तस्करबाट वन जोगाउन ‘ट्रेन्च’

‘हामीले चोरी रोक्न यस्तो नीति अपनाएका हाैं, बाटो नै नभएपछि तस्करलाई गाडीमा काठ लैजान सम्भव हुँदैन’
शिव पुरी

रौतहट — तस्करबाट सालको रूख जोगाउन डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले सम्भावित नाकाहरूमा ‘ट्रेन्च’ (खाडल) खन्न थालेको छ ।

तस्करबाट वन जोगाउन ‘ट्रेन्च’

राति गाडीमा सालको गोलिया लोड गरी तस्कर हुन थालेपछि वनले यस्तो युक्ति अपनाएको हो । वनले अधिकांश जंगल छिर्ने नाकाहरूमा ट्रेन्च बनाएको हो । यो बाटो प्रयोग गरी कुनै पनि सवारी भित्र जान सक्दैन ।


केही समययता राष्ट्रिय वनमा तस्करले सालको गोलिया काट्ने प्रयास गरेपछि वनले यस्तो नीति अपनाएको हो । दुई साताअघि जुडिबेला क्षेत्रबाट सानो जिपमा सालको काठ तस्कर गर्न लागेको अवस्थामा वन गस्तीले बरामद गरेको थियो । जिप वन क्षेत्रको बाटो हुँदै बाहिर राजमार्गमा निस्कन लाग्दा वनले नियन्त्रणमा लिएको थियो ।


डिभिजन वन अधिकृत बिनोद सिंहले राजमार्ग र भित्री नाकाका बाटोहरूमा ट्रेन्च खनिएको बताए । ‘हामीले चोरी रोक्न यस्तो नीति अपनाएका हाैं,’ उनले भने, ‘बाटो नै नभएपछि तस्करलाई गाडीमा काठ लैजान सम्भव हुँदैन ।’ झन्डै २ दर्जन चोरी नाकाहरूमा मेसिनबाट ठूला खाडल बनाइएको छ । यहाँ कुनै पनि गाडी जान सक्दैन ।


तस्करले यस्तो बाटो प्रयोग गरी रातारात सालको गोलिया, चिरान लैजान्थ्यो । उनीहरू निर्धक्क तस्करी गर्थे । वन क्षेत्रमा तस्करले धेरै जसो चोर बाटो बनाएका थिए । वनले यस्तो नाकाको पहिचान गरी खाडल बनाएको हो । अहिले सबै नाकाहरू बन्द गरिएको छ ।


वन कार्यालयका अनुसार कार्तिकयता एक महिनाको अवधिमा विभिन्न वन सेक्टरबाट अबैध रूपमा सालको गोलिया तस्करी गर्न लागेको अवस्थामा ७ जनालाई पक्राउ गरी वन ऐनअन्तर्गत मुद्दा चलाइएको छ । त्यस्तै जुडिबेला वन क्षेत्रबाट राति गोलिया तस्कर गर्न लैजादै गर्दा मानिस सहित १ वटा पिकअप जिप नियन्त्रणमा लिइएको थियो ।


वन गस्तीले २ वटा टयाक्टर र एक थान आरा समेत बरामद गरेको जनायो । वन अधिकृत सिंहले तस्करबाट सालको रूख जोगाउन गस्तीलाई सक्रिय बनाइएको बताए । अधिकृत सिंहका अनुसार तस्करले कटान गरेको ५८३ क्युफिट सालको गोलिया र १३४ क्युफिट चिरान काठ बरामद गरिएको छ ।

डिभिजन वन कार्यालयको गस्ती टोलीले दुई साताअघि चन्द्रपुर ३ भोलटानको जंगलबाट ठूलो परिणामको सालको चिरान काठ सहित दुई तस्करलाई पक्राउ गरेको थियो । उनीहरूले जंगलभित्र हाते आराको मद्दतबाट सालको गोलिया चिरान गरेका थिए । राष्ट्रिय वनबाट काँचो सालको गोलिया ढालेर जंगलभित्र चिरान गरेको बेला भोलनटारका चन्द्रबहादुर जिम्बा र लालबहादुर मोक्तानलाई पक्राउ गरेको थियो ।


उनीहरू चोर बाटो प्रयोग गरी तस्कर गर्थे । वनले यो बाटोमा समेत खाडल बनाइदिएको छ । वनले ४२ थान चिरान काठ र २ थान झन्डै दस फिट मोटो गोलिया बरामद गरेको थियो । चोचा र चेनतगर वन सेक्टरमा बेलाबेलामा तस्कर हावी हुने गरेको वन कर्मचारी बताउँछन् ।

प्रकाशित : पुस ३, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?