१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

महोत्तरीबाट राष्ट्रिय परिचयपत्र बाँडिदै

महोत्तरी — संघीय सरकारले महोत्तरीमा यसै वर्षदेखि राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । आगामी २ वर्षभित्र मुलुकका सबै नागरिकलाई यो सुविधा पुर्‍याउने लक्ष्य छ । 

जसमध्ये चालु आवमा महोत्तरीसमेत १५ जिल्लाका ३५ लाख नागरिकलाई यो परिचयपत्र वितरण गर्ने सरकारी योजना रहेको राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागले जनाएको छ ।


महोत्तरी सदरमुकाम जलेश्वरस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा शुक्रबार आयोजित कार्यक्रममा विभागका निर्देशक चोमेन्द्र न्यौपानेले महोत्तरीका ६ लाख २७ हजार जनसंख्यामध्ये १६ वर्षमाथिका ३ लाख ७७ हजार ७ सय ४० जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिने बताए ।


सबै नागरिकले सहज र झन्झटरहित तरिकाले परिचयपत्र पाउन भनेर प्रशासन कार्यालयमा समेत विवरण संकलनको व्यवस्था रहने जनाइएको छ । महोत्तरीका १५ वटा स्थानीय तह छ । ती तहमा रहेका १ सय ३८ वटै वडामा प्राविधकसहितको टोली पुगेर विवरण संकलनको तयारी गरिएको न्यौपानेले जनाए ।


चिप्ससहितको परिचयपत्रमा व्यक्तिको १९ प्रकारको विवरण समावेश हुने भएकाले परिचयपत्र बोकेपछि अन्य सरकारी प्रमाण बोक्नुपर्ने झन्झट नहुने, औठाको छाप लगाएपछि व्यक्तिका आवश्यक सबै जानकारी पाइनेलगायत सुविधा हुनेछन् ।‘भारतसमेत विश्वका सय बढी मुलुकले अपनाइसकेका यो परिचयपत्रको महत्त्व बहुआयामिक भएकाले वितरण अभियानलाई सफल पार्नु हामी सबैको दायित्व हो,’ न्यौपानेले भने ।


कार्यक्रमका सहभागीले अभ्यासमा आइनसकेको नयाँ परिचयपत्रबारे अनेकन जिज्ञासा राखेका थिए । संघीय समाजवादी फोरमका महोत्तरी अध्यक्ष रामनरेश यादवले नेपालमै बसोबास भएका तर नगरिकताबाट वञ्चितका लागि परिचयपत्र वितरणमा व्यवस्था कस्तो छ भन्ने जिज्ञासा राखेका थिए ।


न्यौपानेले सुरुमा नागरिकताको आधारमा परिचयपत्र वितरण गरिने बताए । यसपछि नागरिकता नभएका तर नेपालभित्र बसोबास गरेका लागि समेत छुट्टै प्रकारको परिचयपत्र वितरणको तयारी भएको उनले जनाए । हालका लागि राष्ट्रिय परिचयपत्र नागरिकताको विकल्प र विस्थापन नभएको उनको भनाइ थियो ।


‘नागरिकता र राष्ट्रिय परिचयपत्रबीच अन्तर रहेकाले दुवैको महत्त्व र दायरा पनि फरक छन्,’ न्यौपानेले भने । महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले प्रविधियुक्त राष्ट्रिय परिचयपत्रले व्यक्तिगत हितका साथै स्वच्छ प्रशासन र छरितो सेवा प्रदानमा समेत सहयोग पुग्ने धारणा राखे । सवै नागरिकको हातमा यो परिचयपत्र पुगेपछि अपराध न्यूनीकरण र सुरक्षा व्यवस्थापन र सुशासन कायम गर्नसमेत मद्दत पुग्ने ढकालले बताए ।


जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुरेशप्रसाद सिंहले पहिलो चरणमै महोत्तरीलाई राष्ट्रिय परिचयपत्र वितरणका लागि छनोट गरिएकोमा खुसी व्यक्त गरे । उनले प्रविधियुक्त राष्ट्रिय परिचयपत्र सुरक्षाको दृष्टिले मात्र महत्त्वपूर्ण नभई समृद्ध समाज निर्माणमा समेत योगदान पुग्ने बताए ।

प्रकाशित : पुस ७, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?