बन्यो पक्की बाँध

लक्ष्मी साह

बारा — दई हजार बिघा खेतमा सिँचाइ गर्न तियर खोलामा पक्की बाँध थिएन । यसको विकल्पमा किसानले कच्ची बाँध बनाउँथे र सिँचाइ गर्थे ।

दशकदेखि हप्तौ लगाएर प्रत्येक घरघरबाट एक/एक जना मिलेर सामूहिक रूपमा उनीहरू सिँचाइका लागि बाँध बनाउथे ।


वर्षा याममा बाढीले बाँध भत्किन्थ्यो । फेरि बनाउथे । फेरि भत्किन्थ्यो । यस्तै दिनचर्यामा किसानहरू खेती गर्थे । करैयामाई गाउँपालिका–८ का वडाका वडाध्यक्ष सुरेन्द्र साहले दातृ निकायबाट ४६ लाख बजेट भित्र्याएर पक्की बाँध बनाइदिएपछि त्यहाँको किसान उत्साही छन् ।


दातृ निकाय बेलायत सरकारको सहयोगमा जिल्लामा सञ्चालित सामुदायिक विकास कार्यक्रमका प्रमुखलाई फकाएर पक्की बाँध बनाइदिए । पक्की बाँध बनाएपछि वडाअन्तर्गतको श्रीसिया, औनिया, बेलाही, नरही र इटहर गरी पाँच गाउँको झन्डै २ हजार विघा खेतमा सिँचाइ गर्न पुग्ने भएको छ ।

बाँध (साइफन) बनाउन त्यस क्षेत्रका किसानहरूको वर्षाैंदेखिको सपना उनले पूरा गरिदिएपछि किसान खुसी भएका हुन् ।


त्यसैले किसानहरू उत्साही छन् । २० वर्षपछि भएको स्थानीय तहको चुनावबाट वडाध्यक्ष भएको डेढ वर्ष नबित्दै उनले बाँध बनाए । गाउँले मिलेर त्यहीं पक्की बाँध बनाइदिने शर्तमा उनलाई भोट दिएका थिए । त्यसैले उनले बनाइदिने वाचा गरेका थिए । ‘पक्की बाँधले वर्षाैंदेखिको सपना पूरा भएको छ,’ वडाका ६५ वर्षीय वैद्यनाथ पण्डितले भने, ‘हाम्रो शर्त सार्थक भएको छ, गाउँको भोट खेर गएन ।’


यस्तै, तिनै पाँच गाउँको बीचमा पर्ने थलही खोलामा पुल नभएकाले लामो र घुमाउरो बाटो हुँदै एक गाउँबाट अर्को गाउँमा पुग्ने अवस्था भएपछि गाउँलेबीचको सिधा सम्पर्क जोड्न वडाध्यक्ष साहले अर्को दातृ निकाय स्वीस सरकारअन्तर्गतको स्वीस विकास संस्थानबाट ५६ लाख बजेट भित्र्याएका छन् ।


जिल्ला प्राविधिक कार्यालयमार्फत आएको बजेटबाट बेलाही र इटहर बेतौना जोड्ने झोलुङ्गे पुल बन्दैछ । गत आवको अन्तिम महिनादेखि सुरु भएको काम २५ प्रतिशत ूुरा भएको वडाका सब्दुलाह खाँ बताउँछन् ।


यसरी त्यहीं वडाअन्तर्गत इटहर–बेलाही जोड्ने त्यसै खोलाको अर्को घाटमा पक्की पुल नभएपछि ३० वर्षदेखि त्यहाँका गाउँलेहरू ४० मिटर बाँसको पुल बनाएर ओहोरदोहोर गर्छन् ।


वर्षाका बेलामा आउजाउ बन्द रहन्छ । वर्षा यामभरि विद्यार्थीहरू गाउँ बाहिरको विद्यालय जान सक्दैनन् । यो समस्याबाट समेत मुक्ति पाउन वडाध्यक्ष साहले प्रदेश सरकारको भौतिक विकास मन्त्रालय धाएर झन्डै १ करोड बराबरको पुल बनाउने योजना भित्र्याएका छन् ।


‘पुलको डीपीआर तयारीको चरणमा छौं,’ प्रदेश २ का भौतिक विकास मन्त्रालयका इन्जिनियर विवेकानन्द झाले भने । यसरी जिल्लाको सदरमुकाम कलैया र रौतहटको ग्रामीण भेगका मुख्य बजार कटहरिया जोड्ने सडक बीचमा पर्ने थलही खोला छेउमा हाटबजार स्थापनाका लागि जिल्ला प्राविधिक कार्यालयबाट डेढ करोडको बजेट हात पारेको छ ।


यसबाहेक थलही सिँचाइ आयोजना, थलही–गुमतौरा घाटमा पुल निर्माण, नरही–बेतौना हुँदै हुलाकी मार्ग जोड्ने सडक बनाउन उनी दाताको खोजीमा छन् ।


१० हजार बढीको जनसंख्या रहेको यस वडामा वडाध्यक्ष साहले आफ्नो पालिकाको बजेटबाहेक अन्य निकायबाट लाखौं बजेट भित्र्याइसकेका छन् । दातृ निकायलाई फकाएर बजेट भित्र्याइ उनले विकास गर्ने वाचा पूरा गर्दैछन् ।


विभिन्न सामाजिक सेवाप्रदायक संस्था र दातृ निकायमा काम गरी अनुभव बटुलेका उनी पछिल्लो समय जनप्रतिनिधिमा निर्वाचित भएपछि विकासका लागि फरक शैली अपनाएर अन्य निकायबाट बजेट भित्र्याएर विकास गर्दै छन् ।


उनको शैली सिको गर्ने खाले भएको वडाका रामविलास साहले बताउँछन् । ‘विकासका लागि वडापिच्छे सरदर एक करोडको बजेट भए पनि त्यही बजेटमा वडाध्यक्ष आश्रित हुनुहुन्न, अरू निकाय धाएर बजेट ल्याउनु भएको छ,’ उनले भने ।


वडाका नियमित र क्रमागत बजेटबाट गाउँको स–साना योजना र जीवन स्तरमा परिवर्तन ल्याउने सामाजिक काम आफूले गरेको वडाध्यक्ष सुरेन्द्र साहले बताए । ‘दीर्घकालीन योजनाको बजेट बाहिरबाट ल्याएर गरेको छु,’ वडाध्यक्ष साहले भने, ‘विकास गर्ने इच्छा शक्ति भयो भने विकासका लागि बजेट बाधक बन्दैन ।’ वडाबाहेक बाहिरबाट बजेट ल्याएर विकास गर्ने आफूले उदाहरण दिन खाजेको उनको भनाइ छ ।

प्रकाशित : पुस १६, २०७५ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?