१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कामै नगरी रकम निकासा

शिव पुरी

रौतहट — पुल निर्माणको काम नगरी रकम निकासा गरेको भन्दै गरुडा नगरपालिकाले उपभोक्ता समितिको बैंक खाता रोक्का गरेको छ । कार्यालयले समितिसँग रकम असुल्न थालेको छ । दुईवटा समितिले बैंक खातामा रकम जम्मा गरिसहेका छन् ।

कामै नगरी रकम निकासा

एउटाले गरेको छैन । निमय विपरीत पुलको रकम निकासा गरेको खुलेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकासित कागज मगाएर छानबिन गरिरहेको छ ।


भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट गरुडा नगरपालिकाको १ स्थित कल्भर्ट (सडक) पुल निर्माण जयनगर, वडानम्बर ६ स्थित सडक पुल निर्माण लमाहा नहरमा अमरपट्टि जाने बाटो र कल्भर्ट (सडक पुल) निर्माण पोठियाही गरी ३ वटा पक्की पुलका लागि ९० लाख विनियोजन गरेको हो ।


जिल्ला प्राविधिकको कार्यालयमामार्फत गएको आवको असार २७ गते नगरपालिकामा रकम आएको हो । रकम फिर्ता हुने भन्दै २ दिन भित्र वडाले उपभोक्ता समिति गठन गरी निकासा लिएको थियो । ३ करोडमा ३ वटा पुल निर्माण हुने जनाइएको छ । एक आथिर्क वर्षमा ३० लाखका दरले रकम विनियोजन गरिएको थियो । गत वर्षको रकम निकासा भए पनि उपभोक्ता समितिले कामै सुरु गरेन् । यो वर्ष थप ९० लाख विनियोजन भइआएको नगरपालिकाले जनायो ।


समितिले बैंकबाट रकम निकालेर पनि निर्माणको काम सुरु नगरेको नगरपालिकाले जनायो । निर्माणको काम सम्पन्न नहुँदै रकम निकासा भएको सञ्चार माध्यममा आएपछि समितिको खाता रोक्का गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकनाथ पन्थीले बताए ।


‘निर्माणका लागि पेस्की दिइए पनि काम सुरु गर्नुपर्नेमा त्यसो गरेको पाइएन, उनले भने, ‘पोठियाहीको पुल निर्माण समितिले ३० लाख सबै निकालको पाइयो । जयनगर र अमरपट्टिले डेढ लाखका दरले निकालेका छन् ।’ नगरपालिको ७ दिनभित्र रकम फिर्ता गर्न समितिको नाममा पत्र पठाएको छ ।


पत्रपछि जयनगर र अमरपट्टिले निकालेको डेढ/डेढ लाख फिर्ता गरिसकेको अधिकृत पन्थीले जनाए । पोठियालीले फिर्ता गरेको छैन । उनसले काम सुरु गर्न भनेर रड खसालेको छ । समितिले २० प्रतिशत रकम जम्मा गर्नुपर्नेमा त्यसो नगरेको पाइएको पन्थीले जनाए । ‘समितिले सम्झौता समेत गरेको पाइएन, ‘उनले भने, ‘ नियम विपरीत रकम निकसा गरिएकाले फिर्ताको पहल भइरहेको छ । अहिले सबै समितिको बंैक खाता रोक्का गरेका छाैं।’


पोठियाही गाउँको साँघुरो बाटोमा पुल निर्माण गरिने भनिएको छ । यहाँ सानो नाली छ । त्यही नालीको पानी पोखरीमा मिसिन्छ । यही पानीको निकासका लागि यति धेरै रकम खर्चेर पुल निर्माण गरिनलागेको पन्थीले सुनाए । जयनगर र अमरपट्टिमा निर्माण गर्न भनिएको पुल नहरको कुलोमा पर्छ । यी स्थानमा हेमपाइप राख्दा काम चल्थ्यो । यत्रो रकम खर्चेर पुल बनाउन लागिएकोमा नगरपालिकाकै कर्मचारी आश्चर्यमा परेका छन् ।


तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उदय देवकोटाको कार्यककालमा पुलको रकम निकासा भएको हो । अधिकृत देवकोटाले पुल निर्माण नगरपालिकाको स्वीकृत योजना र कार्यक्रम नभएको बताए । ‘आर्थिक वर्ष सकिन लाग्दै गर्दा रकम विनियोजन भइआएको थियो,’ उनले भने, ‘समय अभावले रकम फिर्ता जाने हुँदा समितिको नाममा पेस्की पठाएका हौं ।’


सामान्य हेमपाइप लगाउँदा हुने सडकमा पुल निर्माण गर्न भन्दै केन्द्रले रकम विनियोजना गरी पठाएको छ । पोठियाहीमा निर्माण हुने भनिएको पुलको रकम बंैकबाट ननिकालेको वडा नम्बर ६ का अध्यक्ष अशोक यादवले बताए । उनले पुस १३ गते विज्ञप्ति निकाली पुल निर्माणका लागि आएको ९० लाख रकम समितिको नामको बैंक खातामा सञ्चित रहेको जनाए ।


उनले उक्त रकम भ्रष्टाचार नभएको विज्ञप्तिमार्फत दाबी गरेका छन् । ‘३० लाख निकालिएको भनिएको रकमले अहिले पुल निर्माण गर्न लागेका छांै,’ उनले भने, ‘राजनीति पूर्वाग्राहीले केही मानिस लागेका छन् । यसमा कुनै सत्यता छैन ।’ उनले विज्ञप्ति निकालेको ३ दिनअघि नै सुरेशप्रसाद चौधरीको नामबाट २५ लाख ५० हजार रकम बैंकबाट निकालिएको पाइएको छ । त्यस्तै भदौ ११ गते समितिको खाताबाट ४ लाख ७५ हजार रकम निकालिएको छ ।


बैंकबाट निकालिएको रकमको इस्टेमेट समेत नगरपालिकाले मन्त्रालयमा बुझाएको छ । पुल निर्माणको कामै नगरी यति ठूलो रकम निकासा गरिएको भन्दै नगरपालिकाका उमयेर रंगिलाकुमारी जैसवालले विरोध जनाउँदै आएकी छन् । उनले पुल निर्माणमाको रकम भ्रष्टाचार भएको बताइन् । ‘यसको यथार्थ छानबिन होस् भन्ने मेरो माग हो,’ उनले भनिन्, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यथार्थ छानबिन गर्नुपर्छ । यसमा ढिला गर्नु हुँदैन ।’


गत वर्षकै रकमको काम सुरु नहुँदै थप ९० लाख रकम विनियोजन भइआएको छ । उपमेयर जैसवालका अनुसार सोही आर्थिक वर्षमा अनुमगन नै नगरी गलत मनसायले नगरपालिकाका मेयरले योजनाको भुक्तानी गरेको जानकारी दिइन् । यसको थप छानबिन र अनुगमन जरुरी रहेको उनले औंल्याइन् ।


रौतहटको १८ स्थानीय तहमध्ये अधिकांशमा बेथिति र मनोपली बढेको पाइएको छ । स्थानीय तहको बजेट दुरुपयोग गरी सुविधा भोग गर्न थालेपछि जनतामाझ उनीहरूको छवि धुमिलिएको छ । कतिपयले अधिकार सम्पन्न ठानेर जथाभावी निर्णय गर्न थालेपछि स्थानीयतहले अख्तियारमा उजुरी हालेका छन् ।

प्रकाशित : पुस २४, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?