१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

उखु किसानले अनुदान पाएनन्

‘मैले आफ्नो र अरूको जमिन भाडामा लिएर उखु लगाएको छु,लिजमा लिएको जग्गाधनीले लालपुर्जा दिँदैनन्, मैले कहाँबाट सबैको लालपुर्जा ल्याउने ?’
भरत जर्घामगर

सिरहा — जग्गाको लालपुर्जा अनिवार्य गरिएपछि प्रदेश २ का आठ जिल्लाका उखु किसानले सरकारी अनुदान रकम पाउन सकेका छैनन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयमा असोज २१ गते नै ‘उखु कृषकहरूलाई अनुदान दिने सम्बन्धी कार्यविधि २०७५’ सहित रकम निकासा गरे पनि जग्गाको लालपुर्जासहित झन्झटिलो प्रक्रियाका कारण उखु किसान अनुदान रकम पाउनबाट वञ्चित छन् । 

उखु किसानले अनुदान पाएनन्

सिरहाको नरहा गाउँपालिका २ पानवारीस्थित हिमालय सुगर मिल्समा उखु बिक्री गरेका सिरहा, सप्तरी, धनुषा, सुनसरी र सर्लाहीका ५ हजार ६ सय २ जना किसानले ६ करोड २ लाख ५४ हजार सरकारी अनुदान बापतको रकम पाउन सकेका छैनन् ।


सरकारले निर्धारण गरेको उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३१ रुपैयाँ २० पैसामध्ये उद्योगले प्रतिक्विन्टल ४ सय ६५ रुपैयाँ ९२ पैसा र सरकारले ६५ रुपैयाँ २८ पैसा अनुदान दिने सहमति भएको थियो । उद्योगले किसानको रकम फछ्र्यौट गरिसकेको भए पनि अनुदानको रकम नपाएको उखु किसानको गुनासो छ ।


सरकारी अनुदान रकम कोष तथा लेखा नियन्त्रक कार्यालय सिरहामा असोज २१ गते नै निकासा भएको थियो । उखु कृषकहरूलाई अनुदान दिने सम्बन्धी कार्यविधि २०७५ मा अनुदान रकम प्रवाहमा विचौलियाको प्रभाव नपरोस् भन्ने उद्देश्य छ । त्यसका लागि उखुको अनुदान रकम भुक्तानी हुँदा उखु बिक्री परिमाणको विवरण सहित उत्पादक कृषकको जग्गाको क्षेत्रफल अनुसारको लालपुर्जा बमोजिमको कित्ता नम्बर खुलेको कागजात र जग्गा लिजमा लिई खेती गरेको भए स्थानीय निकायले प्रमाणीकरण गरेको आधिकारिक सम्झौता पत्र संलग्न गरी चिनी उद्योगमार्फत कृषकको बैंक खातामा अनुदान रकम प्रदान गर्ने उल्लेख छ ।


उखु किसान नरहा ३ का इस्लाम अन्सारीले ४ हजार क्विन्टल उखुको अनुदान रकम २ लाख ६१ हजार १ सय २० रुपैयाँ नपाएको बताए । उखु बिक्री गरेको १० महिनापछि मिलबाट रकम पाएका उनले सरकारले उखु किसानलाई दिने अनुदान रकम लिन जग्गा धनीपुर्जाको नक्कल मागेर झन्झटिलो बनाएको गुनासो गरे । ‘मैले आफ्नो र अरूको जमिन भाडामा लिएर उखु लगाएको छु,’ उनले गुनासो गरे, ‘लिजमा लिएको जग्गाधनीले लालपुर्जा दिँदैनन्, मैले कहाँबाट सवैको लालपुर्जा ल्याउने, किसानलाई अप्ठ्यारोमा पार्ने काममात्र भइरहेको छ ।’


नरहा ३ का उखु किसान साहिद अन्सारीले पनि अनुदान बापतको ६ लाख ५२ हजार ८ सय रुपैयाँ भुक्तानी पाउँन बाँकी रहेको बताए । ‘कतिपय किसानको जग्गाधनी पुर्जा बुवाको नाममा छ, उखु खेती छोराले गरेका छन्,’ उनले भने, ‘यस्तोमा लालपुर्जा बुवाको नाममा र खेती छोरा गरेका छन्, लालपुर्जा अनिवार्यले उखु खेती गर्ने किसान अनुदान रकमबाट वञ्चित हुने भएकाले यसको समाधान खोज्न जरुरी छ ।’


सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले उखु किसानललाई सरकारले दिने अनुदान रकम जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालयमा आइसकेको र भुक्तानीका लागि जग्गाधनी लालपुर्जा अनिवार्य भएकाले भुक्तानीमा समस्या भएको बताए । ‘जग्गा लिजमा लिएका, बुवाको नाममा जग्गाधनी लालपुर्जा रहेका किसानलाई भुक्तानीमा समस्या भएपछि उखु कृषकहरूसँग अन्तक्र्रिया गरी समाधानका लागि साताअघि कृषि तथा पशुपक्षी विकास मन्त्रालय लगायत माथिल्लो निकायलाई पत्राचार गरेका छौं’, उनले भने, ‘समाधानका लागि पहल भइरहेको छ, माथिल्लो निकायबाट राय सुझाव आएपछि समाधान हुन्छ ।’


सिरहाका कोष तथा लेखा नियन्त्रक राधेश्याम गिरीले असोजमै रकम निकासा भइसके पनि अनुदान रकम कार्यविधिअनुसार जग्गाको क्षेत्रफल अनुसारको कित्ता नम्बर खुलेको लालपुर्जा प्राप्त नभएकाले भुक्तानीमा समस्या भएको बताए । हिमालयन सुगर मिल्समा मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, सर्लाही जिल्ला र भारत, विहार सीमा क्षेत्रका ५ हजार ६ सय ८१ किसानहरूले १० लाख २१ हजार ६७ क्विन्टल ४४ केजी उखु बिक्री गरेका थिए । जसमध्ये ७९ जना भारतीय किसान छन् । भारतीय किसानले अनुदान पाउँदैनन् ।


चिनी उद्योगका प्रमुख उखु विकास अधिकृत अवधकिशोर यादवले किसानलाई मिलले जुन प्रक्रियाबाट रकम बुझाएको हो, त्यो सवै कागज कोलेनिकामा पठाइसकेको र धेरै किसानहरूले अधिया र ठेक्कामा उखुखेती गरेका कारण लालपुर्जा उपलब्ध हुन नसक्दा समस्या भएकाले भुक्तानीमा समस्या भएको बताए । समस्या समाधान गरी भुक्तानीका लागि पहल भइरहेको उनले बताए ।


गाउँमै सख्खर उत्पादन

भुक्तानी र बिक्रीका लागि बजार पुर्‍याउने झन्झटका सिरहाका उखु किसानहरू प्रविधिको उपयोग गरी गाउँमैं सख्खर उत्पादन गर्न थालेका छन् । उनीहरूले उखु पेल्ने मेसिन तुरपिनको प्रयोग गरी सख्खर उत्पादन गरेका हुन् ।


पुस्तौंदेखि उखु खेती गर्दै आएका सिरहा मोहनपुरका उखु किसान ब्रम्हदेव महतोले २ विघा जग्गामा लगाएको उखुबाट सख्खर बनाएर बिक्री गर्दै आएका छन् । ‘उखु मिलमा गएर बेच्नुभन्दा आफैं सख्खर बनाउँदा फाइदा भयो’, उनले भने ‘मिलमा उखु बेच्दा पैसा भुक्तानीको ठुलो झन्झट व्यहोर्नुपर्छ, सख्खर उत्पादन गर्दा खेतमा व्यापारी आउँछ, आम्दानी पनि राम्रै हुन्छ ।’


उखुको सख्खर बेचेर नै उनले उनले १ लाख ३० हजार लागतमा आफैंले उखु पेल्ने मेसिन तुरपिन किनेका छन् । ‘अरू किसानको उखुको सख्खर बनाइदिँदा ७ सय रुपैयाँ प्रतिक्विन्टल लिन्छु,’ उनले भने, ‘तुरपिनबाट समेत बेग्लै कमाउन थालेको छु ।’ उखुबाटै उनले वार्षिक २ लाख रुपैयाँ आम्दानी गर्छन् ।

विल्टुमात्र होइन यति बेला सिरहाका उखु किसानलाई भ्याई नभ्याई छ । एक फसल भित्र्याइ सकेर कोही मिलमा बेच्न लगिरहेका भेटिन्छन् भने कोही खेतमा नयाँ बाली लगाइरहेका भेटिन्छन् । अधिकांश किसान सख्खर उत्पादन गर्न व्यस्त भेटिन्छन् ।


उखु खेतीमा अन्य बालीभन्दा लगानी, परिश्रम कम र आम्दानी राम्रो हुने गरेको उनले सुनाए । कृषकका अनुसार उखु खेतीमा दुई पटकसम्म मल खाद्य मात्र हाल्नु पर्छ त्यसपछि तयारी उखु भित्र्याउने काम मात्रै हुन्छ । त्यसैले अन्य बालीभन्दा हैरानी कम हुने गरेको किसानको भनाइ छ ।


पछिल्लो पटक आफूले मेहनत गरेर उब्जाएको उखुको मूल्य मिल मालिकले निर्धारण गर्ने र समयमा भुक्तानी नगर्दा किसानहरू सख्खर उत्पादनतर्फ लागेको उनले बताए ।

प्रकाशित : पुस ४, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?