चिनी उद्योग सञ्चालन भएन

वर्षभरि मेहनत गरेर हुर्काएको उखु सुक्न थालेपछि किसान समस्यामा परेका छन् 
ओमप्रकाश ठाकुर

सर्लाही — कविलासी नगरपालिका–२, पिपरियाका किसान सुरेन्द्र रायको चिन्ता टरेको छैन । खेतमा लगाएको उखु सुक्न लागे पनि चिनी उद्योग सञ्चालन नहुँदा उनी तनावमा छन् । 

वर्षभरि मेहनत गरेर हुर्काएको उखु सुक्न थालेपछि किसान समस्यामा परेका छन् । यस वर्ष उखुको मूल्य निर्धारण नहुँदा चिनी उद्योग सञ्चालनमा आउनसकेको छैन ।


विगतमा मंसिर पहिलो सातातिर चिनी उद्योग सञ्चालनमा आउने गरे पनि केही वर्षयता मूल्यमा हुने किचलोका कारण उद्योगीले उद्योग समयमै चलाउने गरेका छैनन् । यस वर्ष पनि मूल्यकै विषयमा कुरा नमिल्दा उद्योग चल्ने समयमा बन्द छ ।


सिजनको मुख्य समयमा चिनी उद्योग बन्द रहँदा किसान छटपटीमा परेका छन् । रायले उखु सिजनको मुख्य समयमा उद्योग बन्द रहँदा आफूहरू चिन्तामा परेको बताए । समयमा चिनी उद्योग नचल्दा किसानको उखु सुक्दै गएको रायको भनाइ छ ।


उखु खर्चिलो खेती भएकाले उखु सुक्दा धेरै क्षति व्यहोर्नुपर्ने किसानहरूले बताइरहेका छन् । ‘सिजनको मुख्य समयमा चिनी उद्योग बन्द छ, उद्योग बन्द हुँदा हामीले क्षति व्यहोर्नुपर्छ,’ रायले भने, वर्षभरिको मेहनत र लगानी डुब्ने हो कि भन्ने खतरा बढेको छ ।’ केही वर्षदेखि उखु खेतीमा पीडा भइरहेको भन्दै रायले अब उखु खेती गर्ने मनस्थितिमा छैनन् ।


रायजस्तै अरू उखु किसानको अवस्था उस्तै छ । चिनी उद्योग नचल्दा कतिपय किसानले उखु सुक्न थालेको भन्दै गत वर्षको मूल्यको आधाभन्दा कम मूल्य मै क्रसर उद्योगलाई उखु बिक्री गर्न थालेका छन् । ‘एकातिर उद्योग सञ्चालनमा आएको छैन, अर्कोतिर उखु सुक्दै गएको छ,’ पचगछियाका किसान रामनारायण यादवले भने, ‘उद्योग सञ्चालनको आशामा उखु सुकाउनुभन्दा बरु कम मूल्यमै क्रसर उद्योगलाई उखु बेचिरहेको छु ।’


गत वर्ष प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ २० पैसा मूल्य निर्धारण भएको उखु सख्खर उद्योगलाई किसानले दुई सयमै बेचिरहेका छन् । चिनी उद्योग समयमा नचल्दा यसको फाइदा क्रसर उद्योगहरूले उठाइरहेका छन् । एक महिनाअघि प्रतिक्विन्टल २ सय ५० मा खरिद गरिरहेको उखु अहिले २ सयमै खरिद गरिरहेका छन् ।


क्रसर उद्योगहरूले किसानको मौकाको फाइदा उठाइरहेका छन् । गत वर्षको मूल्यको आधाभन्दा कम मूल्यमा उखु क्रसर उद्योगलाई बिक्री गर्दा किसानको लागत पनि नउठ्ने लघुवाका किसान उमेश साहले बताए ।


यस सिजनका लागि उखुको मूल्य निर्धारण नहुँदा र चिनी उद्योग नचल्दा सख्खर बनाउने क्रसर उद्योगले आफूखुसी मूल्य तोकेका छन् । ‘उखु सुक्न थाल्यो चिनी उद्योग चलेको छैन, मूल्य पनि तय भएको छैन, मूल्य तह नहुँदा क्रसर उद्योगले आफूखुसी मूल्य तोक्छन्,’ उनले भने, ‘क्रसर उद्योगमा उखु बिक्री गर्नु किसानको बाध्यता हो, यो मूल्यमा लागत पनि उठेको छैन ।’


पटकपटक किसान प्रतिनिधि र मिल सञ्चालकको बैठक बसे पनि चिनी उद्योग सञ्चालनबारे टुंगो लाग्न नसकेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए । मूल्य तय गरेर समयमै चिनी उद्योग नचल्दा किसानहरू समस्यामा परेको मैनालीले बताए ।


‘अहिलेसम्मको वार्ता र छलफलमा उद्योगपतिले उखुको प्रतिक्विन्टल तीन सय पचासदेखि चार सयको बीचमा सहमति भए हामी उद्योग चलाउँछौं नभए चलाउन सक्दैनौं भनिरहेका छन्,’ उनले भने, ‘यो मूल्यमा हाम्रो सहमति हुन सक्ने अवस्था छैन, मूल्य तय नभएर उद्योग सञ्चालनमा नआउँदा किसान समस्यामा परेका छन् ।’


तीनवटा चिनी उद्योग रहेको सर्लाही मुलुकमै सवभन्दा बढी उखु खेती हुने जिल्ला हो । यहाँ यस वर्ष २४ हजार हेक्टर क्षेत्रफलमा उखु खेती भएको छ । तीनवटै चिनी उद्योगले डोंगा पूजा सम्पन्न गरे पनि जारी मूल्य विवादले सञ्चालनमा आउन सकेको छैन ।

प्रकाशित : पुस १७, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?