२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

डेढ क्विन्टल चरेस बरामद

शंकर आचार्य

पर्सा — पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेससहित ट्रक चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरीका २९ वर्षीय सागर बल छन् । 

उनलाई वीरगन्ज महानगर ३१ बेल्वाबाट प्रहरीले आइतबार साँझ पक्रेको हो । पर्सा प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी बललाई चरेस बरामद भएको ट्रकसहित सार्वजनिक गरेको छ । प्रहरी उपरीक्षक रेवती ढकालले परवानीपुरदेखि मिलनचोक जाने सडक खण्डअन्र्तगत वीरगन्ज ३१ बेल्वाबाट सागरलाई साँझ करिब ७ बजे नियन्त्रणमा लिइएको बताए ।


सागरले मकवानपुरको लोथरबाट ट्रकमा चरेस ल्याउँदै गर्दा उक्त ट्रक प्रहरीले नियन्त्रणमा लिइएको थियो । ट्रकको खानतलासी गर्दा फल्स बटम बनाएर १ सय ६० किलो चरेस लुकाएको पाइएको थियो । यसरी फल्स बटम बनाउँदा ट्रकको दलिनमा बनाइन्छ । सामान्य नजरले हेर्दा यस्तो फल्स बटम बनाइएको तथा त्यसभित्र केही लुकाएको अनुमान समेत गर्न सकिँदैन ।


लागूऔषध तस्करीको ठूलो गिरोह यस कार्यमा संलग्न रहेको अनुमान गरिएको र मुख्य व्यक्तिको खोजी भइरहेको एसपी ढकालले बताए ।


चालक बलले आफूले लोथरदेखि वीरगन्जसम्म यति चरेस ल्याउन ६० हजार भाडा तय गरेर आएको बताए । आफू वीरगन्जको सुक्खा बन्दरगाह नजिकको इँटा भट्टामा इटा बोक्न भनी खाली ट्रक लिएर आएको उनले बताए ।


एक व्यक्तिले उक्त बस्तु वीरगन्ज लगिदिए बापत ६० हजार दिने प्रलोभन दिएपछि आफूले यो काम गरेको उनले बताए । उनले पहिलो पटक आफूले यसरी लागूऔषध बोकेको दाबी पनि उनले गरे ।


पर्सासंँग सीमा जोडिएको मकवानपुरको दुर्गम पहाडी भेगमा उत्पादन गरिने लागूऔषध गाँजा र चरेसको मुख्य बजार भारत नै हो । यी लागूऔषध भारत लग्न सबैभन्दा सहज बाटो वीरगन्ज तथा पर्सा जिल्लाका अन्य ग्रामीण नाका हुन् । कतिपय गिरोहले यसरी सवारी साधनमा लुकाएर लागूऔषध वीरगन्जसम्म ल्याउने, कतिपयले सीमावर्ती भारतीय सहर रक्सौलसम्म पनि लग्ने गर्छन् ।


भरियामार्फत तस्करी गर्ने गिरोहले मकवानपुरको मनहरी, लोथर क्षेत्रबाट पर्साको पर्सा राष्ट्रिय निकुञ्जको भित्री बाटो प्रयोग गरेर पर्साको ग्रामीण भेग हुँदै भारतसम्म लागूऔषध लग्दै आएका छन् ।

प्रकाशित : पुस १७, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?