कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुहिरोको बेला हेडलाइट अनिवार्य

पवन यादव

सिमरा — बाक्लो कुहिरो लागेका बेला राजमार्ग तथा भित्री सडकमा सवारी चलाउँदा अनिवार्य हेडलाइट, इमर्जेन्सी लाइट बाल्नुपर्ने ट्राफिक प्रहरीले सवारी चालकलाई सचेत गराएको छ । ‘दुर्घटना घटाऔं, ज्यान जोगाऔं’ भन्ने मूल नाराका साथ अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाले शनिबार कलैयामा आयोजना गरेको जनचेतनामूलक तालिममा सहभागी चालकलाई यसरी सुझाइएको हो ।

कुहिरोको बेला हेडलाइट अनिवार्य

केही दिनयता बढेको जाडोसँगै बिहान, बेलुका बारा सदरमुकाम कलैया लगायत जिल्लाभरि नै बाक्लो कुहिरो लाग्ने गरेको छ । बाटो नै नदेखिने गरी ४/५ दिनयता बाक्लो कुहिरो लाग्न थालेपछि सवारी दुर्घटनाको जोखिम बढेको अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाका प्रमुख सई दिपेन्द्र कुमार साहले बताए ।


‘कुहिरो लाग्ने क्रम बढेसँगै सवारी दुर्घटनाको जोखिम बढेको छ,’ उनले भने, ‘कुहिरो लागेका बेलामा सवारी चलाउँदा ध्यान दिनुपर्ने सूचना चालकलाई दियौं ।’ यसरी समयमै सवारी चालकलाई सचेत गराउँदा सम्भावित दुर्घटना घटाउन सक्ने विश्वास ट्राफिक प्रहरीले लिएको उनले बताए ।


पछिलो समय सवारी चालकले ट्राफिक नियमको पालना नगर्दा कलैया लगायत आसपासका क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढेको देखिएको थियो । ट्राफिक नियम उल्लंघन गर्दै हिँडने सवारी चालकलाई तालिम दिएर सचेत गराएका छौं । तालिम लिएर पनि ट्राफिक नियम उल्लंघन गर्नेलाई कानुनी कारवाही गर्न चेतावनी समेत चालकहरूलाई दिइएको उनले जानकारी दिए ।


ट्राफिक नियमबारे सामान्य जानकारी समेत हासिल गर्न नसकेका चालकहरूले तालिमबाट धेरै फाइदा पुगेको बताएका छन् । चार महिनादेखि आफ्नै लगानीमा टेम्पो खरिद गरी आफैं चलाउँदै आएका सुवर्ण गाउँपालिका ५ औरैयाका रामाशंकर साहले तालिम आफ्ना लागि फाइदाजनक सावित भएको बताए ।


‘ट्राफिक नियमबारे आफूलाई खासै ज्ञान थिएन,’ उनले भने, ‘तालिममा सहभागी भएपछि धेरै जानकारी पाएँ ।’ सवारी चलाउँदा सवारी चालक अनुमतिपत्र, सवारीको ब्लु बुक, बिमाको कागजात अनिवार्य सँगै राख्नुपर्छ । जथाभावी सवारी पार्किङ गर्नु हुँदैन । यात्रु चढाउन बाटैमा सवारी रोक्नु हुँदैन ।


सडकमा जथाभावी सवारी घुमाउनु हुँदैन । सवारी रोक्दा अनिवार्य पार्किङ बत्ती बाल्नुपर्ने लगायतका बारेमा तालिममा जानकारी पाइएको उनले बताए । आफूले सिकेको जानकारी अन्य चालक साथीलाई पनि जानकारी गराउने उनले प्रतिबद्धता जनाए ।


अहिलेसम्म सवारी चालक अनुमतिपत्र लिन नसकेका उनले ना२ह १८४५ नम्बरको पेट्रोल टेम्पो सञ्चालन गरेर परिवारको गुजारा चलाउँदै आएको उनले जानकारी दिए । कुहिरो लागेका बेला आफूलगायत धेरै साथीले हेडलाइट बाल्दैनथे । अब पुरानै गल्ती दोहोर्‍याउँदा दुर्घटनामा पर्ने भएकाले उक्त गल्ती दोहोरिन दिइँदैन ।


साथीहरूलाई यसबारे सचेत गराउने उनले बताए । राजमिस्त्रीको काम गरी परिवारको गुजारा चलाउँदै आएका कलैया उपमहानगरपालिका १६ मझौलियाका मनोज साहले पछिलो समय पेसा फेरेका छन् ।


उनले ई–रिक्सा किनेर साहु र चालक आफैं बनेका छन् । उनलाई पनि सडकमा सवारी चलाउँदा पालना गर्नुपर्ने ट्राफिक प्रहरी नियमबारे जानकारी थिएन । तालिममा सहभागी भएपछि ट्राफिक नियमबारे जानकारी पाएको उनले बताए ।

‘कुहिरोले बाटो नै देखिदैन, त्यस बखत विस्तारै सवारी चलाउनुपर्छ,’ उनले भने, ‘सचेत भएर सवारी चलाउँदा चालक सहित यात्रुको ज्यान जोगाउन सकिन्छ ।’ सुरक्षित यात्रा गर्न सचेत भएर ट्राफिक नियमको पालना गर्नुपर्ने उनको जोड छ ।


६ महिनादेखि आफैंले ना२ह १९५३ नम्बरको टेम्पो खरिद गरी कलैया बजार क्षेत्रमा आफंै चलाउँदै आएका कलैया उपमहानगरपालिका ८ बरेवाका मंजुर मियाँ अन्सारीले पनि पहिलो पटक ट्राफिक नियमबारे जानकारी पाएको बताए ।

‘हामीलाई मात्र होइन, यसरी नै ठूला सवारीका चालकलाई भेला गराएर ट्रफिक नियमबारे सचेत गराउनुपर्छ,’ उनले भने, ‘उनीहरूले पनि ट्राफिक नियम उल्लंघन गर्ने गरेको देखिन्छ ।’ कतिपयले जानेर ट्राफिक नियम उल्लंघन गर्छन् भने अधिकांस चालक ज्ञानको अभावमा ट्राफिक नियमको उल्लंघन गर्ने गरेको उनले जानकारी दिए ।


यत्रुले ल्याएको सामानको जाँचबुझ गरेर मात्र आफ्नो सवारीमा लोड गर्नुपर्ने कुरा पहिलो पटक जानकारी पाएको उनले बताए । ‘यात्रुले जे बोकेर ल्याउँछन्, केही नसोधी हामीले लोड गरिदिने गरेका थियौं,’ उनले भने, ‘जाँचपडतालबिना अब सबै सामान लोड गर्दैनौं ।’

यात्रुले ल्याएको सामान प्रतिबन्धित औषधि, लागूऔषध, अवैध हातहतियार हुन सक्ने भएकाले कानुनी कारवाहीबाट बच्न अब उपरान्त सचेत रहने उनले बताए ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराको निर्देशनमा यहाँका स्थानीय सवारी चालकलाई सचेत गराउन तालिम सञ्चालन गरिएको अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाल प्रमुख साहले जानकारी दिए ।

प्रकाशित : पुस ८, २०७५ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?