१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

डुंगा चढेर खेत

बाराको पचरौता नगरपालिका र स्वर्ण गाउँ पालिकाको सिमाना छुट्याउने तियर नदी तर्न डुंगाको प्रयोग गर्नुपर्ने बाध्यता
स्थानीय तहमा जनप्रतिनिधिले पुल बनाउन ध्यान नदिएको स्थानीय बासिन्दाको आरोप
पवन यादव

सिमरा — पहाडी र हिमाली भेगको तुलनामा तराईका जिल्ला सुगम मानिन्छ । यहाँका सबै स्थानमा सडक पुगेको बुझिन्छ ।

डुंगा चढेर खेत

आवतजावत गर्न यहाँका बासिन्दालाई सरर...मोटरमा चढेर जाने ठाउँमा पुगिन्छ भन्ने आम बुझाइ छ । तराईका बासिन्दले दुर्गम पहाडी र हिमाली जिल्लाका जनता जस्तो गोरेटो बाटोमा हिँड्दैनन् । नदी तर्न डुंगामै यात्रा गर्छन् भन्दा हतपती कसैलाई पत्यार लाग्दैन । तर बारा जिल्लामै केही यस्ता गाउँहरू छन् जहाँ खेतमा घाँस काट्न, अन्नबाली भित्र्याउन, खेतमा ज्याला मजदुरी गर्न पुग्न डुंगा वा लचका (बासको पुल) चढ्नैपर्ने बाध्यता छ ।

बाराको पचरौता नगरपालिका र स्वर्ण गाउँपालिकाको सिमाना छुट्याउने तियर नदी तर्न स्थानीयसहितका यात्रीलाई डुंगाको प्रयोग गर्नुपर्ने बाध्यता छ । पचरौता नगरपालिका वडा नं. ७ सखुवाटका बासिन्दालाई खेतमा लगाइएको अन्न बालीको स्याहारसुसार गर्न, विषादी छर्न, बालीको अवस्था पत्ता लगाउन, गाईगोरुलाई खुवाउन हरियो घाँसको जोहो गर्न, छिमेकी गाउँ चरमोहना, मझरिया, धुरहा, तेलुकवा लगायत गाउँमा रहेका आफन्तकहाँ पुग्न नदी तर्न सधैं डुंगा चढ्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताए ।

पचरौता नगरपालिकाको सखुबाट गाउँ र स्वर्ण गाउँपालिकाको वडा नं. १ चरमोहना गाउँ पुग्न तियर र जमुनी नदी तर्नुपर्छ । एउटामा बाँसको लचका पुल छ भने अर्को नदीमा काठको डुंगा सञ्चालनमा छ ।

दैनिक २ हजारभन्दा बढी पैदल यात्री, १ हजारभन्दा बढी साइकल यात्री र ५ सयभन्दा बढी मोटरसाइकलमा यात्रुहरू डुंगा चढेर नदी ओहोर दोहोर गर्ने गरेको डुंगा सञ्चालक प्रचरौता नगरपालिका ७ सखुवाटका जगरनाथ मुखिया बीनले जानकारी दिए ।

यात्रीको पीरमर्कालाई सम्झेर उनले आफ्नै लगानीमा विगत १५ वर्षदेखि नदीमा डुंगा सञ्चालन गर्दै आएका छन् । डुंगामा चढाएर खोला तारेबापत उनले पैदल यात्रीबाट ५ रुपैयाँ, साइकल यात्रीबाट १० रुपैयाँ र मोटरसाइकल यात्रीबाट १५ रुपैयाँ सेवाशुल्क उठाउँछन् । उनले तोकेको शुल्क गाउँलेले तिर्दैनन् । बाहिरबाट आएका आगन्तुकले मात्र तिर्ने गरेको उनले बताए ।

‘गाउँलेले फिटिकै पैसा तिर्दैनन्, कोही यात्रुसँग पैसा हुँदैन उनीहरूलाई पनि सितैमा खोला तारिदिनुपर्छ,’ उनले भने, ‘कम्तीमा एक जना डुंगा चलाउने युवा बिहानदेखि बेलुकीसम्म घाट कुर्नै पर्छ ।’


