१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

भारतीय नोटबन्दीको प्रभाव : पर्यटन र उपचारमा समस्या

‘ठुला दरका नोटमा प्रतिबन्ध लगाएपछि पर्यटन उद्योगमाथि नकारात्मक प्रभाव पर्ने स्वाभाविक हो ।’

जनकपुर — ढल्केबरस्थित छोरीको घरबाट आफ्नो गाउँ फर्किंदै गरेका भारत मधुवनी, राजनगरका ६० वर्षीय नागेश्वर महतोसँग बुधबार बस कन्डक्टरले भाडा मागे । आफूसँगै आएका एक अर्का यात्रीतर्फ औंल्याउँदै उनले दुई जनाको टिकट काट्न भनी २ सय भारतीय रुपैयाँको नोट कन्डक्टरलाई थमाए ।

भारतीय नोटबन्दीको प्रभाव : पर्यटन र उपचारमा समस्या

कन्डक्टर कडकिए, ‘बसबाट तल झर्नोस् । यो नोट चल्दैन ।’ महतो दंगदास परे । नोट नक्कली पो हो कि ? उनी डराए तर कन्डक्टरले सम्झाए । अब सयबाहेकको भारतीय नोट चल्दैन । बिचरा, अर्का यात्रीले उनको नोट साटिदिएपछि उनले जनकपुरसम्मको यात्रा तय गर्न पाए ।


नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित जानकी आँखा अस्पतालमा मंगलबार एक भारतीय बिरामीले यस्तै पीडा भोग्नुपर्‍यो । भारतको सीतामढीबाट आमाका आँखाको मोतिविन्दुको शल्यक्रिया गराउन यहाँ आएका रामेश्वर पाण्डेले काउन्टरमा बुझाएको ५ सय भारतीय रुपैयाँको नोट लिन कर्मचारीले मानेनन् ।


मंगलबार बिहान रामचौकस्थित ईश्वर साहको चिया पसलमा नास्ता र चिया खाएपछि पाँच सयका नोट थमाएका राजस्थानका पर्यटकलाई सास्ती भोग्नुपर्‍यो । धन्य, गोपाल धर्मशालामा बास बसेका अन्य साथीसँग सयको नोट ल्याए अनि बल्ल उनीहरूलाई फिर्ता जान दिइयो ।


नेपाल सरकारले एक सयमाथिका अन्य नोटको चलनमा रोक लगाए यता यहाँका पर्यटन, उद्योग धन्दा, अस्पताल तथा यातायात व्यावसाय प्रभावित भएका छन् । खुला सीमाका कारण एक देशका नागरिक अर्को देशको बाजारमा खुला रूपमा सरसामान खरिदबिक्री गर्ने चलन छ ।


सीमावर्ती नेपाली गाउँमा त अझै पनि जग्गा बिक्री, दाइजो, गाईगोरुको खरिद भारतीय रुपैयाँमै हुन्छ । यसका अतिरिक्त दुवै देशका नागरिक एक अर्को देशमा शिक्षा, स्वास्थ्य तथा घरव्यवहारका लागि निरन्तर आउजाउ गरिरहन्छन् ।


गत वर्ष जानकी आँखा अस्पतालमा वार्षिक जाँच तथा शल्यक्रिया गराउन आएका कुल १ लाख २५ हजार आँखाका बिरामीमध्ये झन्डै ४५ हजार भारतीय थिए । आँखा अस्पतालबाट प्राप्त जानकारीअनुसार गत वर्ष १० हजार बिरामीलाई आँखाको शल्यक्रिया गरिएको थियो । तीमध्ये झन्डै ४ हजार भारतीय थिए ।


आँखाको शल्यक्रिया गराउनेहरू न्यूनतम ३ हजारदेखि १५ हजारसम्म भारतीय रुपैयाँ खर्च गर्छन् । यति ठूलो परिमाणको सयको नोट ल्याउनु व्यावहारिक नभएको जानकी आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्वसंविधानसभा सदस्य डा. विजयकुमार सिंहको कथन छ ।


