२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

कटवासी मेलामा एक अर्बको कारोबार

पवन यादव

सिमरा — बाराको महागढीमाई नगरपालिका बरियारपुरमा अवस्थित बलीको लागि प्रसिद्ध गढीमाईको जेठी दिदीका रूपमा मानिएकी कटवासीमाईको पञ्चवर्षीय मेलामा यसपालि एक अर्बभन्दा बढीको आर्थिक कारोबार भएको मेला समितिले जनाएको छ ।

कटवासी मेलामा एक अर्बको कारोबार

महागढीमाई नगरपालिकाकै वडा नं. ७ तेलगाईमा अवस्थित कटवासीमाईको मेला गढीमाईको मेलाभन्दा एक वर्ष अगाडि लाग्ने गर्छ । यही मंसिर २२ गतेदेखि पुस १ गतेसम्म सञ्चालन भएको मेलामा एक अर्ब बढीको आर्थिक कारोवार भएको अनुमान गरिएको कटवासीमाई मेला मूल आयोजक कमिटीका सचिव लालबाबु पंडितले बताए ।


‘एउटा पसलेले कम्तीमा एक दिनमा ३ लाखभन्दा बढीको कारोवार गरे,’ उनले भने, ‘मेलाभरिमा ३ हजारभन्दा बढी खाना, खाजाको होटल, मिठाई पसल, कस्मेटिक पसल, झुला, मौतका कुवा, थिएटर लगायतका व्यापारिक पसल सञ्चालित थियो ।’


चनाचटपटे लगायतका साना पसलहरूलाई जोडेकै छैनौं । पहिलाको तुलनामा यसपालि भक्तजनको संख्या बढेसँगै आर्थिक कारोवारमा पनि बृद्धि भएको उनले जानकारी दिए ।


नेपाल र भारतका गरी करिब एक करोडभन्दा बढी दर्शकहरू मेला भर्न यहाँ आएको मेला समितिले अनुमान गरेको छ । एकै दिन मेला भर्न १० लाख बढी दर्शक आएको उनले जानकारी दिए ।

कलैया उपमहानगरपालिका १३ बलिरामपुरका रतन मेहता चनाचटपटे पसल ठेलागाडामा लिएर मेला स्थलमा आइपुगेका थिए ।


दैनिक ५० रूपैयाँ चिराकी (कर) मेला समितिलाई तिरेर उनले फुटपाथमा चनाचटपटे पसल सञ्चालन गरेका थिए । मेला क्षेत्रभरीमा झन्डै २ सयभन्दा बढी भाजा पसल सञ्चालनमा रहेको उनले जानकारी दिए ।


‘आफूले मात्र एक दिनमा ३ हजार ५ सयदेखि ४ हजार रूपैयाँसम्म चनाचटपटे बिक्री गरेर आम्दानी गरे,’ उनले भने, ‘दिउँसोको बेला ग्राहकको मागअनुसार चटपटे बनाउन भ्याइनभ्याई थियो ।’ साँझ परेपछि ग्राहकको चाप कम भएको उनले बताए । लामो समयदेखि चनाचटपटे पसल गरी गुजारा चलाउँदै आएका मेहताले यसपालि कारोवार राम्रो भएको कान्तिपुरलाई बताए ।


ठेक्का नलगाइएको ‘वैष्णेदेवी गुफा’ अवलोकन गर्न दर्शकहरूको उतिकै भीड थियो । ५० रूपैयाँ प्रतिव्यक्ति राखिएको टिकट कटाएर दिनहुँ ५/६ हजारभन्दा बढी दर्शक अवलोकन गरेको मेला समितिले जानकारी दिएको छ ।


मेलामा जग्गा र मनोरञ्जनको ठेक्काबाट मात्र १६ लाख ७० हजार रुपैयाँ आम्दानी गरिएको मेला समितिका पदाधीकारीले बताए ।


बलीको चिराकी, मन्दिरको दानपेटिका र वैष्णो गुफाको टेन्डर नलागेको मेला समितिका सचिव पण्डितले बताए ।


महागढीमाई नगरपालिका, देवताल र स्वर्ण गाउँपालिकाको संगमस्थलमा पर्ने कटवासीमाई मेला झन्डै २ सय बिघा क्षेत्रफलमा फैलिएको छ ।


कटवासीमाई मन्दिरमा १ लाख ५० हजार बढी बोका, ३ सय पाठी, एक सय ३५ वटा राँगा, असंख्य कुखुराको बली दिइएको मेला मूल आयोजक कमिटीका अध्यक्ष एवं महागढीमाई नगरपालिकाका प्रमुख मेयर उपेन्द्र कुमार यादवले बताए ।


‘सुरुमा समिति बनाउने विषयमा विवादित बनेको मेला समिति चयन भएपश्चात सौहार्दपूर्ण वातावरण सम्पन्न भयो,’ उनले भने, ‘मेला सम्पन्न गर्न सबैले सघाए ।’ मेला सम्पन्न गर्न सहयोग गर्ने स्थानीय नगरवासी, सुरक्षा निकाय, स्थानी प्रशासन सबैलाई उनले धन्यवाद समेत दिएका छन् । आउने वर्षदेखि मेलालाई थप व्यवस्थित बनाउने उनले जानकारी दिए ।


अन्य शक्तिपीठभन्दा फरक तरिकाले यहाँ बली चढ्ने गर्छ । यहाँ पशुलाई उल्टो पारी बली दिने चलन रहेको मन्दिरका पुजारीले बताए । ‘अरू शक्ति पीठमा उल्टो बली चढ्दैन,’ उनले भने, ‘यसकारण पनि यो शक्तिपीठ प्रसिद्ध छ ।’


यो शक्ति पीठ अर्थात् कटवासीमाईलाई विश्वप्रसिद्ध गढीमाईको दिदी मानिन्छ । त्यही कारण गढीमाईको मेला लाग्नुभन्दा एक वर्ष अगाडि नै कटवासीमाईको मेला लाग्ने गर्छ । यो मेला पनि पञ्चवर्षीय मेला रहेको उनले जानकारी दिए ।

प्रकाशित : पुस ३, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?