२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नगदेबाली उधारो बन्यो

शिव पुरी

रौतहट — वर्षभरि रखबारी गरी उखुको बिक्रीपछि नगद पैसाले गर्जो टार्ने किसानले सपना बुन्छन् । यस्तै सपना बुन्नेमध्ये गढीमाई नगरपालिका ४ सुन्दरपुरका किसान बिशुनराय पनि हुन् । उनका पूर्वजले यही खेती गर्दै आएका छन् । 

नगदेबाली उधारो बन्यो

नगदेबाली उधारो बन्दै गएपछि उनले चिनी मिललाई बिक्री गर्न छाडे । मिलले भुक्तानीमा झमेला गर्न थालेपछि अधिकांश किसानको पीडा उस्तै छ । उखुलाई नगदे बालीका रूपमा लिने गरिन्छ ।


गाउँमा झन्डै २ दशकदेखि २ बिगाहा खेतमा बिशुनले उखु बाली लगाउँदै आएका छन् । सुरुमा यस जिल्लामा चिनी मिल थिएन । वीरगन्ज र अन्य जिल्लामा उखु बिक्री गर्थे । नगदै रकम लिन्थे । छिमेकी बारा, पर्सा, सर्लाही र रौतहटका किसानको उखु क्रसिङ गर्ने उद्देश्यले २०५० सालमा गरुडास्थित श्रीराम सुगर मिल्सको स्थापना भयो । जिल्लाभरिका उखु किसान खुसी भए ।

‘पछिल्लो समय उधारोमा बिक्री हुन थालेपछि किसानलाई समस्या परेको छ,’ बिशुन भन्छन्, ‘वर्षभरि अरू बाली नलगाई उखुको संरक्षण गरिए पनि नतिजा शून्य भएको छ ।’ उनले पछिल्लो समय मिललाई उखु दिन छाडेका छन् । तीन वर्षअघि मिललाई उखु बिक्री गरे बापत २ लाख भुक्तानी लिन निकै कष्ट व्यहोरे । त्यसको पीडाले गाउँमा आफैंले मिठा उद्योग स्थापना गरे ।


उधारोबाट आर्जित किसानहरू उनको उद्योगमा नगदमा उखु बिक्री गर्छन् । पछिल्लो ५ वर्षयता मिलले भुक्तानीमा झमेला गर्दै आएको किसानको आरोप छ । ‘उखु मिलमा लैजाने क्रममा पुर्जीकै लागि टसल गर्नुपर्छ । त्यसपछि बल्ल मिलमा पुगेपछि रकम लिन अर्को कष्ट गर्नुपर्छ,’ उखु उखु उत्पादक किसान संघ रौतहटका अध्यक्ष अशोककुमार यादवलले भने, ‘किसानको मर्का कसले बुझ्ने । नगदे बाली भन्नु मात्र हो । यो सब पुराना कुरा भए । मिलले कहिले पनि किसानको समस्या बुझेन ।’


बिशुन जस्ता जिल्लाभरिका उखु किसानको पीडा एउटै छ । खेतबाट उखु ल्याउन पुर्जीमा झमेला अनि ल्याइसकेपछि भुक्तानीकै लागि लडाइँ गर्नु पर्ने । यसअघि भुक्तानीका लागि किसानले मिलमा ताला लगाउने र मूल गेटमा धर्नामा बस्ने काम गर्दै आएका छन् ।


जिल्लामा करिब १० हजार बिघामा किसानले उखु खेती गरेका छन् । ६ हजार यसैमा निर्भर छन् । मिसले यो वर्ष करिव २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको जनायो ।


अघिल्लो वर्षमा उखुको मूल्य निर्धारणमा गलफत्ती भएको थियो । पछि सहमति गरी किसानले उखु दिएका थिए । यो वर्ष झन्डै २ महिना किसानको खेतमा उखु त्यतिकै परेको छ । मूल्य निर्धारण नहुँदा किसान भौतारिन बाध्य भए । किसानले प्रतिक्विन्टल ५ सय ३१ रुपैयाँमा बिक्नुपर्ने माग अघि सारेपछि सञ्चालकहरू पछि हटे ।


सहमति हुन नसकेपछि मिल सञ्चालन हुन सकेन । खेतमा उखु सुक्न थालेपछि किसान छटपिटए । मिल सञ्चालनमा ढिला भएपछि केहीले मीठा उद्योग, खाँडसारीमा सस्तोमा उखु बिक्री गर्न बाध्य भए । घरको समस्याको अवस्था हेरी किसानले उखु बेचेका हुन् । ‘हाम्रो पीडा सुन्ने कोही छैन,’ देबाहीका किसान सुखल रायले भने, ‘उखु हुर्काएर आरामसँग बिक्री गर्न नपाउने । वर्षेनी दु:ख झेल्नुपर्ने ।’


मिल सञ्चालन हुँदादेखि उखुमा आश्रित धेरै किसानले लगाउन छाडेका छन् । मिलकै कारण सुन्दरपुर क्षेत्रमा किसान आफंैले गुड तथा खाँडसारी उद्योग सञ्चालन गरेका छन् । उनीहरूले आफ्नो लगायत अन्य किसानको खेतको उखु खरिद गरी उद्योग सञ्चालन गरेका हुन् ।


सुन्दरपुर क्षेत्रमा किसानले १४ वटा खाँडसारी मिठा (सक्खर) उद्योग सञ्चालनमा छन् ।

चिनी मिलले भुक्तानीमा झमेला गर्न थालेपछि आफैंले खाँडसारी चलाएका हुन् । उनीहरू उद्योगबाट निस्कने सक्खर बारा, पर्सा, सर्लाही, मकवानपुर, चितवन सम्म बिक्री हुने गर्छन् ।


अहिले बजारमा ५० रूपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । मदिरा उत्पादन, पूजा, मिठाई औषधि बनाउन सक्खरको प्रयोग हुन्छ । अहिले खाँडसारीमा उखुको चाङ लागेको छ । यसपालि उखु खरिद प्रक्रियाको दररेटमा ढिला भएपछि मिल सञ्चालन हुन नसकेको मिलका जीएम पिके झाले बताए । ‘पुरानो बाँकी भुक्तानीका लागि मिलले तयारी गरिरहरको छ,’ उनले भने, ‘केही प्राविधिक कारणले ढिला भएको हो । चाँडै भुक्तानी गर्छौं ।’


उनले किसानलाई उखु बिक्रीका लागि पुर्जीलगायत केहीमा पनि कठिनाइ नहोस् भन्ने मिलको चाहना रहेको सुनाए । सुरुका वर्षमा २५ लाखभन्दा बढी क्विन्टल उखु क्रसिङ गरेको जीएम झाले जनाए । अहिले क्रसिङ घटेको छ ।


भुक्तानीको पहल

श्रीराम सुगर मिल गरुडाले किसानको उखु खरिद गरेबापत नयाँ र पुरानो गरी बाँकी राखेको झन्डै १५ करोड भुक्तानीका लागि उखु उत्पादक संघले पहल सुरु गरेको छ ।


गत वर्षको डेढ करोड र त्यसअघिको साढे १३ करोड मिलले भुक्तानी दिन बाँकी राखेको संघका अध्यक्ष अशोककुमार यादवले जनाए । ‘पुरानो भुक्तानीका लागि मिल सञ्चालकसित पहल सुरु गरेका छौं,’ उनले भने, ‘उधारोमा उखु बिक्री गर्नु पर्दा किसान निराश छन् ।’

प्रकाशित : पुस २२, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?