२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

झोलुङ्गे पुलमा ‘सेल्फी’

शिव पुरी

रौतहट — चुरे काखको पर्यटकीय क्षेत्र नुनथरस्थित झोलुङे पुल सेल्फी लिनेका लागि प्रसिद्ध बन्दै गएको छ । यहाँ घुम्न आउने जो कोही पर्यटकले पुलमाथि बसेर सेल्फी लिन्छन् । प्राय: युवा युवती जोडी यसमा मग्न हुन्छन् । नयाँ वर्ष, पिकनिक मनाउन आउनेका लागि पुल आकर्षक बनेको छ ।

झोलुङ्गे पुलमा ‘सेल्फी’

चन्द्रपुर नगरपालिका १ स्थित वाग्मती नदीको किनारमा रहेको नुनथर पर्यटकका लागि भव बन्दै गएको हो । रौतहट–सर्लाही जोड्ने झोलुङे पुलले पर्यटकलाई झनै लोभ्याएको छ । पुलमा बसेर सेल्फी लिनेको भिड नै लाग्छ ।


नयाँ वर्ष मनाउन मंगलबार यस क्षेत्र आएका भारतीय पर्यटक निकै रमाए । मनोरम दृश्य, बागमतीमा सुस्ताउँदै बगेको पानी, चुरे क्षेत्रको आकर्षणले पर्यटकलाई तानेको छ । भारतको बैरगनियाका रामकिशोर साहले ५ वर्षदेखि लगातार नयाँ वर्ष मनाउन नुनथर आउने गरेको सुनाए । उनी झोलङे पुलमा सेल्फी लिएर फर्किए । साथीसहित ७ जना थिए ।


‘पछिल्लो समय यहाँ घुम्न आउनेको जमात बढ्न थालेको छ,’ साहले भने, ‘चुरेको काखमा रहेको नुनथर घुम्न लायकको ठाउँ भएको छ । झोलुङे पुलले झनै आकर्षक बनाएको छ ।’ पुलबाट पारी सर्लाहीको डाँडा घुमेर पर्यटक फर्कन्छन् । पुल माथिबाट वरपरका दृश्य हेर्न लायकको हुन्छ । पर्यटक यसैमा रमाउँछन् ।


पूर्वपश्चिम राजमार्ग खण्डबाट झण्डै २ किमि उत्तर बागमतीको बगर छिचोलेपछि नुनथर क्षेत्र आउँछ । चुरेको काखमा रहेको नुनथर आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ । यहाँ आउने जोकोही रमाउँछन् । एक पटक आएपछि नदोहोर्‍याउने कोही हुँदैन । पछिल्लो समय पिकनिक, विवाह, वनभोज र घुम्नेको रोजाइमा नुनथर परेको हो । स्वच्छ सफा, सुन्दर प्राकृतिक एवम् जैविक विविधतायुक्त तथा आफ्नै मौलिकता भएको पर्यटकीय क्षेत्र हो । यहाँ लामो समयदेखि पर्यटकको भिड लाग्ने गरेको छ ।


स्थानीयका लागि विवाह उत्सव तथा बाह्य पर्यटकको रमणीय दृश्यका साथै मनोरञ्जनको रुपमा गन्तव्यस्थल बन्दै गएको हो । १ सय वर्षभन्दा बढी पुरानो शिव मन्दिर र त्यँहाको नुनिलो पानीका कारण यो क्षेत्र धार्मिक र पर्यटकीय महत्वले प्रख्यात छ । यसको दक्षिण खण्डको कुवाको पानी नुनिलो छ । पर्यटक नुनिलो पानी पिउन रुचाउँछन् । चुरेफेदको पानीका मूलमध्ये नुन मिसिएको मिठासयुक्त अन्यत्र पाइएको छैन । यही पानी नबिराई २ वर्षसम्म खाए कुष्ठरोग चर्मरोग निको हुने जनविश्वास छ ।


यस क्षेत्रको विकासमा लागेको नुनथर क्षेत्र विकास समितिका अध्यक्ष एवं सभासद रामकुमार भट्टराईले यो क्षेत्र साँच्चिकै पर्यटकीय गन्तव्य बनेको प्रतिक्रिया दिए । ‘भौगोलिक बनावटले पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो,’ उनले भने, ‘यसको समृद्धि र विकासमा लाग्नुपर्छ । प्रदेश २ को गौरव पनि हो ।’ नयाँ वर्ष मनाउन २० हजारको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यट आएको समितिको अनुमान छ । यहाँको बगर र डाँडामा बसेर पर्यटकले नयाँ वर्ष मनाए । बेलुका साँझसम्म ठुलै भिड लागेको थियो ।


आफ्नै किसिमको मान्यता बोकेको विषयवस्तुले गर्दा यो निकै प्रसद्धि छ । सातांै शताब्दीमा चिनियाँ यात्री हवेन सांग नुनथरमा बास बेसेको तांग वृतान्तमा उल्लेख छ । विविधता एवम् प्रकृतिको मनमोहक दृश्यावलोकन, मिठासयुक्त नुनिलो पानीको स्वाद चाख्न, वनभोज र शिवको मन्दिर दर्शनका लागि भारतबाट समेत पर्यटक आउँछन् ।


छिमेकी सर्लाही, धनुषा, महोत्तरी, बारा, पर्सा, मकवानपुरका मानिस यहाँ घुम्न आउँछन् । उनीहरू दिनभर घुमफिरमा व्यस्त हुन्छन् । साउन भदौ महिनाभरि यहाँ मेला लाग्छ । यसले झनै प्रसिद्ध बनाएको सभासद भट्टराईले सुनाए । पर्यटकीय क्षेत्रको रुपमा विकसित गर्न समितिले झण्डै १ करोड रपैयाँ खर्चेर चिल्ड्रेन पार्क, पिकनिक स्थल, माछा मार्ने स्थान र डुंगा सयरको व्यवस्था गरेको थियो ।


नुनथरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न बेला/बेला महोत्सवको आयोजना हुने गरेको छ । उतर तर्फको भिमबाँध महाभारत पात्र महाबली भीमले बागमतीमा बाँध लगाएर चुरेको भित्री खण्ड सिंचाइ गर्न बनाइएको भनिन्छ ।

प्रकाशित : पुस २१, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?