अर्केस्ट्राको नाममा बेचबिखन

पर्सा — नेपाली चेलीहरू भारतका विभिन्न सहरमा अर्केस्ट्रामा बिक्री हुने क्रम रोकिएको छैन । माइती नेपाल वीरगन्ज शाखाले शनिबार वीरगन्जमा आयोजना गरेको मानव बेचबिखन तथा असुरक्षित बसाइँसराइ न्यूनीकरणमा सञ्चारकर्मीको भूमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा शाखा प्रमुख संगीता पुरीले यो समस्या बताएकी हुन् । 

अर्केस्ट्राको नाममा बेचबिखन

पुरीका अनुसार सनु २०१७ मा शाखाले हालसम्म भारतबाट ११ नेपाली चेलीबेटीको उद्धार गरी ल्याएकोमा तीमध्ये ४ अर्केस्ट्राबाटै उद्धार गरी ल्याइएका हुन् ।


‘उनीहरू भारतको आदापुर, सुगौली, मोतिहारी लगायतका स्थानमा विभिन्न अर्केस्ट्रामा काम गर्थे,’ पुरीले भनिन्, ‘अभिभावकको उजुरीका आधारमा भारतीय प्रहरीसँगको समन्वयमा खोजतलास गर्दै जाँदा उनीहरू अर्केस्ट्रा कम्पनीमा फेला परेका हुन् ।’


अभिभावकको उजुरीका आधारमा यति चेली अर्केस्ट्राबाट फेला परे पनि अझै थुप्रै नेपाली चेलीहरू यो पेसामा जबर्जस्ती लगाइएको हुन सक्ने उनले बताइन् ।


बाँकी उद्धार गरिएका ७ जना भारतीय युवकहरूको प्रेमजालमा परी कम उमेर भागेर विवाह गरी असुरक्षित रूपमा भारतका विभिन्न गाउ तथा सहरहरूमा बस्दै आएको अवस्थामा फेला परेका हुन् । उनीहरूलाई पनि अभिभावककै उजुरीका आधारमा फेला पारेर अभिभावकको जिम्मा लगाइएको छ ।


पुरीका अनुसार ४/५ वर्षयता नेपाली चेलीहरू ठूलो संख्यामा यसरी अर्केस्ट्रा नृत्य समूहमा जानेर वा नजानेर जोडिन पुगेका छन् । यसरी अर्केस्ट्रामा नृत्य गर्न पुगेकाहरूलाई अन्य र आकर्षक कामको लोभ दिएर भारत लगिएको हुन्छ । केहीलाई भने अर्केस्ट्रामा काम दिने भनेरै पनि लगिएको हुन्छ । तर त्यहाँ पुगेर उनीहरू शारीरिक र मानसिक यातनाले विक्षिप्त हुन पुग्छन् ।


नेपालका नजिकका सीमावर्ती भारतीय बजारहरूमा अवैध रूपमा चलाइने अर्केस्ट्रा समूहमा युवतीहरूलाई अश्लिल शैली र भावभंगीमामा नृत्य गराइने भएकाले यस्तो समूहको माग बढदो छ । युवतीहरूले मञ्चमा अश्लिल गीतहरू तथा बाजागाजाको तालमा नृत्य गर्नुपर्छ ।


छोटा कपडा लगाउने मात्र नभई दर्शकदीर्घाबाट उत्तेजित भई मन्च उक्लने दर्शकहरूले उनीहरूलाई मन्चमै दुव्र्यवहार गर्ने, छोटा बस्त्रहरू समेत खोल्न दबाब दिएर निर्वस्त्र नृत्य हुन दबाब दिने जस्ता अश्लिल गतिविधि पनि गर्छन् ।


अर्केस्ट्रा सञ्चालकले उनीहरूलाई पारिश्रमिक नदिने, बन्धक बनाएर जबर्जस्ती नृत्य गर्न लगाउने, खाना र बासको पनि उचित व्यवस्था नगर्ने जस्ता पीडा यस्ता चेलीहरूले भोग्ने गरेका छन् । विगतमा भारतका महानगरहरूमा नेपाली चेलीबेटीलाई जबर्जस्ती यौन व्यवसायमा लग्न फकाइफकाई बिक्री गर्ने गिरोह सक्रिय रहेकोमा पछिल्लो केही वर्षयता यो नया शैलीको बेचबिखनको गिरोह सक्रिय रहेको पुरीले बताइन् ।


बेश्यालयमा बिक्री गर्नु मात्र बेचबिखन नभई अर्केस्ट्रामा चेलीबेटीलाई बिक्री गर्नु पनि बेचबिखन रहेको पुरीले बताइन् । अघिल्ला वर्षहरूमा पनि शाखाले थुप्रै चेलीबेटीहरूलाई भारतीय अर्केस्ट्राबाट उद्धार गरी ल्याएको तथा केही भागेर पनि आएको उनले बताइन् ।


यो समस्या वर्षेनी बढदै गएकाले सरकारी तथा गैरसरकारी निकायहरूले यो नयाँ बेचबिखनविरुद्ध पनि विशेष अभियान नै चलाउनु आवश्यक भइसकेको उनले बताइन् ।


यस बाहेक शाखाले यस वर्ष ५ भारतीय महिला नेपालमा फेला परेका छन् । यसरी नेपाल र भारतका गरी कुल १५ महिला र १ बालिकालाई एक अर्का मुलुकबाट उद्धार गरिएको उनले बताइन् । यस वर्ष नेपाल–भारत सीमा नेपालबाट भारततर्फ जान लागेका १ सय ९६ लाई सीमाबाट रोकेर फर्काइएको पनि उनले बताइन् ।


जोखिमपूर्ण रूपमा भारत तथा भारत हुँदै तेस्रो मुलुक जान लागेको बताउने यस्ता महिलाहरूसँग कुनै कागजात आदि समेत नहुने भएकाले उनीहरू बेचबिखनको जोखिममा पर्न सक्ने कुरो सम्झाइबुझाई गरेपछि उनीहरू घर फर्कन तयार भएको पुरीले बताइन् ।


माइती नेपालको ठोरी शाखाले यस वर्ष भारतबाट १ चेलीलाई उद्धार गरी ल्याएको र ३७ चेलीलाई जोखिमपूर्ण रूपमा भारत जानबाट रोकेर घर फर्काएको पनि उनले बताइन् ।

प्रकाशित : पुस १, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?