शीतलहरले जनजीवन प्रभावित

अपराह्नसम्मै बाक्लो कुहिरो
निमोनियाँ, दम, कोल्ड डाइरियाका बिरामीको चाप

सिरहा र महोत्तरी — चिसो मौसमको सुरुवातसँगै तराईमा शीतलहर सुरु भएको छ । बाक्लो हुस्सुसँगै हावा चल्दा शीतलहर सुरु भएको हो । गत सोमबारदेखि जाडो बढे पनि बुधबारदेखिको चिसो सिरेटोले जनजीवन कष्टकर बनेको छ ।

शीतलहरले जनजीवन प्रभावित

सिरहाको तापक्रम बुधबार ६ देखि १२ डिग्री सेल्सियसमा रह्यो । बिहानीपख चिसो बढेपछि प्रात:कालीन व्यायाममा निस्कने स्थानीयको संख्यामा कमी आएको छ । चिसोका कारण बजार क्षेत्रमा चहल पहलमा कमी आएको छ । चोक चोकमा सर्वसाधारण आगो बालेर ताप्न थालेका छन् ।


‘दुई दिन अघिसम्म त हल्का चिसो मात्रै थियो तर आजदेखि शीतलहरका कारण एक्कासि चिसो बढेको छ,’ रामकुमार उमाप्रसाद स्मारक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल कुशवाहाले ‘यस्तो मौसममा कोल्ड डायरिया, निमोनियाँ, ज्वरो र रुघाखोकीका बिरामीलाई साहै सताउँछ ।’


जाडोबाट बढी मात्रामा दमका रोगी, वृद्धवृद्धा र बालबालिकालाई सताउने भएकाले सर्वसाधारणलाई चिसोबाट जोगिन चिकित्सकले सुझाएका छन् । जिल्ला प्रशासन कार्यालय सिरहाले शीतलहर सुरु भएलगत्तै सर्वसाधारणलाई चिसोबाट सुरक्षित रहन अपनाउनुपर्ने सम्पूर्ण उपाय अवलम्बन गर्न जिल्लाका १७ वटै स्थानीय तहमा परिपत्र गरेको छ ।


‘सबै स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा बसेको बैठकमा हामीले आआफ्नो क्षेत्रका चिसोपीडितलाई राहत कसरी पुर्‍याउने भन्नेबारे छलफल चलाइसकेका छौं,’ सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने, ‘त्यसबारे हामीले यहाँबाट सबै स्थानीय तहलाई परिपत्र त पठायौं तर कसैले पनि जवाफ फर्काएका छैनन् ।’


नेपाल रेडक्रस सोसाइटी सिरहा शाखाका सभापति राजदेव यादवले शीतलहरबाट प्रभावितका लागि व्यवस्था गर्नुपर्ने कम्बल तथा खाद्य सामग्री केही मात्रामा भए पनि तयारीको अवस्थामा रेडक्रसले राखेको भए पनि यसतर्फ स्थानीय तहले विचार पुर्‍याउनुपर्ने बताए ।


बाक्लो हुस्सुबाट सवारी दुर्घटना निम्तिने खतरा बढी भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले साधनका चालकलाई यस बेला हेडलाइट बालेर मात्र सवारी साधन गुडाउन सूचना सम्प्रेषण गरेको छ ।


अधिकारकर्मी राजकुमार राउत कुर्मीले केही परिवारलाई मात्र कम्बल वितरण गर्ने र दाउरा वितरण गरेर वर्षेनी झारा टार्नुको साटो शीतलहरबाट बच्ने उपायबारे गरिब, दलित, सुकुम्बासी बस्तीमा जनचेतना अभियान सञ्चालन गर्नुपर्ने र न्यानो कपडा खरिदका लागि सहयोग गर्नुपर्ने सुझाए ।


बिरामी बढे


पुससँगै सुरु भएको शीतलहरले तराईको जनजीवन प्रभावित भएको छ । चिसो स्याँठ, बाक्लो कुहिरोले सडकमा चहलपहल पातलिएको छ ।


महोत्तरीको तापक्रम बुधबार बिहान ८ डिग्री सेल्सियसमा झरेको छ । सोमबारदेखि चलेको पश्चिमा स्याँठले जनजीवनलाई अझ कष्टकर बनाएको छ । बिहानैदेखि लाग्ने बाक्लो कुहिरो अबेरसम्म रहँदा जाडो अत्यधिक बढेको छ । अपराह्नतिर कुहिरो फाटदा जनकपुर विमानस्थलबाट भने जहाज उडान भइरहेको छ ।


महोत्तरीमा चिसोका बिरामी बढेका छन् । अस्पताल तथा स्वास्थ्यकेन्द्रमा निमोनियाँ, दम, कोल्ड डाइरियाजस्ता बिरामीको चाप बढदै गएको छ । चिसोको असर चौपाया र हिउँदे बालीमा समेत परेको छ ।


जिल्ला स्वास्थ्य प्रमुख डा. राजीव झाका अनुसार महोत्तरीका स्वास्थ्य संस्थामा दैनिक ३ सयजति चिसोबाट प्रभावित बिरामी आउने गरेका छन् । गौशाला, समसी, बर्दिबास, मटिहानी, लोहरपट्टी, औरहीलगायत ग्रामीण भेगका प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्यचौकीमा समेत यस्ता रोगीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।


‘यो वर्ष जाडो हवात्तै बढेकाले पनि चिसोका बिरामी थपिएका हुन्,’ डा. झाले भने । अस्पतालका अनुसार चिसो लागेर उपचारमा आउने बिरामीमा ७० प्रतिशत ५ वर्षमुनिका र २८ प्रतिशत ६५ वर्ष पुगेका छन् । बालबालिकामा श्वासप्रश्वास, कोल्डडाइरिया, रुघाखोकीजस्ता समस्या अधिक देखिएको छ । पाका उमेरलाई दम, शरीरका अंग राम्ररी नचल्ने, अचेत हुनेलगायत समस्या छन् । धूमपानका अम्मली वृद्धवृद्धा चिसोबाट बढी पीडित बनेको डा. झाले जनाए ।


जाडोबाट जोगिन न्यानो कपडा लगाउन, झोल (तातो) पदार्थ बढी खान, काम नपरी घरबाट बाहिर ननिस्कन चिकित्सकले सल्लाह दिएका छन् ।


बुधबार अपराह्न केहीबेर मधुरो घाम देखा परे पनि पश्चिमा स्याँठले जनजीवनमा प्रभाव पारेको छ । त्यसमा बाक्लो कुहिरोले गर्दा हिँडडुल गर्न समेत असहज बनेको छ । काम छोडेर सडक छेउछाउ घुर (आगो) बालेर ताप्ने क्रम बढेको छ । स्थानीय शिक्षकका अनुसार विद्यालयमा विद्यार्थीको उपस्थिति पातलिँदै गएको छ ।


सरकारी कार्यालयमा पनि सामान्य दिनको तुलनामा सेवाग्राहीको चाप कम देखिएको छ । न्यूनतम र अधिकतम तापक्रममा खासै फरक नहुँदा अत्यधिक जाडोको महसुस भइरहेको मौसमविज्ञको भनाइ छ ।

प्रकाशित : पुस ५, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?