३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

महानगरका कर्मचारी आन्दोलनमा

वीरगन्ज — वीरगन्ज महानगरपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीले बिहीबारदेखि अनिश्चितकालीन कामकाज ठप्प पारेका छन् ।

माग पूरा गर्न धेरै पटक नगर प्रमुख र प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ

नभएकाले नेपाल नगरपालिका कर्मचारी एसोसिएसन र स्थानीय तह कर्मचारी संघले बुधबार साँझ अनिश्चितकालीन कामकाज ठप्प गर्ने निर्णय गरेका थिए ।


बिहीबार कार्यालय समयमा कर्मचारीहरू महानगरपालिका परिसरमा धर्नामा बसेका थिए । कामकाज ठप्प हुँदा सेवाग्राही मारमा परेका छन् । महानगरको फोहोर समेत संकलन गरिएको छैन । बुधबारको कर्मचारी भेलाबाट महानगरपालिकाको वारुण यन्त्रबाहेक सम्पूर्ण कामकाज अनिश्चितकालका लागि ठप्प गरिएको नेपाल नगरपालिका कर्मचारी एसोसिएसनका अध्यक्ष सोहन थापाले जनाए ।


महानगरपालिका कार्यालयमा कार्यरत स्थानीय तहका कर्मचारीको वृत्ति विकास र संगठन तालिका महानगरको स्रोत साधनले थेग्ने गरी हुनुपर्नेमा त्यसो नभई स्रोत साधनको दुरुपयोग भएकोमा कर्मचारीले विरोध जनाएका छन् ।


प्रस्तावित संगठन तालिका एवं तहगत दरबन्दी प्रणाली सम्बन्धमा कुनै पहल नगरी महानगरपालिकाको स्थानीय तहमा कार्यालय सञ्चालनका लागि प्रयाप्त कर्मचारी हुँदाहुँदै महानगरपालिकाको सीमित स्रोत साधनबाट तलब सुविधा, सवारी साधन समेत दिई बाहिरबाट आएका निजामती कर्मचारीहरूलाई अख्तियार प्रत्योजन गरिएको छ ।


स्थानीय तहका कर्मचारीलाई काम नदिने र अख्तियार प्रत्यायोजन नगरी कर्मचारीको मान मर्दन गरिएकोमा संघ र एसोसिएसनले संयुक्त विज्ञप्तिमार्फत विरोध गरेका छन् ।


स्थानीय सरकारले स्थानीय तहमा कार्यरत कर्मचारीबारे स्वयं निर्णय लिन सक्ने भएकाले तहगत प्रणालीलाई खारेज गरी श्रेणीगत प्रणाली कायम गरी ज्येष्ठता, शैक्षिक योग्यता र कार्यदक्षताको आधारमा ५ वर्ष कार्य गरेकालाई बढुवा तथा स्तरवृद्धि र ५ वर्षभन्दा कम सो पदमा कार्यरतको हकमा २ ग्रेड थप गरी पदस्थापन गर्ने कार्य अविलम्ब कार्यपालिकाबाट निर्णय गरी सभाबाट अनुमोदन गर्न माग गरेका छन् ।


स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा २ को विपरीत हुने गरी प्रमुख प्रशासकीय अधिकृतबाट भएको अधिकार प्रत्योजन फिर्ता गरी एक जना प्रमुख प्रशासकीय अधिकृतबाहेक अन्य निजामती कर्मचारीलाई दिइएको सुविधा नहटाउन माग समेत गरेका छन् ।


स्थानीय सरकार सञ्चालन ऐनको मर्म विपरीत महानगरपालिकामा हाल भइरहेको निजामती कर्मचारीको पदस्थापना अविलम्ब रोक्न माग गरेका छन् । यसका लागि आन्दोलनरत कर्मचारीले ‘गो ब्याक’को अभियान समेत चलाएका छन् ।


महानगरपालिका कार्यालयको पर्खाल र भित्तामा प्रमुख प्रशासकीय अधिकृतबाहेकका निजामती कर्मचारी ‘गो ब्याक’ भन्ने नारा लेखिएको पम्प्लेट टाँसिएको छ । वीरगन्ज महानगरपालिकाका

प्रमुख प्रशासकीय अधिकृत डा.भीष्म भुसालले केही माग यहाँबाट सम्बोधन नहुने खालको र केही माग कर्मचारी समायोजनको भावनाविपरीत रहेको टिप्पणी गरे ।


‘बढुवाको माग हाम्रो स्तरबाट सम्भव छैन,’ कान्तिपुरसँग डा.भुसालले भने, ‘गो ब्याक अभियान समायोजन भावना विपरित छ ।’ महानगरपालिकामा कति कर्मचारी आवश्यक छ त्यसको बारेमा अध्ययन लिएको

उनले जनाए ।

प्रकाशित : पुस २०, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?