२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

खेतमै सुके उखु

किसान संघको मागअनुसार उखुको मूल्य दिन नसक्ने चिनी मिल सञ्चालकले अडान लिएपछि किसान संघ र चिनी मिलबीच विवाद बल्झिएको छ
पवन यादव

सिमरा — कलैया–२४ पिपरा सरेहमा लगाइएको अधिकांश किसानको उखु समयमा नकाटिँदा खेतमै सुक्न थालेको छ । उखु सुक्न थालेपछि उखु खेती गर्न लगाएको लागनी समेत डुब्ने खतरा बढेको पीडित किसानले बताएका छन् । 

खेतमै सुके उखु

उखु बिक्री गरेर आएको पैसाबाट खेत थप्ने, छोरीको विवाह गर्ने, साहु, बैंकबाट लिएको कर्जा तिर्न लगायत कामको लागि पर्खेका किसानहरू अहिले सबभन्दा बढी चिन्तित बनेका छन् । ‘धेरै आशा राखेर उखु खेती गरेको थिए,’ कलैया उपमहानगरपालिका १६ मझौलिया निवासी महिला किसान कलावती रामले भनिन्, ‘यसपाली खेतको भाडा तिर्न पनि मुस्किल पर्छ ।’


अरूको खेतलाई हुन्डा (भाडा) मा लिएर उनले उखु लगाएको बताइन् । उखु सुक्न थालेपछि जग्गाको भाडा, उखु कटानी, ढुवानी गर्न मजदुरी खर्च र भाडा कसरी पुर्‍याउने हामीसामु चुनौती खडा भएको उनले दुखेसो पोखिन् ।


उनको मात्र होइन । उनका गाउँलेहरू सत्ये देव महतो, रामराज महरा, सुबोध महतो, रामदेव महतो लगायतका किसानको उखु समेत सुकेको स्थानीय किसानले जानकारी दिएका छन् । सबैलाई उखु छिटोभन्दा छिटो सुक्दै गरेको उखु बिक्री गर्ने चिन्ता थपिएको छ ।


कलैया उपमहानगरपालिका २४ श्रीपुरका गोपी महराले डेढ विगाहा जग्गामा उखु बाली लगाएका छन् । त्यसमध्ये आधी जति उखु सुकी सक्यो । समयमा चिनीमिल सञ्चालन नहुँदा आफूहरूले यसरी घाटा खेप्नुपर्‍यो । ‘अहिले पनि चिनीमिल चलेन भने घाटा थपिदै जान्छ,’ उनले भने, ‘चाँडै उखुको मूल्य निर्धारण गरी चिनीमिल सञ्चालन गरिनुपर्‍यो ।’ चिनीमिल नचल्दा सबभन्दा बढी किसान मारमा परेको उनले बताए ।


चिनीमिलको यो रवैयाबाट आजित भएका अधिकांश किसान उखु खेती कम गर्ने मनस्थितिमा पुगेका छन् । उखु काटेर अब धान खेती गर्ने उनले बताए । ‘गहुँको सिजन समात्न सकिएन,’ उनले भने, ‘समयमा उखु काट्न पाए गहँु रोपिनथ्यो ।’ अहिले त समय नै बित्तिसक्यो । उखु काटे पनि केही दिन जग्गा बाँझै राख्नुपर्ने अवस्था सृजना भएको उनले बताए । उनले गत वर्ष लगाएको उखु ६ सय क्विन्टल पुगेको थियो । यसपालि उखुको वजन धेरै घटी हुने अनुमान पीडित किसानले गरेका छन् ।


समयमा चिनीमिल सञ्चालनमा नआउँदा किसानले लगाएको कुल उखु बालीको २५/३० प्रतिशत उखु सुकी सकेको उखु उत्पादक किसान संघ बाराका अध्यक्ष बिरेन्द्र कुशवाहाले बताए । ‘किसानले अहिलेसम्ममा धेरै घाटा व्योहोरीसकेका छन्,’ उनले भने, ‘चिनीमिल सञ्चालन नहुने अवधि लम्बिदै गए किसानले धेरै नोक्सान व्यहोहोर्नुपर्छ ।’ अहिलेसम्म जे भए–भए । अब पनि चिनीमिल नचले क्षति बढदै जाने उनले जिकिर गरे ।


किसानको पीरमर्कालाई न सरकार, न चिनीमिल सञ्चालकले नै बुझेका छन । उखुको मूल्यको विवादलाई अविलम्ब सुल्झाएर चिनीमिल सञ्चालनमा ल्याउन पहल गरिदिन उनले सरकारलाई आग्रह गरे । मन्त्रीकै कारण मूल्य निर्धारण विवादलाई सुल्झाउन बस्ने बैठक अहिलेसम्म बस्न नसकेको उनले आरोप लगाए ।


