विद्यार्थी बोक्ने थोत्रा बस नियन्त्रणमा

शंकर आचार्य

पर्सा — स्कुल बसको मापदण्डविपरीत चलाइएका २० बस जिल्ला ट्राफिक प्रहरी कार्यालयले शुक्रबार नियन्त्रणमा लिएको छ । 

वीरगन्ज महानगरको विभिन्न क्षेत्रबाट ती बस नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक राजकुमार सिंहले जानकारी दिए । त्यस क्रममा ४० वटा बसमा लगाइएका प्रेसर हर्न पनि झिकिएको छ । ‘सुरुमा हामीले स्कुल बसको मापदण्डभित्र नपरेका बसलाई नियन्त्रणमा लिन खोजेका थियौं,’ उनले भने, ‘त्यस क्रममा सबै बसले प्रेसर हर्न पनि प्रयोग गरेको पाइएपछि ती हर्न झिकिएको हो ।’ वीरगन्ज महानगर क्षेत्रमा जनवरी १ देखि हर्न बजाउन र प्लाष्टिकको प्रयोग निषेध

गरिएको छ ।


महानगरका अधिकांश विद्यालयले विद्यार्थी बोक्न प्रयोग गर्ने बसले मापदण्ड पुरा नगरेको गुनासो आएपछि कारवाही प्रकृया अघि बढाइएको उनले बताए । यस क्रममा २० वटा बसमा स्कुल बस सञ्चालनसम्बन्धी निर्देशिका २०७४ अनुसारको सुविधा नराखिएको पाइएको छ । अधिकांशले विभिन्न यात्रुबाहक बसलाई स्कुल बसका रूपमा प्रयोग गरिएको पाइएको छ ।


ती बसमा स्कुल बस भनी कहि कतै नलेखिएको, बसमा पहेलो रंग नलगाएको, स्कुल बसको ब्यानरसमेत नराखिएको, डस्टबिन नराखिएको, क्षमताभन्दा बढी विद्यार्थी बोकेको, चालकले बसको कागजात नै नबोकेको, चालक र सहचालकले पहिचान खुल्ने ज्याकेटसमेत नलगाएको पाइएको छ । प्रेसर हर्नको हकमा एक पटकलाई सचेत गरिए पनि स्कुल बसको मापदण्ड पूरा नगरेको हकमा आवश्यक कारबाही गरिएको उनले बताए ।


बिहीबारदेखि रुट संकेत कलर प्रयोग नगरी घण्टाघरदेखि गण्डक रुटमा चलाइएका ई रिक्सालाई पनि कारबाही थालिएको उनले बताए । यस क्रममा पहिलो दिन ५० इरिक्सा नियन्त्रणमा लिई रुट संकेत कलर लगाउन लगाई आवश्यक कारबाहीसमेत गरेर इरिक्सा चालकलाई इरिक्सा दिइएको उनले बताए ।


वीरगन्जमा सबै रुटमा चल्ने इरिक्सालाई सम्बन्धित रुटको भिन्दाभिन्दै संकेतको रंग अंकित चिन्ह अनिवार्य गरिएको छ । २ वर्ष यता महानगरको सडकमा इरिक्साको चाप अत्यधिक बढेर यो सवारीलाई व्यवस्थित गर्नुपर्ने माग महानगरवासीबाटै आउन थालेपछि असोजदेखि इरिक्साको रुट कलरको अभ्यास गरिएको हो ।


यसले इरिक्सा व्यवस्थित भएर सडकमा यो सवारीको अव्यवस्थित चाप केही घटेको महसुस गरिएको थियो तर बिस्तारै चालकहरूले रुट संकेत नलगाउने र संकेत लगाए पनि रुटमा नहिंड्ने समस्या बढ्दै गएको छ ।

प्रकाशित : पुस २१, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?