पति बेपत्ता भएपछि सुत्केरीको बिचल्ली

‘घरमा गयो भने दलितकी छोरी भनेर लखेट्छन्, माइतीमा आयो भने आफ्नो मनमर्जीले विवाह गरेर ठूलो गल्ती गरिस् भन्छन्’
अवधेशकुमार झा

राजविराज — माइतीमा छोडेर पति बेपत्ता भएपछि सप्तरी जिल्लाको बोदेवरसाइन नगरपालिका–२ की २० वर्षीय संगीता सदा सुत्केरी अवस्थामा अहिले बिचल्लीमा परेकी छन् ।

प्रेमविवाह गरेको ११ महिनाअघि अन्तरजातीय विवाह गरेकी उनलाई माइतीमा छोडेर पति बेपत्ता भएपछि उनी बिचल्लीमा परेकी हुन् ।


सोही नगरपालिका घर भएका शिवदत्त चौधरीसित २०७४ पुस १ गते प्रेम विवाह गरेकी संगीतालाई ३ महिनासम्म सँगै राखेर वभिन्न स्थान घुमाई केही दिनमै लिन आउँछु भन्दै गएका शिवदत्त नफिर्कएपछि उनी अलपत्र परेकी हुन् । मंसिर २२ गते प्रसूति व्यथाले च्यापेपछि उनलाई लाहनस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पतालमा भर्ना गरिएको थियो ।


सात दिनअघि शल्यक्रियापछि छोरालाई जन्म दिएपछि उनको र शिशु दुबैको अवस्था अहिले गम्भीर छ । जन्मिएपछि नवजात शिशु दूध खान नमानेपछि चिकित्सकले सुविधा सम्पन्न अन्य अस्पतालमा लग्न सल्लाह दिए पनि आर्थिक अभावका कारण बाहिर लग्न नसकेको उनका पिता भोला सदाले बताए ।


प्रेममा परेर अन्तरजातीय विवाह गरेकी संगीताका पति उनलाई छोडेर बेपत्ता भएको र पिताको घरको अवस्था आर्थिक रूपले नाजुक भएका कारण उनको र छोराको उपचारमा समेत समस्या भएको छ ।

२०७४ पुस १ गते कोसी मेला गएकी संगीताले सोही दिन शिवदत्तसँग भागेर प्रेम विवाह गरेको बताइन् । तीन महिना विभिन्न स्थानमा घुमाएर २ चैत्र २०७४ मा माइतमै पुर्‍याएर केही दिनमा लिन आउँछु भन्दै गएका पति अहिलेसम्म फर्किनआएको संगीताले सुनाइन् ।


पतिका घरमा जाँदा सासू–ससुराले दलितकी छोरी भन्दै घरमा पस्न नदिएको संगीताले गुनासो गरिन् । ‘घरमा गयो भने दलितकी छोरी भनेर लखेट्छन्, माइतीमा आयो भने तैले आफ्नो मनमर्जीले विवाह गरेर ठूलो गल्ती गरिस् भन्छन्, अब म कसरी बाँच्ने ?’ संगीताले पीडा पोखिन् । संगीता दलित मुसहर समुदायकी हुन् भने शिवदत्त थारू समुदायका हुन् ।


आफ्ना पतिका बारेमा सासू ससुरालाई थाहा भए पनि लुकाएको उनको आरोप छ । ‘एक त पति आउँदैनन्, त्यसमाथि यो प्रसूति अवस्थामा म बच्चालाई लिएर उपचार गराउन कहाँ जाउ ?’ संगीताले भनिन्, ‘मलाई न्यायका लागि पहल गरिदिन सबैमा आग्रह गर्दछु ।’


संगीताको समस्याका बारेमा इलाका प्रहरी कार्यालय बोदेवरसाइनमा पटकपटक पञ्चायती भएपछि कुनै निकास भने निस्कन सकेको छैन । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले विवाहपछि आफ्ना पतिलाई सासू ससुराले बेपता बनाएको ठाडो निवेदन संगीताका तर्फबाट आएको बताए । उनले उनका पति शिवदत्तको खोजी कार्य भइरहेको जानकारी दिए ।

प्रकाशित : पुस १, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?