कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सवा अर्ब लगानीमा औषधि उद्योग

छातापिपरामा स्थापित एभरेस्ट पेरेन्टेरल्स प्रालिको उद्योग भवन र त्यसका युनिटहरूको निर्माण अन्तिम चरणमा
शंकर आचार्य

पर्सा — पर्सा बारा औद्योगिक करिडोरमा १ अर्ब २५ करोड लगानीमा नया औषधि उद्योग स्थापना हुन लागेको छ । करिडोरका छातापिपरामा स्थापित एभरेस्ट पेरेन्टेरल्स प्रालिको उद्योग भवन र त्यसका युनिटहरूको निर्माण अन्तिम चरणमा छ । 

सवा अर्ब लगानीमा औषधि उद्योग

उद्योगका प्रमुख कार्यकारी अधिकृत उमङ्ग रानासरियाका अनुसार आउँदो असारसम्म उद्योगका भवन र सम्पूर्ण युनिट तयार गर्ने लक्ष्यका साथ हाल निर्माण कार्य जारी छ ।


‘आउदो असारसम्म उद्योग पूर्ण रूपले तयार गरेर उत्पादन समेत सुर गर्ने लक्ष्यका साथ काम भइरहेको छ,’ उनले भने, ‘उद्योग भवन र उद्योगका ५ वटै निर्माणको काम करिब सक्किन लागेको छ, हाल उपकरणहरूको लगायत अन्य प्राविधिक परीक्षणको काम पनि सँगसँगै भइरहेको छ, यसै आर्थिक वर्षभित्र हाम्रा उत्पादन बजारमा ल्याउने प्रयास हामीले गरिरहेका छौं ।’ उद्योग सञ्चालनमा आए २ सय जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।


उद्योगले ठूला र साना आकारका इन्जेक्टेबल तथा कान र आँखामा हाल्ने औषधि उत्पादन गर्ने लक्ष्य राखेको छ । यी दुबै खाले औषधि एउटै छानामुनी उत्पादन गर्ने यो उद्योग मुलुककै पहिलो र एक मात्र उद्योग हुने पनि उनले दाबी गरे ।


‘नेपालका केही कम्पनीहरूले हाल आँखा र कानमा हाल्ने औषधि तथा साना परिमाणका इन्जेक्टेबल्सहरू र केहीले ठूला आकारमा इन्जेक्टेबल्स उत्पादन गरी रहे पनि इन्जेक्टेबल औषधिमा आत्मनिर्भरताको क्षेत्रमा ठूलो लगानी हुन सकेको छैन,’ उनले भने, ‘त्यसैले यस्ता औषधिमा नेपाल परनिर्भर नै छ, यो परनिर्भरता हटाउने उद्देश्यका साथ यस क्षेत्रमा लगानी गरेका हौं ।’


उद्योगले सुरुमा १५ प्रकारका सलाइन र २५ प्रकारका साना आकारका इन्जेक्टेबल्सहरू बजारमा ल्याउने तयारी गरेको छ । उत्पादन थप्दै जाने योजना रहेको उनले बताए ।


हाल मुलुकमा ५५ औषधि उद्योग सञ्चालनमा रहे पनि यी उद्योगले स्वदेशी बजारको माग पूर्ण रूपले धानेको अवस्था छैन । झन्डै ५० प्रतिशत औषधिको बजार अझै पनि भारतीय औषधिले नै ओगटेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको गुणस्तर कायम गरि औषधि उत्पादन गर्नु आफैंमा चुनौतीपूर्ण काम रहे पनि त्यो असम्भव भने नरहेको रानासरिया बताउछन् ।


‘स्टेराइल औषधिहरूको गुणस्तर कायम गर्न झनै चुनौतीपूर्ण छ, यो चुनौतीको सामना गर्न कम्पनीले विश्वमै उत्कृष्ट मानिएका कम्पनीहरू बेक्सटर र अप्सुका आदिको अनुशरण गर्दै यी कम्पनीहरूले प्रयोग गरिरहेका प्रविधिबाटै आफना उत्पादनहरू गर्ने र विश्व बजारमा प्रतिस्पर्धा हुनसक्ने गुणस्तर कायम गर्ने लक्ष्य लिएका छौं,’ उनले भने, ‘हाम्रो लक्ष्य हाम्रा उत्पादन बिदेश निर्यात पनि हो ।’


उद्योगले विश्वमै उत्कष्ृट मानिएको युरोहेडर फ्ल्याक्सी व्यागमा सलाइन उत्पादन गर्ने उनले बताए । यस्तो प्रविधिबाट उत्पादित सलाइन दुषित हुने सम्भावना हुँदैन । यो प्रविधि महगो भएकाले उद्योगलाई ५ देखि १० प्रतिशतसम्म व्ययभार थपिए पनि स्वास्थ्यको दृष्टिले हेर्दा त्यो भार न्यून रहेको उनले बताए ।

उद्योगँंग ४ हजार वर्ग फिटको अनुसन्धान ल्याब, ६ हजार वर्गफिटको गुणस्तर नियन्त्रण ल्याब, ५२ हजार वर्गफिटको उत्पादन युनिट रहेको उनले बताए । यो क्षमतामा गुणस्तर र आत्मनिर्भरता दुवैका लागि पुग्ने पूर्वाधार रहेको उनले दाबी गरे ।


हाल लक्षित औषधिहरू उत्पादन गरेर बजार व्यवस्थापनमा सफलता मिले निकट भविष्यमै उद्योगले

अर्बुद रोग निदानका औषधिको उत्पादन पनि थाल्ने लक्ष्य राखेको उनले बताए ।


एभरेस्ट फर्मास्युटिकल्स प्रालिको २०७३ फागुनमा स्वामित्व परिवर्तन भई ७५ प्रतिशत सेयर रानासरिया समूहले लिए सँगै एभरेस्ट फर्मास्युटिकल्ससँग एभरेस्ट पेरेन्टेरल्स पनि जोडिएको हो । एभरेस्ट फर्मास्युटिकल्स प्रालिका ट्याब्लेट र क्याप्सुल आकारका गरी २५ प्रकारका औषधि हाल बजारमा छन् ।


निकट भविष्यमा क्रिम, मलम र ड्राइ सिरप पनि बजारमा ल्याउने तयारी रहेको उनले बताए । एभरेस्ट फर्मास्युटिकल्स र एभरेस्ट पेरेन्टेरल्स हाल एभरेस्ट हेल्थ केयर गु्रपअन्तर्गत सञ्चालित छन् ।

प्रकाशित : पुस १३, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?