिई भक्तकुमार लालले बताए ।


अव्यवस्थित बसोबासले नहर जीर्ण बन्दै गएको छ । ‘स्थानीयले जथाभावी कब्जा गरी घर बनाएपछि मर्मत समेत गर्न सकेका छैनौं,’ उनले भने, ‘हटाउन सूचना जारी गरेका छांै । यसमा सबैको सहयोग चाहिन्छ ।’ पूर्व क्षेत्रको चाँदि पुलदेखि पश्चिमको झन्डै २ किमि नहर क्षेत्रमा स्थानीयले कब्जा गरी लामो समयदेखि घर टहरा बनाएका छन् ।


यस क्षेत्रमा झन्डै २ सय वटा घर, टहरा निर्माण गरिएको छ । कहाँबाट आएर बसेको भन्ने स्थानीयलाई जानकारी छैन । सुरुमा उनीहरू सुकुम्बासी भनेर समान्य झुपडी बनाई बसे । अहिले ठूला काठका घरहरू बनाएका छन् । त्यही साना पसल समेत थापेका छन् । नहरको तल्लो भागमा खेती गरेका छन् । गोडमेल गरी तरकारी लगाएका छन् । यसले नहर सफा गर्न समस्या भएको आयोजनाले जनायो ।


घर हटाउन आयोजनाले समय सीमा तोकेको छैन । दुई/तिन महिनाभित्रमा हटाउनुपर्ने जनायो ।

उनीहरूको आर्थिक अवस्थाको पहिचान भएको छैन । आयोजनाले रौतहटको दक्षिणी भेगका किसानलाई सिँचाइ सुविधा पुर्‍याउनका लागि नहर निर्माण गरेको हो । नगरपालीको यसरी उनीहरूलाई हटाउन पहल गरेको छैन । आयोजनाले नगरपालिकाको सहयोगको अपेक्षा राखेको छ ।


स्थानीय जनप्रतिनिधिको सहयोगबिना सम्भव नभएको डिई लालले बताए । आयोजनाले नहरको अवस्था तथा निरीक्षणका लागि बनाइएको सडक समेत अतिक्रमणको चपेटामा परेको छ । कब्जाका कारण ठाउँठाउँमा नहर भत्किएको छ । नहर सफा गर्दा भित्रबाट निस्कने माटो डिलमा थुपार्नुपर्छ । तर डिलमै घर बनाइएकाले मर्मतमा समस्या हुने आयोजनाले जनायो ।


यहाँ विभिन्न जातका मानिसको बसोबास छ । विगत ५/६ वर्षयता नहरमा घर बनाउने क्रम तीव्र भएको हो । यसलाई रोक्ने कसैले प्रयास गरेको छैन । वडा अध्यक्ष सन्जय काफ्लेले बागमती सिँचाइ आयोजनाले नहरको बस्ती हटाउन कुनै चासो नदेखाएको आरोप लगाए । ‘अतिक्रमण हटाउन आयोजनाले चासो देखाएको छैन,’ उनले भने, ‘सम्बन्धित निकाय मौन बसेपछि अरूले कसरी हटाउन सक्छ ? यसमा आयोजना चुकेको छ ।’


आयोजनाले तत्काल बस्ती हटाउन नसके आगामी दिनमा ठूलै समस्या हुने वडा अध्यक्ष काफ्लेको भनाइ छ । सरकारी जमिन ओगटेर घर बनाउने कार्य तत्काल रोक्नुपर्नेमा आयोजनाले वास्ता नगरेको स्थानियको आरोप छ । व्यवस्थित सिँचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादनमा बृद्धि ल्याउने उद्देश्यले राष्ट्रिय प्राथमिकता प्राप्त बृहत् बागमती सिँचाइ आयोजना हो ।


यसले निर्माण गरेको नहर अतिक्रमणको चपेटामा पर्दै गएको छ । अतिक्रमण र बाढीले नहरको कैयौं भागमा क्षति पुगेको आयोजनाले जनायो । स्थानीय राजकुमार महतोले सुकुम्बासी भएको नाताले अन्य स्थानमा बस्ने जमिन नभएकाले नहरको डिल कब्जा गर्नुु परेको बताए । ‘आफ्नो एक धुर निजी जमिन छैन । कहाँ गएर बस्नु,’ उनले भने, ‘बाध्य भई नहरको डिलमा बस्नु परेको हो ।’ उनी विगत ५ वर्षदेखि यही बस्दै आएका छन् ।


सडकको हालत उस्तै

पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर र गौर चन्द्रनिगाहपुर खण्डमा अतिक्रमण बढदो छ । सडकले तोकेको रेखांकनभित्र अतिक्रमण गरेर पसल र विभिन्न समान राख्ने गरेका छन् । सडक डिभिजनले हटाउन पहल नगरेको भन्दै स्थानीयले आक्रोस पोखेको छ ।


जनतासित जेसीस कार्यक्रममा सडकले अतिक्रमण हटाउन नसकेको भन्दै तीव्र आलोचना भएको थियो । डिभिजन सडकले नगरपालिकाले अतिक्रमण हटाउन सहयोग गर्नुपर्ने बताउँदै आएको छ । सडकका इन्जिनियर रामेश्वर साहले अतिक्रमण हटाउन खोज्दा सडकको बीच भाग नापचाज गर्ने काममा स्थानीय बाधक बनेको आरोप लगाए ।


‘वास्तविक बीच प्वाइन्टमै स्थानीयले विरोध जनाए,’ उनले भने, ‘त्यसपछि अतिक्रमण हटाउने काममा बाधा पुग्यो र बीचैमा छाड्नुपर्‍यो ।’ वनक्षेत्र, सरकारी जमिन, नहरमा सुकुम्बासीको नाममा अतिक्रमण हुने गरेको हो ।


नेपालभर रहेका भूमिहीन र अव्यवस्थित बस्तीहरूलाई व्यवस्थित ढंगबाट बसोबास गराई सरकारी, सार्वजनिक, गुठी र वन क्षेत्रको जग्गामा भइरहेको अतिक्रमणलाई रोक्ने उद्देश्यले सरकारले २०७३ सालमा व्यवस्थित बसोबास आयोग गठन गरेको थियो ।

प्रकाशित : मंसिर २८, २०७५ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?