२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सकियो विवाह महोत्सव, भोजसँगै जन्तीको बिदाइ

श्यामसुन्दर शशि

जनकपुर — हजारौं धर्मावलम्बीको सहभागिता रहेको राम–जानकी विवाह महोत्सव बिहीबार रामकलेवा (भोज खुवाएर बिदाइ) पछि सम्पन्न भएको छ ।

सकियो विवाह महोत्सव, भोजसँगै जन्तीको बिदाइ

ठूलो संख्यामा साधु–सन्त र सर्वसाधारण जानकी मन्दिरमा सामूहिक भोज खाएर विवाह महोत्सवलाई यसपाली बिदाइ गरेका हुन् ।


बुधबार अवेर राति विवाह बन्धनमा बाँधिएका राम, लक्षण, भरत, शत्रुघ्नसँगै अयोध्याबाट जन्तीका रूपमा सहभागी साधु–सन्तलाई भोजन र दक्षिणा दिएर जानकी मन्दिरले बिदाइ गरेको हो ।


मिथिलाको बैवाहिक विधिअनुसार जन्तीलाई बिदा गर्नुअघि पूर्व मर्यादा भोज खुवाउने चलन छ । जानकी मन्दिर यस भोजलाई रामकलेवा नाम दिएको छ । बेहुलासहित जन्तीहरू खाना खान बस्ने बेलादेखि खाना खाउञ्जेलसम्म गालीमिश्रित गीत गाएर स्वागत गर्ने चलन छ ।


जानकी मन्दिर प्राङगणमा आयोजित रामकलेवामा अयोध्याबाट आएका जन्तीसँगै नगरका अन्य साधु, सन्त पनि सहभागी थिए । अन्य दिनको कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवको सक्रियता देखिएको भए पनि रामकलेवामा भने जानकी मन्दिरका महन्त रामतपेश्वर दास तथा मठिहानी मठका मानमहन्त जगन्नाथ दास वैष्णव पनि सहभागी थिए । रामजानकी विवाहका लागी निर्माण गरिएको भव्य मञ्चमा बेहुलासँगै वरिष्ठ साधुसन्त लहरै बसेका थिए । तल अन्य साधु–सन्तहरू लहरै बसेर भोजन गरेका थिए ।


‘हे, रामजी अएलनि पहुनमा हो,

सिया राम सियारामजी ।

रसगुला गुलजामुनके खम्बा बनाओ । इमरतिके जंगला लगायो जी ।

सियाराम सियारामजी ।।’


रामकलेवाका लागि तयार गरिएका परिकारको वर्णन गर्दै गायक महेन्द्र दास मीठो भाकामा गीत गाउँदा जन्ती मुस्कुराइरहे ।


जानकी मन्दिरका महन्त दासका अनुसार रामकलेवापछि जन्तीहरूलाई दान–दक्षिणा (विदाइ) दिएर गरिएको छ । गत शुक्रबार जनकपुर नगर दर्शनसँगै सुरु भएको रामजानकी विवाह महोत्सवको दोस्रो दिन फूलवारीलीला, तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचाैं दिन मटिकोर तथा छैठौं दिन बुधबार रामजानकीको स्वयंवर र विवाह सम्पन्न भएको थियो ।


विवाह महोत्सवमा भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी थिए । उनी बुधबार नै जनकपुर आएर फर्किए ।


सातासम्म चलेको विवाह महोत्सवका क्रममा मिथिला वैवाहिक पद्दतिअनुसार विवाह विधि सम्पन्न गरिन्छ । बेहुला, बेहुलीलगायतका अन्य पात्रहरू स्वरूपमार्फत उपस्थित गराइन्छ । जानकी मन्दिरका महन्त बेहुलीको पिता जनकका रूपमा प्रस्तुत हुन्छन् ।

प्रकाशित : मंसिर २८, २०७५ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?