१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कुरीति रोक्न नाटक

बालविवाह, लैंगिक हिंसा, चोरी निकासी, पैठारी, लागूऔषध दुव्र्यसनी, दाइजो प्रथा लगायतका विकृति विसंगति अन्त्यका लागि जनचेतनामूलक अभियान 
शंकर आचार्य

पर्सा — समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कुरीतिविरुद्ध अभियानका क्रममा जिल्लाको छिपहरमाई गाउँपालिकाबाट चेतनामूलक नाटक मन्चनको सुरुवात गरिएको छ । बालविवाह, लैंगिक हिंसा, चोरी निकासी, पैठारी, लागूऔषध दुव्र्यसनी, दाइजो प्रथा लगायतका विकृति विसंगति अन्त्य गर्न तथा स्थानीयको जनचेतना वृद्धि गर्ने लक्ष्यका साथ यो अभियान सुरु गरिएको हो ।

कुरीति रोक्न नाटक

विभिन्न सामाजिक संघसंस्थासँगको सहकार्यमा थालिएको अभियानअन्तर्गत पहिलो दिन सोमबार जय हनुमान तराई विकास तथा सांस्कृतिक परिषदका कलाकारको टोलीले ‘बुझलाके बाद’ (बुझे पछि) शीर्षकको भोजपुरी नाटक मञ्चन गरेका थिए ।


रामनिवास देहातीको निर्देशनको करिब १ घण्टा लामो नाटकमा एक दर्जन कलाकारको अभिनय थियो । विकृति विसंगतिविरुद्ध चोटिलो प्रहार गरेको नाटकले चेतनामूलक सन्देशहरू पनि दिएको थियो । स्थानीयले चाख मानेर नाटक हेरेका थिए ।


बालविवाह र त्यसले उब्जाउने समस्याहरूमा केन्द्रित रहेको नाटक क्रमश: जिल्लाका अन्य गाउँ तथा नगरपालिकाहरूमा पनि प्रदर्शन गर्ने योजना छ । यसअघि प्रहरी उपरीक्षक रेवती ढकालले अपराध मानिसको सोंच र मनोवृत्तिबाटै उब्जने भएकाले सोंच परिवर्तनसँगै अपराधलाई जरैबाट निमिट्यान्न पार्न समुदायलाई आग्रह गरेका थिए ।


उनले स्थानीय चेलीबेटीहरूलाई कुनै पनि खाले दुव्र्यवहार घर, परिवार, समाजबाट भए आफूलाई तत्कालै फोनमा सम्पर्क गर्न आग्रह पनि गरे । त्यस्ता पीडकलाई आफूले तत्कालै कारवाही थाल्ने प्रतिबद्धता पनि उनले जनाएका थिए ।


प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले स्थानीयलाई अपराध लुकाउने कुरो नभएकाले त्यस्ता अपराधबारे जानकारी पाए लगत्तै प्रहरी प्रशासनलाई सूचना दिन स्थानीयलाई आग्रह गरे । सामाजिक कुरीति र त्यसले गर्दा हुने घटनाहरू घटनुअघि नै प्रहरीलाई त्यसको सूचना दिए कतिपय घटनै हुन नपाउने उनले बताए ।


सामाजिक संस्था पहलका अध्यक्ष दिलिपराज कार्कीले अपराध लुकाउने प्रवृत्तिले थप अपराध हुने भएकाले आफ्ना गाउँ समाज, छरछिमेकमा भइरहेका विकृति, विसंगतिविरुद्ध खुलेर बोल्न जनसमुदायलाई आग्रह गरे । सामाजिक अभियन्ता सुषमा तिवारी द्विवेदीले नाटकबाट दिइएको सन्देशलाई जीवनमा उतार्न समुदायलाई आग्रह गरिन् । उनले परिवर्तनको सुरुवात आफूबाटै सुरु गर्न पनि स्थानीयलाई सुझाइन् ।

प्रकाशित : पुस ४, २०७५ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?