कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

धानको मोलतोल खेतमै

बारा र पर्सा — कोल्हवी नगरपालिका–९ श्रीपुरका प्रमोद चौधरी आफ्नो धान काटेर खेतमा सुकाउन नपाउँदै उनको घरमा बुधबार गाउँकै गल्ला व्यापारी सुमेश चौधरी पुगे । प्रमोद व्यापारीसँगै खेतमा गए । 

धानको मोलतोल खेतमै

दुवैबीच खेतमै धानको मोलतोल भयो । प्रतिक्विन्टल २ हजार ३ सयको दरले खरिदबिक्री गर्ने कुरा मिल्यो । कुरा मिलेपछि प्रमोदले उतिखेरै धान दाइँ गर्ने मेसिन (हडामा) ल्याए । र दाइँ गरेर ५० मन (२० क्विन्टल) धान खेतमै बिक्री गरे ।


सोना मन्सुली जातको ४६ हजार बराबरको २० क्विन्टल धान उनले खेतमै बिक्री गरे । ‘खेतीमा भएको खर्च, छोराछोरीको पढाइ खर्चलगायत उधारो पैंचो गरेकोलाई फिर्ता गर्नुथियो । त्यसैले खेतमै बिक्री गरें,’ प्रमोदले भने, ‘धान भकारीमा भित्र्याउन नपाउँदै खेतबाटै बिक्री भयो । किसानको आफ्नै व्यथा छ ।’


प्रमोद मात्र खेतमै धान बिक्री किसान होइनन्, उनी जस्ता अधिकांशले यसैगरी खेतमै धान बिक्री गर्न थालेका छन् । उनी जस्ता थुप्रैको दैलोको भकारी रित्तो छ । पहिलेपहिले किसानले घरमा धान नल्याइ बिक्री गर्दैन्थे ।


हुनेखाने गाउँका महाजनले एक सिजनको धान अर्को सिजनमा बिक्री गर्थे । त्यतिन्जेल भकारी मै जतन गरेर राख्थे । ‘अब त्यो दिन हरायो । किसानले एक त महँगो खर्च बेहोरेर उत्पादन गर्छन्, त्यसमा पनि धान थन्काएर राख्यो भने झन् पोसाउँदैन,’ प्रमोदको धान खरिद गर्न खेतमै पुगेका कोल्हवी–९ श्रीपुर गाउँकै गढीमाई गल्ला भण्डारका साहु (व्यापारी) सुमेश चौधरीले भने, ‘किसानले धान भकारीमा जतन गर्‍यो भनेपछि भाउ पनि बढ्दैन । र, किसानमाथि ऋणको भार थपिँदै जान्छ । त्यसैले खेतमै बिक्री गर्ने चाहना राखिरहेका छन् ।’


सिम्रौनगढ–८ कचोर्वाका अर्का गल्ला व्यापारी सिकेन्द्र यादवले भने उनको भन्दा फरक आवश्यकताले किसानले खेतमै धान बिक्री गर्ने गरेको सुनाए । उनका अनुसार किसानसित कृषि मजदुरको अभाव, धानको रकम ब्याजमा लगानी गर्न वर्षभरि खान पुग्नेबाहेक धान खेतमै बिक्री गर्न थालेका हुन् ।


‘कतिपयले धानको बाला खेतमा झुल्न नपाउँदै व्यापारीसित किसानले पछि धान बिक्री गर्ने गरी पेस्कीसमेत लिने गरेकाले खेतमै बिक्री गर्नुपर्ने कतिपयको बाध्यता हुन्छ,’ उनले भने, ‘कृषि मजदुरमा लगानी गरेर धान घरमा भित्र्याउने, वर्षभरि भकारीमै राखिराख्ने झन्झटबाट मुक्त हुन किसानले खेतमै धान बिक्री गरिरहेका छन् ।’


