आन्दोलनले फोहोरको डंगुर

४ सय २० भन्दा बढी सरसफाइ कर्मचारीले काम बन्द गरेका छन्
शंकर आचार्य

पर्सा — कर्मचारीले अनिश्चितकालीन रूपमा काम बन्द गरेपछि वीरगन्ज महानगरको सडकमा थुप्रिएको फोहोर ३ दिनदेखि उठन सकेको छैन ।

आन्दोलनले फोहोरको डंगुर

बिहीबारदेखि फोहोर नउठ्दा महानगरको मुख्य सडकमै फोहोरको डुंगुर थुप्रिएको छ ।


घन्टाघरदेखि पावरहाउस चोकसम्म मुख्य सडकमा ठाउँठाउँमा जम्मा भएका फोहोरबाट दुर्घन्ध समेत आउन थालेकाले बटुवा र स्थानीयलाई समस्या भएको छ । सधैं सफासुग्घर राखिने घन्टाघरदेखि छपकैंया र आदर्शनगर क्याम्पससम्मको नगरको मुख्य सडकमा पनि फोहोर थुप्रिन थालेको छ । यसले नगरको शोभा घटेको छ ।


नगरको मुख्य सडक क्षेत्र सफा राख्न दिनमा ३ पटकसम्म महानगरपालिकाका सरसफाइ कर्मचारीले फोहोर उठाउने गरेका थिए । कर्मचारी समायोजनको प्रक्रियामा बिमति जनाउँदै महानगरपालिकाका स्थानीय तहका कर्मचारीले बिहीबारदेखि काम बन्द गरी अनिश्चितकालीन आन्दोनल सुरु गरेका हुन् । ४ सय २० बढी सरसफाइ कर्मचारीले पनि काम बन्द गरेपछि महानगरको सडकमा थुप्रिएको फोहोर उठन नसकेको हो ।


मुलुककै सर्वाधिक फोहोर सहरका रूपमा बदनाम रहेको वीरगन्जमा एक दिन पनि फोहोर नउठ्दा त्यसले महानगरको सौन्दर्यमै असर पार्छ । क्लिन एन्ड ग्रिन नेपाल नामक संस्थाले यसै वर्ष महानगरमा गरेको स्थलगत अध्ययनले हाल महानगरका ३२ वटै वडाका घर तथा व्यावसायिक प्रतिष्ठानहरूबाट दैनिक १ सय ४० टन फोहोर सडकमा निस्किरहेको देखाएको छ ।


यस आधारमा बिहीबारयता महानगरका सडकमा ४ सय २० टन बढी फोहोरा थुप्रिएको छ । संस्थाकै अध्ययनले दैनिक निस्कने १ सय ४० टन फोहोर मध्ये ६३ दशमलव ६ प्रतिशत सडने खालका छन् ।


बाँकीमध्ये १३ दशमलव ५१ प्रतिशत प्लास्टिक, ११ दशमलव २१ प्रतिशत कागज, ३ दशमलव ८८ प्रतिशत शिशा, ३ दशमलव ४५ प्रतिशत कपडा, ३ दशमलव २८ प्रतिशत धातु र १ दशमलव ०७ प्रतिशत अन्य खाले फोहोर नसडने खालका हुन्छन् । स्थानीय तहका कर्मचारीले कामकाज नगरे पनि महानगरपालिकाको कार्यालयका डेढ दर्जन निजामतीतर्फका कर्मचारी भने कार्यरत रहेको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार भुषाल बताउँछन् ।


शनिबारसम्म महानगरको सडकमा थुप्रिएको फोहोर नउठे पनि आइतबारदेखि उठ्न सक्ने सम्भावना रहेको भुषालले बताए । हडतालमा रहेका कर्मचारीका हकमा अब कठोरतापूर्वक जाने तयारी भएको उनले बताए । ‘आइतबार बिहान महानगरपालिकाको बोर्डको बैठक बस्दैछ,’ उनले भने, ‘बैठकले कर्मचारी हडतालका सम्बन्धमा केही महत्त्वपूर्ण निर्णय गर्न सक्छ ।’

प्रकाशित : पुस २२, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?