१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

४ गाउँका एउटै जमिन्दार

‘यसरी मैले किनेका गाउँमा अन्य डोम जातिका व्यक्तिले प्रवेश पाउँदैनन्, यो हामी बीचको समझदारी हो’
शंकर आचार्य

पर्सा — ५५ वर्षीय गणेश मल्ली आफ्नो गाउँ मात्र नभई छिमेकका ३ गाउँका पनि जमिन्दार हुन् । जातले तराईको कथित दलितभित्रका मानिने डोम जातिका उनले २८ वर्षअघि आफ्नो गाउँ प्रसौनी साढे ४ हजारमा अरूसँग किनेका थिए ।

४ गाउँका एउटै जमिन्दार

३ वर्षअघि सुगौली गाउँ १ लाख २० हजार, ३ वर्षअघि नै अपौनी गाउँ ८० हजार र १५ वर्षअघि चैनपुर गाउँ ४ हजार २ सयमा किनेका हुन् उनले ।

झट्ट सुन्दा यति कम मूल्यमा सिंगो गाउँ उनले कसरी किने होलान् भनी जसले पनि लख काट्न थाल्छ । त्यसमा ४ गाउँका जमिन्दारको हालत जमिन्दार त के मध्यमवर्गीय व्यक्तिको जस्तो पनि छैन । न उनीसँग ठूला जातका जमिन्दारहरू जस्तो प्रसस्त जग्गाजमिन र गाडी घोडा नै छ । न उनको चाकरी गर्ने सुसारेहरू नै छन् ।

उनको जमिन्दारी मधेसको पुरानो परम्परा हो । मधेस–तराईका गाउँहरूमा डोम जातिले गाउँनै किन्ने परम्पराको उनी पछिल्लो उदाहरण हुन् । गाउँ समाजका कथित ठूला जातिले दलित र पानी नचल्ने भनी प्राय: गाउँ बाहिर बस्न दिने गरेका यिनै गाउँ समाजका ठूलाबडाको बिहेवारी र मरण जस्ता संस्कारमा अनिवार्य रूपमा चाहिन्छन् ।

यिनै दलितले बनाउने बाँसका सामग्री बिहेवारीमा अनिवार्य मानिन्छ । मरणमा शव दाह गर्दा मुखाग्नी दिने आगो डोमसँग किन्नुपर्ने परम्पराले पनि डोमको माग बढ्छ ।

तराईमा यसरी गाउँ समाजमा हुने विवाह र मृत्यु संस्कार दुबैमा डोमको महत्त्वपूर्ण भूमिका र आवश्यकता पर्ने भएकाले डोम जातिका अगुवाहरू यसरी गाउँ किन्ने गर्छन् । जसले जुन गाउँ किनेको हुन्छ त्यो गाउँमा हुने प्रत्येक विवाह र मृत्यु संस्कारमा उसले मात्र सेवा दिने गरेको गणेश बताउँछन् ।

‘यसरी मैले किनेका गाउँमा अन्य डोम जातिका व्यक्तिले प्रवेशे पाउँदैनन्, यो हामी बीचको समझदारी हो,’ उनले भने, ‘मजस्तै अन्य डोम अगुवाले पनि आआफ्नो गाउँ किनेर सुरक्षित राखेका छन्, म पनि उनीहरूको गाउँमा कहिल्यै जान्न, कसैले खनखाचो पर्दा गाउँनै बेच्छन्, किनबेच भएपछि गाउँको स्वामित्व र अधिकार पनि परिवर्तन हुन्छ ।’

परापूर्वकालदेखि चलिआएको परम्परालाई आफूहरूले धान्दै आएको उनले बताए । डोम जातिलाई सबैले हेला गर्ने तर समाजलाई डोम जाति नभई नहुने भएकाले आफूहरूको जमिन्दारी प्रथा पनि बाँचिनैरहने गणेश दाबी गर्छन् । ‘विवाहमा हामीले बनाउने बाँसका सामग्रीको मूल्य हामीले मागे जति पाउँछौँ,’ उनले भने, ‘मरणमा पनि हामीले आगो बेच्दा खोजे जत्तिको मूल्य पाएका हुन्छौं ।’

जमिन्दारीबाटै मासिक करिब १ लाख आफूले कमाउने गरेको गणेश बताउँछन् । उनको अहिले ५ धुर जग्गामा बनेको पक्की घर छ । ३ भाइ छोराको परिवार र उनको दम्पती यही सानो घरमा अटेका छन् ।

जमिन्दारी बाहेक डोम जातिको आम्दानीको मुख्य स्रोत बाँसका विभिन्न सामग्री बनाएर बिक्री गर्नु पनि हो । बाँसका छैटी, ढक्की, फूलडाली, बेहेरी, सुपुली आदि सामग्री उनीहरू बनाउँछन् । विवाह मात्र नभई तराईको महान पर्व छठमा पनि डोमले नै बनाएका सामग्रीहरूमा पूजाअर्चना गरिन्छ ।

राम्रै आम्दानी गरे पनि अव्यवस्थित बसाइ, अशिक्षा, परिवार नियोजनप्रतिको चेतना नहुनु, फोहोर र दुर्गन्धमै रमाउने तथा समाजका कथित उच्च र घरानिया वर्गले पनि चासो नदिने भएकाले डोम जाति अझै निक्कै पछि परेका छन् । तराईका जिल्लाहरूमा यो जातिको बसोबास छ । प्राय: सबै गाउँको बाहिर सार्वजनिक ऐलानी जग्गाहरूमा यो जातिको बसोबास देख्न सकिन्छ ।

सामाजिक अभियन्ता प्रकाश थारू डोम जाति पछि पर्नुमा राज्य र समाज जिम्मेवार रहेको बताउँछन् । ‘राज्यले डोम जातिको उत्थानका लागि हाल सम्म कुनै विशेष कार्यक्रम ल्याउनै सकेको छैन,’ उनले भने, ‘समाजका कथित उच्च जाति र घरानिया व्यक्तिहरूले पनि डोमका बारेमा कहिल्यै सोचिदिएनन्, शिक्षाप्रति पनि डोम जातिको चासो छैन, यस्तै अवस्था रहे उनीहरू आउँदो धेरै वर्षसम्म पनि पछिनै परिरहने छन् ।’

प्रकाशित : पुस २२, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?