कलैया उपमहानगरमा फोहोर

ढलको पानीले बजारमा कतै पोखरी बनेको छ त कतै मन्दिर र विद्यालय वरपर खुला चर्पी बनेको छ । नालाहरू महिनौंदेखि सफाइ नगर्दा भरिभराउ मात्र भएको होइन जाडो याममा लामखुट्टेको प्रकोप बढेको छ 
लक्ष्मी साह

बारा — १५ वर्षीया एक बालिका मंगलबार साइकलमा विद्यालय जाँदै गर्दा ढल फुटेर बनेको पोखरीमै लडिन् । पोसाकदेखि पाठ्यसामग्री र झोला ढलकै पानीमा छपक्कै भिज्यो । साइकल र बालिकालाई अरूले उठाइदियो ।

कलैया उपमहानगरमा फोहोर

जीउ ज्यान र साइकल उठाउन नपाउँदै पछाडिबाट खाडलसम्म ट्रिपर आइपुग्यो । च्यापिनबाट जोगिइन् । स्थानीय प्रत्यक्षदर्शीले बालिका लडेको हल्ला गरेपछि चालकले ट्रिपर रोके, नभए बालिकाको ज्यान खतरामा थियो ।


यो घटना त्यहींको स्थानीय केशवराज साहले सुनाए, जसले पसल थापेर छेउमै बसेका घटनाको प्रत्यक्षदर्शी हुन् । ‘बालिका विद्यालय गइनन् । खबर पाएर आएका अभिभावकले फर्काएर घर लगे,’ घटनाका प्रत्यक्षदर्शी साहले भने, ‘यस्तो लड्ने र गाडी जाम लाग्ने समस्या दुई सातादेखि घण्टैपिच्छे भइरहेको छ ।’ कलैया उपमहानगरपालिकाको सहरी क्षेत्रमै ढल फुटेर पोखरी बन्दा उपमहानगरले व्यवस्थापनमा चासो नदिएकाले यस्तो विजोग सहनु परिरहेको उनले सुनाए ।


उपमहानगरको वडा ४ र ६ को सिमानामा पर्ने गुप्ता आयल स्टोर्स नजिक ढलको पानीले पोखरी बनेपछि समस्या भएको हो । वडा नम्बर १ को श्री ३ चन्द्र मावि छेउमा ढल फुटेर यस्तै पोखरी बनेपछि चौतर्फी दबाबले उपमहानगरले व्यवस्थापन गरेको थियो । उक्त ढलको व्यवस्थापन गरेको महिना वित्न नपाउँदै ढलकै पानीले यो अर्को पोखरी बनेको हो ।


गढीमाई मन्दिर जाने र फर्किने यो मुख्य सडकमा ढलको पानीबाट पोखरी बनेको हो । त्यहीं नजिक हुलाकी सडक आयोजनाले सडकसँगै नाला बनाइरहेको छ । नालाको गहिराई नमिलेकाले स्थानीयबाट विरोध भएपछि उपमहानगरको इन्जिनियर पुगेर नाला निर्माणको काम रोको थियो । त्यहीं नाला निर्माण रोकिँदा ढलको पानी बगेर पोखरी बनेको हो ।


‘सहरको घरेलु चर्पी र बजारको फोहोर मिसिएको ढलको पानी नाक अगाडि जमेको छ,’ खाडल नजिकका अर्का पसले मकर तेलीले भने, ‘उपमहानगरले कुनै वास्ता गरेको छैन । हेरेर गएको साता वित्यो, व्यवस्थापन गरेको छैन ।’ पानी जमेको पोखरीझैं बनेको खाल्डोमा दैनिक रूपमा यात्रु, विद्यार्थी, बटुवाहरू लड्ने गरेको उनले बताए । ढलको पानी सहरभरि छ्याप्पछ्याप्ती छ ।


‘कलैयाबाट गढीमाई जाने मुख्य बाटोमै यस्तो विजोग भएपछि उपमहानगरका जिम्मेवार जनप्रतिनिधि र कर्मचारीले जानीजानी बेखबर झैं बनिरहेका छन्,’ उनले भने, ‘पसल अगाडि ढलको पानी जमेपछि ग्राहकहरू पसलमा आइरहेका छैनन् ।’ रोजीरोटीका लागि थापिएको व्यवसाय दुई सातादेखि चौपट भएको उनले बताए ।


हिउँदमा ढलको पानी जमेर पोखरी बनेको नगरपालिकाले हेरिरहँदा व्यवस्थापन गर्न बेवस्ता गरेको स्थानीयहरूले आरोप लगाइरहँदा उपमहानगरका प्रमुख कार्यकारी अधिकारी शिव रिजालले समस्या समाधानका लागि इन्जिनियरलाई खटाइने प्रतिक्रिया दिए ।


उपमहानगरको कर्मचारी, इन्जिनियरलगायतका जनप्रतिनिधिले ढल फुटेर पोखरी बनेको स्थान पटपटक हेरेर बेवस्ता गर्दै आएको वरपरका स्थानीय बासिन्दाहरूको भनाइ छ । बजारमा आउजाउ गर्ने बटुवासहित गढीमाईको तीर्थ यात्रीहरूलाई आउजाउमा कठिन भएको छ । ‘बनाउँदै गरिएको नालाको विषयमा विवाद भएपछि ठेकेदारले ढल फुटाएर त्यतिकै छाडेकाले बजारमा ढलको पानीले पोखरी बनेको छ,’ इसराइल अंसारीले भने, ‘नालाबाट पानी सडकबाहिर लानुपर्ने ठाउँमा सडकमै मुहान बनाएकोले समस्या भएको छ ।’


उपमहानगरपालिकाका मेयर राजेश राय यादवले हुलाकी सडक आयोजनाका अधिकारीहरूसित समन्वय गरेर ढलको निकास बनाउने प्रयासमा जुटेको बताउँछन् । ढलको पानीले बजारमा कतै पोखरी बनेको छ त कतै मन्दिर र विद्यालय वरपर चर्पी बनेको छ । नालाहरू फोहोरले भरिभराउ छ । कालो प्लास्टिकले भरिएको नालाहरू सफाइ नगरिएको महिनौं भइसकेको छ । सहरका सबै गल्ली र मुख्य सडकको नालाहरूको हालत उस्तै छ । त्यसैले लामखुट्टेको प्रकोप त्यतिकै बढेको छ ।

‘नगरपालिकाले नाला सफाइ गर्न र लामखुट्टेको औषधि छर्नसमेत सकिरहेको छैन,’ कलैया–१ की गीता देवीले भनिन्, ‘फोहोर उठाउन र सफाइका लागि ताकेता गर्दा कुनै वास्ता हुँदैन ।’ सहर क्षेत्रको बुद्ध, सिद्धेश्वर, कृष्णा र राम जानकी मन्दिरलगायत कतिपय सरकारी तथा निजी विद्यालयको मूल ढोका नजिकमा फोहोरको डंगुर थुपारिएको छ । त्यहीं ठाउँलाई खुला चर्पीका रूपमा प्रयोग भइरहँदा कोहीकसैले व्यवस्थापनमा चासो दिएका छैनन् ।

प्रकाशित : पुस ४, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?