१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

अपांगता भएका रातो परिचयपत्रविहीन 

‘जनप्रतिनिधिले पनि अपाङ्गता भएकालाई हेप्न थालेका छन्’
पवन यादव

सिमरा — स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बित्तिसक्दा पनि जनप्रतिनिधीले अपाङगता भएका व्यक्तीलाई रातो परिचयपत्र उपलब्ध नगराएको पीडित अपाङ्गहरूले आरोप लगाएका छन् । 

बाराको कलैया स्थित जिल्ला समन्वय समितीको सभाहलमा शुक्रवार आयोजित अपाङ्गता भएका महिलाहरूको अधिकार पर्वद्धनाथ तथा अपाङ्ग परिचयपत्र वितरण निर्देशिका सम्बन्धि सरोकारवालाहरूसंग अन्र्तक्रिया कार्यक्रमका सहभागीहरूले पछाडी पारिएका अपाङ्गलाई अधिकार सम्पन्न बनाउनु पर्ने माग समेत गरेका छन् ।


लामो समय देखी अपाङ्गता भएका व्यक्तिले रातो परिचयपत्र पाएका छैनन,’ उनीहरूले भने, ‘जनप्रतिनिधिले पनि अपाङ्गलाई हेप्न थालेका छन् ।’ संविधानमा आफूहरूको लागि आरक्षणको व्यवस्था भए पनि त्यो अनुसारको सुविधा अपाङ्गता भएका व्यक्तिले पाउन नसकेको उनीहरूले गुनासो गरे ।


अपाङ्गताको प्रकारअनुसार रातो परिचयपत्र पाउँदै आएका अपाङ्गले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भए पश्चात रातो परिचयपत्र नपाएको नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष धनप्रसाद बजगाईले आरोप लगाए । ‘स्थानीय तहमा निर्वाचित हुनुभन्दा अगाडि जनप्रतिनिधिले चुनावका बेला अपाङ्गलाई धेरै सपना बाँडेका थिए,’ उनले भने, ‘जितेपछि गरेको वाचा पूरा गर्दैनन् ।’ उनीहरूले अहिले अपाङ्गलाई वास्ता गर्न नै छाडेको आरोप लगाए । अपाङ्गको समस्याबारे जानकारी गराउन कार्यक्रम अयोजना गरेर बोलाउँदा सरकारी निकायका प्रमुख, स्थानीय तहका निर्वाचित प्रतिनिधि, राजनीतिक दलका नेतालाई बोलाउँदा समेत उनीहरू नआएको गुनासो सहभागीले गरे ।


एक त प्राकृतिक हिसाबले हामी पछाडि परेका छौं । अर्कोतिर हामीलाई संरक्षण गर्ने निकाय पनि आफूहरूलाई हेला गर्दै पछाडि पारेको आरोप सहभागीले लगाए ।


बारा जिल्लामा रहेका ११ हजार ५ सय ४९ अपाङ्गमध्ये ५ हजार ७२ जनाले विभिन्न किसिमका शारीरिक अपाङ्ग महिलाहरू संख्या रहेको नेत्रहीन महिला संघकी अध्यक्ष अञ्जु धितालले जानकारी दिइन् । उनीहरूमध्ये ५० प्रतिशत अपाङ्ग महिला शिक्षाबाट वञ्चित रहेको उनले तथ्यांक सार्वजनिक गरिन् ।


‘आफूहरू संरक्षणकर्ताबाटै अपहेलित हुनुपरेको छ,’ उनले भनिन्, ‘अभिभावकले पनि अपाङ्ग छोरीलाई पढाउँदैनन् ।’ छोरालाई मात्र विद्यालय पठाएको उनले सरोकारवालको ध्यानाकर्षण गराइन् । अपाङ्गता भएका व्यक्तिका लागि कानुन बनाउँदा अपाङ्ग संघलाई अनिवार्य सहभागिता गराउनुपर्नेमा सहभागीको जोड थियो ।


‘मलाई गणना गर, समावेश गर’ भन्ने मूल नाराका साथ आयोजित अन्तक्र्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति बाराका संयोजक नवलकिशोर सिंहले अपाङ्गलाई अवहेलना होइन, मायास्नेह दिनुपर्नेमा जोड दिए ।


‘राज्यले उपलब्ध गराएको सबै सेवा तथा सामान्य मानिसले पाउने सरह सेवा सुविधा उपलब्ध गराउनुपर्छ,’ उनले भने, ‘गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका प्रमुखहरूले यसमा ध्यान दिनुपर्छ ।’ अपाङ्गलाई सेवा उपलब्ध स्थानीय तहले चासो देखाउनुपर्नेमा उनले जोड दिए ।


अपाङ्गहरूलाई अपाङ्गता परिचयपत्र दिनमा स्थानीय सरकारले ढिलाई गरेको राष्ट्रिय अपाङ्ग महासंघका प्रदेश नम्बर २ र ३ का सल्लाहकार गंगा वाग्ले आरोप लगाए । ‘शारीरिक अवस्थाका बारेमा हामीलाई स्थानीय सरकारले पन्छाउने गरेको छ,’ उनले भने, ‘यही अवस्था रहे यसले ठुलो दुर्घटना निम्त्याउँछ ।’ दुर्घटनामा हुने सबै क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी उनले दिए ।


नेत्रहीन महिला संघ नेपाल तथा नेपाल अपाङ्ग सेवा संघ बाराको आयोजनामा सम्पन्न कार्यक्रममा महिला विकास अधिकृत चन्द्रकला श्रेष्ठ, अपाङ्ग महिला पैरवी समितिकी अध्यक्ष कमला गौतम, अपाङ्ग संघका संस्थापक अध्यक्ष निरा अधिकारीलगायतले अपाङ्गलाई सम्मान र सहयोग गर्न सम्बन्धित सबै सरोकावालाई आग्रह गरेका थिए ।

प्रकाशित : पुस २१, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?