‘ठूला दरका नोट बन्द गर्दा जानकी आँखा अस्पतालमा बिरामीको संख्या झन्डै आधा घट्छ । अस्पतालको आर्थिक अवस्था पनि धाराशायी हुन्छ,’ डा. सिंहले भने । समस्या समाधानका लागि भारतीय दूतावास तथा नेपाल सरकारसँग कुरा गर्ने उनले बताए ।


यद्यपि यसअघि पनि सयभन्दा माथिका भारुको कारोबार बैंकमार्फत हुने गरेको थिएन तर अस्पताल, पर्यटनलगायत अन्य उद्योगमा जम्मा हुने भारतीय रुपैयाँ यहाँका आधिकारिक मनिचेन्जरले खरिदबिक्री गर्थे । अझ भारतीय रुपैयाँको बिक्रीदर बढी नै हुने गरेको थियो तर ठूला दरका भारतीय रुपैयाँ संकलन गर्न समेत रोक लगाएका कारण अचेल मनिचेन्जर सञ्चालकले समेत ठूला दरका भारतीय रुपैयाँ खरिद गर्न रोकेका छन् ।


सरकारले पर्यटन उद्योगलाई बढावा दिने नीति लिए पनि पर्यटकलाई हतोत्साहन गर्ने मुद्रा नीति ल्याएको आरोप नेपाल उद्योग वाणिज्य संघ, प्रदेश २ का अध्यक्ष शिवशंकर साह हीराको छ । उनले ठूला दरका नोट बन्द नै गर्नुपर्ने भए सीमानाकामा दुवै देशले नि:शुल्क रकम सटही काउन्टर खोल्नुपर्ने सल्लाह दिएका छन् ।


‘नेपालका हजारौं विद्यार्थी भारतमा पढ्छन् । हजारौं औषधि उपचार र तीर्थाटन लागि भारत जान्छन् । हजारौं भारतीय आँखा उपचारका लागि नेपाल आउँछन् । लाखौं पर्यटक एक अर्को देशमा आउँछन् र जान्छन् । ठूला दरका नोट प्रतिबन्धले सबै प्रभावित हुन्छ,’ हीराले भने ।


अर्थशास्त्रले ‘पोर्टेब्लिटी (राख्ने सुविधा) लाई असल रुपैयाँको मुख्य विशेषता मानेको छ । ठूला दरका रुपैयाँ ल्याउन र खर्च गर्न सजिलो भएकाले शिक्षा, स्वास्थ्य, पर्यटन आदि प्रयोजनमा ठूला दरका नोटको अत्यधिक प्रयोग हुँदै आएको थियो । अर्थशास्त्री डा.भोगेन्द्र झा सरकारको यस निर्णयबाट मुलुकको पर्यटन व्यवसायमाथि नकारात्मक प्रभाव पर्ने बताउँछन् ।


‘नेपालको पर्यटन उद्योग भारतमाथि आधारित हो । स्थलमार्गबाट नेपाल आउने भारतीय पर्यटकको संख्या अत्यधिक छ । भिसा पासपोर्ट नलाग्ने भएकाले उनीहरूको रेकर्ड पनि हुँदैन । ठूला दरका नोटमाथि प्रतिबन्ध लगाएपछि पर्यटन उद्योगमाथि नकारात्मक प्रभाव पर्नु स्वाभाविक हो,’ उनले भने ।


नेपाली बाजार अझै पनि ‘क्यासलेस’ हुन नसकेका कारण कम्तीमा पनि २ सय र ५ सय दरका नोटको सञ्चालनमाथि रोक लगाउन नहुने उनको सल्लाह छ । नेपाल सरकारको यस निर्णयबाट दुई देशको सम्बन्धमा समेत प्रभाव पर्न सक्ने चेतावनी डा.झाले दिएका छन् ।

प्रकाशित : पुस ५, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?