कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

२३ वर्षदेखि आलु खेती

दिनभर खेतमै आलुको गोडमेल र हेरचाह गर्छन् । रातमा आलु खेतमै बनाएको टहरामा सुत्छन्
भरत जर्घामगर

सिरहा — सिरहा नैडेगाका कृषक ३५ वर्षीय बलराम महतोको दिनचर्या दुई दशकभन्दा अघिदेखि निरन्तर रूपमा खेती भएको छ ।

२३ वर्षदेखि आलु खेती

७ कक्षासम्म पढेका उनले पढाइ छाडेर १२ वर्षको उमेरमै २०५२ सालबाट व्यावसायिक आलु खेती थालेका हुन् ।


बर्सेनी डेढ बिघा जग्गामा उनले व्यावसायिक आलु खेती गर्दै आएका छन् । दिनभर खेतमै आलुको गोडमेल र हेरचाह गर्छन् । रातमा आलु खेतमै बनाएको टहरामा सुत्छन् । उनको दिनचर्या आलु खेतमै बित्छ । भन्छन् ‘आलु नै जीवन, जीवनै आलु भएको छ, तीन महिना आलुसँगै हातेमालो गर्दै बित्छ ।’


आफूले पढन नपाए पनि १ छोरा र २ छोरीलाई महँगो खर्चमा बोर्डिङ स्कुलमा पढाएका छन् । छोरी सावित्री कक्षा १०, छोरा सत्यनारायण कक्षा ६ र कल्पना १ कक्षामा पढ्छन । लागत र खर्च कटाएर डेढ बिघा जग्गामा उब्जाएको आलुबाट बर्सेनी चार लाख रुपैयाँसम्म आम्दानी लिन्छन् ।


त्यतिमात्र होइन, त्यही आलु खेतीबाट उनले बच्चा पासवान र वासुदेव पासवानलाई रोजगारी दिएका छन् । उनीहरूले खेतीमा काम गरेबापत मासिक १२ हजार रुपैयाँ पाउँछन् । कामदारलाई खाजा, खाना दुवै दिन्छन् । बच्चा र वासुदेव बलरामका दुई हात बनेका छन् ।


बलरामले मंसिरमा लगाएको डेढ बिघा जग्गाको प्लटमा अहिले लहलह आलुको बोट झुलेको छ । जिल्लामै आलुको नमुना खेती गर्दै आएका उनको खेतमा आलु खेती हेर्न अन्य कृषकहरू पनि आइरहन्छन् । २०५२ सालमा स्थानीय प्रजातिको आलु रोपेर खेती सुरु गरेका उनले सुरुवाती दिनमा एक कट्ठामा ४ क्विन्टलसम्म आलु उब्जाए ।


त्यत्तिमा मात्र उनको चित्त बुझेन । उनले उत्पादन वृद्धिका लागि भारतको वैशाली विहारबाट अरुणा गोल्ड प्रजातिको आलुको बीउ भित्र्याए । एक दशकदेखि त्यही अरुणा गोल्ड प्रजातिको बीउबाट आलु खेती गर्दै आएका उनले अहिले कट्ठामा ८ क्विन्टलसम्म उब्जाउँछन् ।


उब्जनीबाटै उनले आलु बीउसमेत उत्पादन गर्छन् । प्रांगारिक मलबाट खेती गर्दै आएका उनले मलका लागि ६ वटा भैसी र बस्तुभाउ समेत पालेका छन् । ‘विषादी र रासायनिक मल प्रयोग गर्न चाहँदिनँ,’ बलरामले भने, ‘घरेलु तरिकाबाट तयार गरेको औषधिले काम गरेन भने मात्रै विषादी प्रयोग गर्न बाध्य हुन्छु, अन्यथा विषादी प्रयोग गर्दिनँ ।’


सुरुवाती दिनमा आलु खेतीबारे प्राविधिक ज्ञान, तालिम लिएका उनी खेती गर्दागर्दै आलु खेतीमा दक्ष बनिसकेका छन् । उनको सिको गर्दै नौडेगाका घरलौरी किसानले आलु खेती गर्छन् । महतो, चौधरी, पासवान, राम, सदाय समुदायका ८५ घर परिवारको बसोबास रहेको नौडेगाका घरलौरीले यो सिजनमा आलु खेती गर्छन् ।


कृषि कार्यालय नौडेगालाई आलु खेतीको पकेट क्षेत्र नै तोकेको छ । मंसिरमा सुरु गरेको आलु खेती फागुनसम्ममा भित्र्याइसकेपछि उनी त्यही खेतमा मकै र धान उब्जाउँछन् । धानको उब्जनीले वर्षभरि खानपुग्ने राखेर अरू बिक्री गर्छन् । नौडेगाका अधिकांश किसानले आलु खेतीपछि मकै, धानको खेती गर्छन् ।


दिनभर आलु खेतीमै बिताए पनि नौडेगाका किसानको दु:ख रातमा टहराको बास हुन्छ । कारण, नजिकै नौडेगा सामुदायिक वन क्षेत्र भएकाले जंगली जनावर निलगाई (स्थानीय भाषामा घोडगधा) र बँदेलले रातमा बाली सखाप पार्ने हैरानीले उनीहरूको रातमा टहराको बास भएको हो ।


६४ वर्षको उमेरसम्म रात टहरामै बिताएका बच्चा पासवानले रातमा घोडगधाले आलु खेती बिगार गरेको देखाए । उनी बलराम महतोको खेती हेरचाह गर्छन् । ‘जंगली जनावरले बाली सखाप पार्ने भएकाले टहरामै बस्न बाध्य छौं,’ उनले भने, ‘रातभर जंगली जनावरको बथानै भित्रिन्छ, टहरा छेउ जाडोमा आगो बालेर रात काट्छौं ।’


बच्चा मात्र होइन नौडेगाका अधिकांश किसानको रात टहरामै बित्ने गरेको छ । जंगली जनावरबाट बाली जोगाउन खेतमा खेतीसँगै टहरा भेटिन्छ । वासुदेव पासवान भन्छन्, ‘रातमा ड्युटी नगरे भोलिपल्ट हेर्दा बाली सखाप ।’

प्रकाशित : पुस २०, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?