३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

हिरासतमा अनशन

लक्ष्मी साह

बारा — ज्यान मार्ने उद्योग मुद्दामा तीन दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका २ स्थानीय नेता हिरासत कक्षमै आमरन अनशन सुरु गरेका छन् । 

पचरौता नगरपालिका–७ बेनौलीका प्रभुनाथ पटेल र जलन्धर सिंह हिरासतमा अनशन बसेका हुन् । पचरौता नगरपालिकामा कात्तिक ७ मा अस्पताल बनाउने विषयमा भएको दुई पक्षीय झडपमा २ जना घाइते भएको घटनालाई लिएर प्रहरीले उनीहरूमाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको थियो ।


आफूहरू निर्दोष भएको दाबी गर्दै निशर्त रिहाइको माग सहित उनीहरू अनशन बसेका हुन् । स्थानीय केही जनप्रतिनिधिले प्रशासनसँग मिलेर रिसइबी साध्न आफूहरूलाई फसाएको दुबै नेताले अदालत परिसरमा सञ्चारकर्मीहरूसँग बताए ।


सिंह पचरौता नगरपालिकामा तत्कालीन माओवादीका तर्फबाट मेयरको उम्मेदवार हुँदै प्रदेश सभा सदस्यमा स्वतन्त्रबाट उम्मेदवार थिए । यसैगरी पटेल कलैयास्थित रामराजा मोहन विक्रम बहुमुखी क्याम्पसको सञ्चालक समितिका अध्यक्ष हुन् ।


नी नेविसंघका पूर्वकेन्द्रीय सदस्यसमेत हुन् । दुबै नेताको पक्राउको विरोधमा स्थानीयले रिहाइको माग गर्दै प्रदर्शन गर्दै आएका छन् । ‘केही जनप्रतिनिधिले प्रशासनलाई प्रयोग गरी रिसइबी साध्न झूटो मुद्दा लगाएर उनीहरूको चरित्रमाथि खेलवाड गरिदैँछ,’ राजपाका सहमहामन्त्री जितेन्द्र सिंहले भने, ‘ज्यान मार्ने उद्योग घटनामा दुबै नेता सलग्न नै छैन ।’


नगरपालिकामा विकासको मुद्दा उठानलगायत नगरपालिकाबाट भए/गरेका अनियमिततालाई दुबै नेताले उजागर गरेकोले रिसइबी साध्न फसाइएको उनको भनाइ छ । ‘जनप्रतिनिधिहरूले आफूले गरेको अनियमिततालाई ढाकछोप गर्न आवाज उठाउनेलाई फसाएका छन्,’ उनले भने ।


सयौंको संख्यामा गाउँबाट आएका स्थानीयले निर्दोषलाई फसाउन पाइँदैन भन्दै कलैया नगरमा आइतबार प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई भेटेर घटना विवरण सुनाएका थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत माछा सुपर जोन सञ्चालक समितिको सधारणसभामा सहभागी हुने क्रममा दुबैलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए ।


प्रहरीले दुबैमाथि थप अनुसन्धान गर्न मंगलबार अदालतबाट दोस्रो पटक चार दिनका लागि म्याद लिई हिरासतमा राखेको छ । ‘गत कात्तिक ७ गते पचरौता नगरपालिकामा झडप हुँदा पक्राउ परेका दुबै जनाको संलग्ता रहेको पीडितबाट उजुरी परेपछि अनुसन्धानका लागि पक्राउ गरेका छौं,’ उनले भने, ‘मुद्दा अनुसन्धान गरी अदालतमा पेस गर्छाैं,’ प्रहरी उपरीक्षक भट्टराईले भने ।


कात्तिक ७ मा पचरौता नगरपालिकामा अस्पताल बनाउने विषयमा दुई पक्षबीच झडप हुँदा पचरौता नगरपालिका–४ का दाजुभाइ रमेश यादव र नवलकिशोर यादवको टाउकोमा गम्भीर चोट लागेको थियो । पीडितले पक्राउ परेका दुबै आरोपितमाथि प्रहरीमा किटानी उजुरी दिएका थिए । त्यसैले प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित : पुस ६, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?