१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ठोरीमा जंगल फँडानी

लक्ष्मी साह

ठोरी, पर्सा — वीरगन्जबाट ६८ किमि उत्तर–पश्चिमतर्फ जाँदा ओरिया खोला पारि ठोरी गाउँपालिका पर्छ । जिल्लाको विकट क्षेत्रमा पर्ने दसगजासँगैको यो गाउँ पारि भारत पश्चिम चम्पारणको रामनगर ग्राम पञ्चायतअन्तर्गत धुमाटार, जसौली, बलुवा, भिखना ठोरी, जमुनियालगायतका गाउँ छन् । 

कुनै समयमा यो दसगजा क्षेत्रको वारि र पारि घना जंगल थियो । तर अहिले यहाँ अचम्म के छ भने पर्सा राष्ट्रिय निकुञ्जसँगै जोडिएको ठोरीको विजयबस्ती, सिकारीबास, गोपी बस्ती, माली बस्तीलगायत उत्तरमा पर्ने ठुटे खोलासम्मको नेपाली भूभागमा जंगल नै छैन ।


दसगजा पारि भने घना जंगलैजंगल छ । उक्त घना जंगललाई भारत सरकारले बाल्मिकी ब्याघ्र परियोजना अन्तर्गतको बाघ संरक्षित जंगल क्षेत्र बनाएर संरक्षण गरेको छ । जंगलको सुरक्षाका लागि फौज परिचालित देखिन्छ ।


तर दसगजासँगैको वारि नेपाली भू–भागमा झन्डै १५ किमिसम्म फाँटैफाँट देखिन्छ । त्यहाँ खेतीपाती हुन्छ । कैयौं बस्ती बसेका छन् । ‘जंगलैजंगल भएको यो क्षेत्र आँखै अगाडि सखाप भएर अहिले फाँटैफाँट भएको छ,’ ठोरी गाउँपालिका ३ का ६५ वर्षीया सानुमाया तामाङले भनिन्, ‘एक पुस्ता पनि वितेको छैन । हजारौं बिघा घना वनमा बस्ती र खेतीपाती भइरहेको छ । फाँटमा सबै बाली फल्छ ।’


ठोरीका पचासौं युवा भारतीय फौजमा कार्यरत छन् । बहुदलअघि र पछिका सरकारको कमजोरीसँगै राजनीतिक संक्रमणको फाइदा लिने चल्ताफिर्ताको चपेटामा ठोरी परेको स्थानीयको गुनासो छ । दसगजामै केही किलोमिटरसम्म हुलाकी राजमार्ग छ । राजनीतिक तानातानको चपेटामा परेको प्रदेश २ अन्तर्गत पर्सा जिल्लाको विकट स्थानीय तह र ठोरी आसपासको क्षेत्रमा कतै दसगजा नै देखिँदैन ।


दसगजामै कतै खेतीपाती, सडक छ भने कतै खोला र कतै गाउँबस्ती भएकाले त्यो देखिँदैन । ठोरी गाउँपालिका–४ निर्मलबस्तीका ५४ वर्षीय समाजसेवी मानबहादुर श्रेष्ठ राजनीतिक द्वन्द्वताका संकटकाल भएपछि भूमाफिया र जंगल माफिया मिलेर वारिको जंगल विनाश गरेको बताउँछन् ।


‘जंगल र जग्गा यतिसम्म मासियो कि अहिले चरिचरण छैन । गाईबस्तु विस्थापित भयो,’ उनले भने, ‘अहिले खुला र फाँट भएपछि पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केका जंगली हात्तीलगायत वन्यजन्तुको जोखिममा मानव बस्ती परिरहेको छ ।’ बहुदलयता सरकारले सट्टाभर्नामा जंगल दिएपछि विनाश भएको उनले आफ्नो अनुभव सुनाए ।


ठोरी गाउँपालिका–४ विजयबस्तीका अर्का स्थानीय अगुवा अमर श्रेष्ठ मास्केले निर्दल–बहुदलको चुनावताका जंगल फँडानी भएको सुनाए । ‘जंगल विनाशले थारू जाति बिस्थापित भए । पहाडबाट झरेर आएकाहरूले बस्ती बनाए,’ उनले भने, ‘रोक्ने थाम्ने कोही भएन, जसको जहाँ मन लाग्यो त्यहीं बसे । त्यसैले हजारौं बिघा जंगल विनाश भएर फाँट बन्यो ।’

ठोरी गाउँ संघीयता भएयता राजनीतिक चपेटामा परेको छ । भारतीय नाकासँगैको यो गाउँ प्रदेश ३ को चितवनसित जोडिएकाले राजधानी काठमाडौंमा बस्नेहरूको यो गाउँ प्रदेश ३ मा पार्ने एक खालको मनोविज्ञान छ भने हाल प्रदेश २ को पर्सा जिल्लामा पर्ने यो गाउँ व्यापारिक नाकाको सम्भावना मात्र होइन, पर्यटक हबका रूपमा भएकाले प्रदेश २ को शानका रूपमा रहेकाले प्रदेश ३ मा जान नदिने अर्को खालको मनोविज्ञान छ । यही मनोविज्ञान र राजनीतिक चपेटामा ठोरी तानातान छ ।

प्रकाशित : पुस २२, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?