उखुको मूल्य निर्धारण हुन नसक्दा अहिलेसम्म बाराको कलैया उपमहानगरपालिका २४ श्रीपुरस्थित रहेको रिलायन्स सुगर एन्ड केमीकल इन्डस्ट्रिज प्रालि सञ्चालनमा आउन सकेको छैन । उद्योगले चिनीमिल सञ्चालन गर्न उद्योपतिले डोंगा पूजा पनि सम्पन्न गरिसकेका छन् । तर मूल्य निर्धारण विवादकै कारण चिनीमेल सञ्चालनमा आउन सकेको छैन ।


उखु उत्पादक किसान संघले ५ सय ४३ रूपैयाँ उखुको मूल्य निर्धारण गरिनुपर्ने माग अघि सारेको छ । किसान संघको मागअनुसार उखु मूल्य दिन नसक्ने चिनीमिल सञ्चालकले अडान लिएपछि किसान संघ र चिनीमिलबीच विवाद बल्झिएको छ । विवाद समाधानको लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चासो नदेखाउँदा चिनीमिल सञ्चालनमा आउन नसकेको किसानले आरोप लगाएका छन् ।


उखुको न्यूनतम मूल्य ५ सय १८ रूपैयाँ निर्धारण गरेर चिनीमिल सञ्चालनमा ल्याउनुपर्ने उखु उत्पादक किसान संघ बाराका अध्यक्ष बीरेन्द्र कुशवाहाले उद्योगसँग आग्रह गरे ।


सरकारले उखुको मूल्य एकतर्फी लादेर उद्योग सञ्चालन गराउन खोजेको गुनासो रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिका एमडी (सञ्चालक) राजकुमार अग्रवालले गर्दै आएका छन् । एउटै देशमा उखुको दुई थरीको रेट ? कहाँको नियम हो यो ? देशभरी नै उखुको एउटै रेट कायम सरकारले गर्नुपर्‍यो । उखुको मूल्य समायोजन गरिनुपर्ने उनले अडान राखे ।


गत वर्षको सिजनमा उत्पादन भएको चिनीमध्ये ९ हजार मेट्रिक टन उखु गोदाम बिक्री नहँुदा गोदाममै थन्किएको उनले जानकारी दिए । नयाँ र पुराना गरी साढे १४ हजार विगाहा क्षेत्रफलमा बारा र पर्सामा उखु खेती गरिएको चिनीमिलले जनाएको छ ।


गत वर्ष १० हजार ५१ किसानले उखु खेती गरेका थिए भने अहिले त्यो तथ्यांक बढेर १३ हजार ३ सय २४ मा पुगेको उनले जानकारी दिए ।


‘अहिले नयाँ २ हजार ८ सय ९१ विगाहा क्षेत्रफलमा उखु खेती थपिएको छ,’ उनले भने, ‘३ हजार २ सय ९१ नयाँ किसान उखु खेती गर्ने सूचीमा सामेल भएका छन् ।’ उद्योगले गएको सिजनमा बारा र पर्साका गरी १० हजार ५१ किसानबाट उखु खरिद गरेको थियो । किसानले गत वर्ष १० हजार ७ सय ७७ विगाहा क्षेत्रफलमा उखु खेती गरेका थिए । उखु उत्पादनमा राम्रो हुन थालेपछि यहाँका किसान उखु खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।


गत वर्ष प्रतिदिन २ हजार ५ सय टन क्षमतामा उखु क्रसिङ गरेको उद्योगले यसपालि १ हजार टन क्षमता थपेर ३ हजार ५ सय टनमा पुर्‍याएको जनाएको छ । अब यसले ३ हजार ५ सयदेखि ४ हजार मेट्रक टनसम्म प्रतिदिन उखु पेल्ने उद्योग प्रशासनले जनाएको छ ।


यो सिजनमा ३८ हजार देखी ४० हजार मेट्रिक टन उखु पेल्ने लक्ष्य उद्योगले लिएको छ । गएको सिजनमा चिनीमिलले २९ लाख १ हजार ७ सय क्विन्टल उखु क्रसिङ गर्दा २ लाख ५५ हजार ८ सय ६० क्विन्टल चिनी उत्पादन भएको उद्योग प्रशासनले जनाएको छ ।

प्रकाशित : पुस १६, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?