३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सिडिओ कार्यालयमै मदारी नाच

‘मदारीको नाच सरकारी कार्यालय परिसरमै देखाउनु कानुनी शासनको उपहास भएको हामीले महसुस गरेका छौं’
पवन यादव

सिमरा — सिडिओ कार्यालय बारामा सोमबार कर्मचारीको चिया, खाजा ब्रेकको समयमा सुरु भएको खेल–तमासा हेर्न कर्मचारी र सेवाग्रहीको भीड लाग्यो । चारैतिरबाट सेवाग्राही र कर्मचारीको घेराबीचमा भारतको नासिकबाट रजहर भाइसमेत ८ जनाको समूहमा आएका मदारीले आफ्नो कला प्रस्तुत गरेका थिए ।

सिडिओ कार्यालयमै मदारी नाच

उनले कपालमा डोरी बाँधेर कार्यालय परिसरमा राखिएको ना४च ९२५८ नम्बरको स्कारपियो तानिदिए । कार्यालय परिसरमा सञ्चालन गरिएको ती मदारीको खेल तमासा हेर्न प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईसहित सुरक्षाधिकारीको टोली पहिलो पंक्तिमा कुर्सीमा बसे ।

उनीहरूले कुर्सीमा बसेर झन्डै आधी घण्टासम्म खेलतमासा अवलोकन गरे ।

मदारी टोलीमा सहभागी कलाकारले बाँसको मद्दतले हिँड्ने, हातले इँटा, ढुङ्गा फुटाउने, कपालमा रस्सी (डोरी) बाँधेर कार्यालयकै गाडी तान्ने लगायतका कला प्रस्तुत गरेका थिए । सरकारी कार्यालयमा यसरी मदारी तमासा देखाएको बारामा सम्भवत: पहिलो कार्यालय परिसरमै उनीहरूले तमासा देखाउन थालेपछि कार्यालयमा आएका सेवाग्राही र कार्यालयका सबै कर्मचारी अभिरुचिपूर्वक तमासा अवलोकन गरेका थिए ।

अहिलेको कानुननले खेल तमासा देखाएर पैसा संकलन गर्नेलाई कानुनी सजाय तोकेको छ । तर यहाँ उक्त कानुनको पालना भएको देखिँदैन । सरकारी कार्यालयलाई कार्यालयको समयमा मनोरञ्जनसँग सम्बन्धित कुनै पनि गतिविधि गर्नु गराउनु गलत भएको बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले बताए ।

‘सर्वाजनिक सेवा प्रवाह गर्ने स्वास्थ्य संस्था, अस्पताल, नगरपालिका, जिल्ला प्रशासन कार्यालय, शिक्षासँग सम्बन्धित कार्यालयमा बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म कार्यालय बाहेका गतिविधि गर्न पाइँदैन,’ उनले भने, ‘कार्यालयलाई मनोरञ्जनको आखडा बनाउन पाइँदैन ।’ यी सबै गतिविधि कार्यालय समयमा निषेधित हुनुपर्छ । कुनै पनि बहानामा कार्यालयको सेवा प्रवाह गर्ने स्थलमा मनोरञ्जनात्मक गतिविधि गर्नु गराउनु कानुनको विपरीत भएको उनले जिकिर गरे ।

जिल्ला प्रशासन कार्यालयले कार्यालय परिसरमै मदारी नचाउन लाउनु गलत भएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयका कार्यालय प्रमुख लगायत जिम्मेवार कर्मचारी र सुरक्षाकर्मीहरू आफ्नो पदीय दायित्वलाई निर्वाह गर्न नगरी कार्यालयमा मदारी नाच आयोजना गरिएको आरोप कलैयाका कानुनी व्यवसायी एकरामुल हकले लगाए । ‘मदारीको नाच सरकारी कार्यालय परिसरमै देखाउनु कानुनी शासनको उपहास भएको हामीले महसुस गरेका छौं,’ उनले भने, ‘यस्तै अवस्थाले अराजकता, दण्डहिनता, भ्रष्टाचार तथा कुशासन समेत छ ।’

हालसम्म यहाँका नागरिक समेतले परिवर्तनको अनुभूतिबिना मदारी नाचको आनन्द लिने गरेको उनको बुझाइ छ । फौज्दारी संहिताले सार्वजनिक स्थानमा शान्तिसुरक्षा भंग गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद हुने कानुनी व्यवस्था गरेको छ । दण्डाधिकारी प्रजिअ रहने कानुनी व्यवस्था रहेकोबाट निजको कार्यालय परिसरमा निज लगायत सुरक्षाधिकारीको अगाडि मदारी नाच देखाउने कार्यविधिको शासन र पदीय दायित्वबाट विमुख भएको उनको जिकिर गरे ।

प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले कार्यालयको टिफिन टाइमको समयमा मदारी नाच कार्यालय परिसरमा सञ्चालन भएको बताए । ‘दिउँसो डेढ बजेदेखि २ बजेसम्म कर्मचारीको खाजा खाने समय हो,’ उनले भने, ‘त्यो समयलाई मनोरञ्जको क्रममा खर्चियो ।’ भारतबाट आएका मदारीले देशको विभिन्न स्थानमा यसरी तमासा देखाउँदै प्रशंसापत्र संकलन गर्दै आएको उनले बताए । उनीहरूको कला देखेर प्रजिअ भट्टराईले नगद एक हजार रुपैयाँ र प्रशंसापत्र समेत कार्यालयबाट उपलब्ध गराएका थिए । प्रमुख जिल्ला अधिकारीसँगै अन्यले पनि नगद दक्षिणा मदारी टिमलाई उपलब्ध गराए ।

हालै लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १२६ मा भिक्षा माग्ने वा माग्न लगाउनेलाई कडा सजायको व्यवस्था गरेको छ । भिक्षा माग्नेभन्दा भिक्षा माग्न लगाउनेलाई बढी कसुरदार मानेर कानुनले बढी सजाय र जरिवानाको व्यवस्था गरेको जिल्ला न्यायाधिवक्ताको कार्यालय बाराका प्रमुख जिल्ला न्यायाधिवक्ता महेन्द्रबहादुर थापाले जानकारी दिए ।

सार्वजनिक स्थानमा भिक्षा माग्ने, भिक्षा संकलन गर्न बालबालिकालाई गीत गाउन लगाउने गतिविधि गर्नलाई कानुनले बन्देज लगाएको उनले जानकारी दिए । यस्ता क्रियाकलापलाई रोक्न कानुन आएको उनले स्पष्ट पारे । पहिलो पल्ट भिक्षा (भिख) माग्नेलाई १ महिनासम्म कैद सजाय वा १ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । त्यही मानिस दोहोर्‍याएर भिक्षा मागेको फेला परेमा प्रतिपटक बढीमा २ हजारसम्म जरिवाना वा २ महिनासम्म कैद सजाय हुने व्यवस्था कानुनमा गरिएको छ ।

त्यस्तै बालबालिका, गरिबलाई प्रयोग गरेर भिक्षा (भिख) मगाउने व्यक्ति पहिलोपटक कसुरदार ठहरिएमा ती व्यक्तिलाई १ वर्षसम्म कैद सजाय वा १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनमा व्यवस्था गरिएको छ । सोही व्यक्ति दोस्रोपटक अरूलाई प्रयोग गरेर भिक्षा मगाएको फेला परेमा ३ वर्षसम्म कैद सजाय वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने कानुनी व्यवस्था रहेको जनाइएको छ ।

प्रकाशित : पुस १८, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?