किसानको दैलोमा ठूलो भकारी र खलिहानमा परालको थुप्रो हेरेर कुन किसानको हैसियत कति छ भने अनुमान लगाइन्थ्यो । खेतमै धान बिक्री हुन थालेपछि अब त्यस्तो अनुमान लगाउन गाह्रो भएको सिम्रौनगढ नगरपालिका–११ स्थित नेराप्राविका शिक्षक प्रदीपप्रसाद यादवले बताए ।


‘गाउँका महाजनले पहिलेपहिले रकम जस्तै धान लगानी गर्थे । धानै असुल गर्थे । अब त्यो चलन हराउँदै गएको छ । धान व्यापारीमार्फत सीधै मिलमा पुगेर चामल तयार भइरहेको छ ।’


संस्थानलाई बेचेनन्

धानको खरिद मूल्य कम निर्धारण गरिएपछि यस वर्ष किसानले खाद्य संस्थानलाई धान बिक्री गर्न रुचि देखाएका छैनन् ।


बिक्री खुला गरेको ३ सातामा संस्थान वीरगन्ज शाखाले जम्मा ४ सय १० क्विन्टल मात्र सोना मन्सुली धान मात्र खरिद गर्न सकेको छ । बिहीबारसम्ममा यति मात्र धान खरिद भएको हो । शाखाले मंसिर १३ बाट धान खरिद सुरु गरेकोमा मंसिर १९ देखि मात्र किसानले बिक्रीका लागि शाखामा धान ल्याएका हुन् ।


संस्थान केन्द्रीय कार्यालयले यस वर्ष सोना मन्सुली धानको खरिद मूल्य प्रतिक्विन्टल २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा निर्धारण गरेको छ । सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्यलाई आधार मानेर संस्थानले यस वर्ष मुलुकभरीका आफ्ना शाखामा सोना मन्सुली धानको खरिद मूल्य निर्धारण गरेको हो । शाखालाई यस वर्ष १५ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने कोटा पाएको शाखाका निमित्त प्रमुख अम्बिका प्रसाद घिमिरे बताउँछन् ।


तर किसानमा संस्थानलाई धान बेच्ने उत्साह नरहेको उनले पनि स्विकारे । हाल किसानले भर्खरै धान बाली भित्र्याएको र जाडो पनि रहेकाले किसानले धानको मूल्य वृद्धि हुने आशाले ‘पर्ख र हेर’ को नीति अपनाएको हुन सक्ने उनले बताए । विगतमा सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेपछि व्यापारीले धानको खरिद मूल्य निर्धारण गर्ने चलन रहेको उनले बताए ।


हाल पनि बजारमा सोना मन्सुली धानको खरिद मूल्य प्रतिक्विन्टल २ हजार ४ सयदेखि २ हजार ४ सय ५० रुपैयासम्म रहेकाले संस्थानको खरिद मूल्य कम भने नरहेको उनले दाबी गरे । ‘बजारको मूल्यभन्दा हाल पनि संस्थानको खरिद मूल्य अझै पनि बढी नै छ,’ उनले भने, ‘सम्भवत: पुस बितेपछि किसानले संस्थानलाई धान बिक्री गर्न ल्याउने छन् ।’


गत वर्ष नै शाखाले सोना मन्सुली धानको खरिद मूल्य २ हजार ५ सय २५ रुपैयाँ निर्धारण गरेको थियो । गत वर्ष शाखाले १० हजार क्विन्टल सोना मन्सुली धान खरिद गरेको थियो । तर यस वर्ष भने सोना मन्सुली धानकै खरिद मूल्य गत वर्षको भन्दा ६५ रुपैयाँ कम निर्धारण गरेको छ । यस वर्ष पर्साको पिपरा, बसन्तपुर, बाराको पटेर्वा क्षेत्रका किसानले धान बिक्री गर्न ल्याएको घिमिरले बताए ।

प्रकाशित : पुस ७, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?