सेवाशुल्क बापत उठाएको रकमले खर्च धान्न र डुंगा चलाउने युवकलाई ज्याला दिन अहिले मुस्किल पर्ने गरेको उनले दुखेसो पोखे । दिनभरि डुंगामा यात्रीलाई तारेपछि ८ सयदेखि १ हजार रुपैयाँ सेवाशुल्क बापतको रकम संकलन हुने गरेको उनले जानकारी दिए ।

एक लाख ३५ हजार रुपैयाँ लगानी गरेर डुंगा निर्माण गरेको छु । ८०/८० हजार खर्च गरेर तियर र जमुनीमा लचका समेत निर्माण गरी नदीमा लगाइएको उनले बताए । ‘स्थानीय तहले एक पैसा सहयोग गरेको छैन,’ उनले भने, ‘सहयोगका लागि पटकपटक धाएँ तर कसैले सुनुवाइ गरेनन् ।’

जनताले सेवा पाउने क्षेत्रमा स्थानीय तहले अनिवार्य खर्च गर्नुपर्ने उनको तर्क छ । जनतालाई सहज रूपले खोला तर्ने वातावरण बनाउनुपर्ने स्थानीय सरकारको दायित्व हो तर स्थानीय तहका प्रमुखले यतातिर ध्यान नै नदिएको उनले गुनासो गरे ।

तियर नदी धेरै गहिरो छ । नदी तर्ने क्रममा धेरै मानिस डुबेर ज्यान गुमाउने घटना बढेपछि आफूले गाउँलेको सल्लाहमा डुंगा सञ्चालनमा ल्याएको उनले बताए ।

नदीमा डुंगा सञ्चालनमा आएपछि गाउँलेलाई धेरै सहज भएको पचरौता नगरपालिका १ पिपरपातीका राकेश कुमार सिंहले बताए ।

‘बीनले नदीमा डुंगा सञ्चालन गरे पनि हामीलाई धेरै सहज भएको छ,’ उनले भने, ‘नदी तर्न डुंगाको विकल्प छैन ।’ नदीमा पुल नबनेसम्म डुंगा सञ्चालन गरिनुपर्नेमा उनको जोड छ । अति व्यस्त सडकमा अहिलेसम्म पुल बनाउन कुनै निकायको ध्यान पुगेको छैन । चुनावका बेलामा नेताले नदीमा पुल बनाउन योजना पार्नका लागी पहल गर्ने आश्वासन दिन्छन् ।

चुनाव सकेपछि पुलको सपना पूरा गर्न ध्यान दिँदैनन् । जनतामा बाँडेको सपनालाई बेवास्ता गरेर हिँड्ने गरेको गुनासो उनले गरे । स्थानीय तहमा निवार्चित जनप्रतिनिधिले पनि पुल बनाउन ध्यान नदिएको स्थानीय बासिन्दाले आरोप लगाए ।

पचरौता नगरपालिका ७ सखुवाटकी देवी बीन दिनहुँ खेतमा काम गर्न डुंगाको यात्रा गर्छिन् । शुक्रबार पनि उनी साँझ खेतबाट घाँस काटेर घर फर्कदै गरेको अवस्थामा भेटेकी थिइन् । ‘दिनहुँ डुँगामा यात्रा गर्दा पनि आफूले डुंगा सञ्चालकलाई पैसा तिर्नु पर्दैन,’ उनले भनिन्, ‘हामीसँग पैसा पनि माग्दैनन् ।’ पैसा नमागेपछि आफैंले जबर्जस्ती तिर्ने कुरो भएन । गाउँले भनेर नमागेको होलान् । मागेपछि तिर्नै पर्ने उनले जानकारी दिइन् ।

नदीमा पुल निर्माण गर्न सरकारले चासो देखाएर काम अगाडि बढाउनुपर्ने स्थानीय बासिन्दाले माग गरेका छन् । नदीमा पुल नहुँदा सिम्रौनगढ नगरपालिका र पचरौता नगरपालिकाको दर्जनभन्दा बढी गाउँका बासिन्दालाई झन्डै ४/५ किलोमिटर घुमाउरो यात्रा गरिनुपर्ने बाध्यता रहेको स्थानीयले जानकारी दिए ।

प्रकाशित : पुस १५, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?