१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सीमामा बढ्यो तस्करी

नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै स्थानीय तस्करले प्रहरीको आँखा छलेर भारतीय नम्बरको मोटरसाइकल प्रयोग गरी सामान ओसारपसार गर्न थालेको छ । 
शिव पुरी

रौतहट — रौतहटको इशनाथ नगरपालिकास्थित औरैया नाकाबाट भारत तस्करी गर्न खोजिएको ६० बोरा केराउ पक्राउ गर्न प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले आदेश दिनुपर्‍यो । तस्करीबारे नजिकको प्रहरी युनिट बेखबर थिए । सामानसहित बरामद ट्रक प्रहरीले राजस्वको कार्यालय वीरगञ्जमा बुझाए । तस्करले मंसिर ४ गते ना१क ७४२७ नम्बरको ट्रकमा केराउ भारत लैजान लागेका थिए ।

सीमामा बढ्यो तस्करी

डीआईजी पालले खुला सीमाको फाइदा उठाउँदै तस्करले भारत र नेपालमा सामान ओसारपसारको प्रयास गरेको बताए । ‘हामीले सीमा क्षेत्रमा गस्तीलाई कडाइ गरेका छांै,’ उनले भने, ‘कुनै पनि सामान ओसारपसार हुन नदिन मातहतका युनिटलाई निर्देशन दिएको छु । सीमा क्षेत्रमा हुने हरेक गतिविधिको सुरक्षाकर्मीले निगरानी राखेको छु ।’


सुराकीका आधारमा केराउ बरामद गरिएको थियो । केराउ तस्करको मुख्य नाइकेका बारे प्रहरीले केही बताएको छैन । नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै स्थानीय तस्करले प्रहरीको आँखा छलेर भारतीय नम्बरको मोटरसाइकल प्रयोग गरी सामान ओसारपसार गर्न थालेको छ ।

सोमबार सीमापारि भारतीय बजारबाट राजस्व छलेर चोर बाटो प्रयोग गरी नेपाल भित्र्याउँदै गरेको कपडा सहित दुई भरियालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । भारतको घोडासहानबाट अबैध रूपमा भन्सार राजस्व छली बाराको पूर्वी क्षेत्र कर्चोवा हुँदै रौतहट ल्याउँदै गरेको कपडा सहित भरिया तस्करलाई मौलापुर नगरपालिका १ सहिद चोकबाट सशस्त्रले नियन्त्रणमा लिएको हो ।


तस्करविरुद्ध निगरानी र चेकजाँचमा कडाइ गरेपछि अबैध कारोवारीहरू बारा जिल्लाको सीमा भएर प्रवेश गरी यहाँका विभिन्न बजारहरूमा कपडा सहितका सामान पसलमै पुर्‍याउने गर्छन् । तस्करले सामान ल्याउँदै गरेको सूचना पाएपछि सशस्त्र प्रहरीको ११ नम्बर गणबाट खटिएको गस्ती टोलीले मौलापुरबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लोड गरिएको कपडा बरामद गरेको हो ।


सामान सहित बौधीमाई नगरपालिका १ अजगैवीका छोटेलाल पटेल र कृष्णन्दन पटेललाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका एसपी कृष्ण ढकालले बताए । ‘रातदिन नभनी सीमामा निगरानी बढाएका छौ,’ उनले भने, ‘तस्करले मौका हेरेर सामान ल्याउने र लैजाने प्रयास गर्दै आएको छ । अबैध कारोबार गर्नेलाई पक्रेर कारबाहीको दायरामा ल्याउँछौं ।’


तस्करको साथबाट बरामद गरिएको करिब १ लाख ३३ हजार मूल्य बराबरको कपडा आवश्यक कारबाहीका लागि गौर भन्सार बुझाइएको एसपी ढकालले जनाए । तस्करले मोटरसाइकल प्रयोग गरी भन्सार राजस्व छलेर सामान भित्र्याउन लाग्दा प्रक्राउ परेका हुन् । सशस्त्र प्रहरीको ११ नम्बर गण गौरका अनुसार गएको साउन यता ५ महिनाको अवधिमा विभिन्न नाकाबाट भन्सार राजस्व छलेर ल्याउँदै गरेको ६८ लाख १८ हजारको सामान बरामद गरिएको छ ।


त्यस्तै तस्करमा संलग्न ५ जनालाई अबैध सामान सहित र ११ जना लागूऔषध सहित पक्राउ परेका छन । अबैध सामान ओसार पसारमा प्रयोग भएको एक थान टाटा सोमु, १ थान स्करपपियो, ट्रक एक र १६ थान मोटरसाइकल बरामद गरिएको एसपी ढकालले जनाए ।


ठूलो तस्कर रोकिए पनि सानाले स्थानीय प्रशासनलाई चुनौती थपेको छ । उनीहरू भरिया र साना सवारी प्रयोग गर्छन् । यसले प्रहरीलाई झुक्याउने गर्छ । घरायसी सामान भन्दै तस्कर उम्कन खोज्ने गरेको पाइएको छ । सशस्त्र र नेपाल प्रहरीको तथ्यांक हेर्दा ५ महिनाको अवधिमा पक्राउ परेको सामान र मानिसबारे खुद्रा तस्कर सक्रिय भइरहेको देखिन्छ ।


जिल्ला प्रहरी गौरले सीमावर्ती भारतबाट अबैध रूपमा भित्र्याउन खोजेको १ करोड २२ लाख ४० हजार मूल्य बराबरका मालसामान सहित १२ जना भरियालाई पक्राउ गरिएको जनायो । गएको साउनयता ५ महिनाको अवधिमा प्रहरीले यति धेरै सामान बरामद गरेको हो । जिल्ला प्रहरी प्रमुख एसपी कदार ढकालले सीमा क्षेत्रबाट हुने तस्करी रोक्न कुनै कसर बाँकी नराखेको दाबी गर्छन् ।


‘अबैध सामान ओसारपसारले राज्यकै राजस्वमा प्रतिकूल असर पर्छ,’ उनले भने, ‘तस्कर नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न स्थानमा चेकजाँचमा कडाइ गरेको छ । अवैध कारोवारलाई निरुत्साहित गर्न सुरक्षाकर्मी चुकेको छैन ।’ डीआईजी पालले प्रदेश २ का ८ जिल्लाका प्रहरी प्रमुख एसपीलाई कार्यालयमा बोलाई सीमा क्षेत्रको तस्कर रोक्न निर्देशन दिएका थिए । सीमामा हुने कुनै पनि गतिविधिविरुद्ध कडा रूपमा प्रस्तुत हुन भनेका थिए ।

प्रकाशित : पुस ४, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?