३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

जनकपुरमा छाडा चौपाया

उपमहानगरपालिका, प्रहरी, प्रशासनले छाडा चौपाया नियन्त्रण र व्यवस्थापन गर्न सकेका छैनन्
शाहीमान राई

जनकपुर — प्रसिद्ध धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सहर जनकपुरका सडकमा चौपाया छाडा छोडिएको छ । सडकमा छाडिएका छाडा चौपायाका कारण सवारी आवागमनमा अवरोध हुने गरेको छ । 


जनकपुर उपमहानगरपालिका क्षेत्रमा पर्ने ढल्केबर–जनकपुर राजमार्ग, परिक्रमा सडक, एयरपोर्ट मुरलीचोक, रामचोक, जनकचोक, शिवचोक, भानुचोक, मिल्सएरिया रेलवेस्टेसन लगायत सहरको व्यस्त सडक जताततै गाई गोरु, भैंसी, बाख्रा, खसी, घोडा लगायत घरपालुवा चौपायाले सवारी आवागमनमा अवरोध हुने गरेको छ ।


जनकपुर उपमहानगरपालिका, प्रहरी, प्रशासनले छाडा चौपाया नियन्त्रण र व्यवस्थापन गर्न सकेका छैनन् । छाडा चौपाया नियन्त्रण गर्ने पहिलो जिम्मेवारी भएकोले जनकपुर उपमहानगरपालिकाले कार्यालय हाताभित्र कान्जीहाउस (पक्राउ गरिएका गाईवस्तु राख्ने ठाउँ) बनाएको छ । तर जनकपुरमा यति धेरै छाडा घरपालुवा चौपाया छन् कि नियन्त्रण गरेर ल्याउँदा कान्जीहाउसमै अट्दैनन् ।


छाडा चौपाया बीच सडकमा सुत्ने, हिँड्ने, उभिने र यताउता हिँडदा सवारी दुर्घटना पनि हुने गर्छ । सवारीले ठक्कर दिँदा मृत्यु भए चालकले मूल्यभन्दा धेरै जरिवाना तिर्नुपर्छ । सडकमा छाडा छाडिएका घरपालुवा जनावर नियन्त्रणमा लिएर कान्जीहाउस पुर्‍याएमा चौपायाका धनीलाई उपमहानगरपालिकाले ५ हजार जरिवाना तिराउने व्यवस्था गरेको छ ।


जनकपुर उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रण प्रयास गरे पनि असफल भएको उपमहानगर उपप्रमुख रिताकुमारी मिश्रले बताइन् । छाडा चौपायाले हैरान पारिसक्यो, सडकमा सवारी आवागमनमा बाधा पुर्‍याउँछन्, उपप्रमुख मिश्रले भनिन्, ‘घरपालुवा चौपायाको धनिले वास्तै दिँदैनन् ।’ नगर प्रहरीले नियन्त्रणमा लिएका गाई गोरु भैंसी बाख्रा घोडा लिन पशुपालक चौपायाधनीहरू लिनै आउँदैनन् ।


आफ्नो चौपाया लिन नआएपछि नगरपालिकाले उल्टै पालिदिनुपर्ने, घाँस र जनशक्ति उल्टै खर्च हुने गरेको छ । जरिवाना तिर्न गाह्रोले उपमहानगरपालिकाको नियन्त्रणमा रहेका चौपाया लिन नआएका हुन् । उपमहानगरपालिकाले नियन्त्रणमा लिएका चौपायाधनी लिन नआए लिलाम बिक्री गर्ने व्यवस्था भए मात्र सडकमा छाडा चौपायाको संख्या घटन सक्ने उपप्रमुख मिश्रले बताइन् । कान्जीहाउसमा नियन्त्रणमा रहेका दुहुना गाई भएमात्रधनीहरू लिन आउँछन्, नत्र आउँदैनन्, उपप्रमुख मिश्रले भनिन्, ‘कोरली गाई, गोरु, बाछाबाछी, भैंसी लिन आउदैनन् ।’


सडकमा घरपालुवा साढे र मन्दिरमा चढाएर छाडिएका साढेलाई समेत नियन्त्रणमा लिएर निकै टाढाटाढाको गाउँतिर पठाइएको छ । तर पशुधनीले आफ्नो चौपायालाई घाँस दिएर बाँध्नुको सट्टा छाडा छोडने गरेका छन् । छाडा पशु नियन्त्रणका लागि जनचेतना फैलाउन जरुरी रहेको जनकपुर ५ कि वडासचिव जमुना भुजेलले बताइन् । उनले पशुधनीको बेवास्ताका कारण उपमहानगपालिकाको कान्जीहाउस समेत प्रभावकारी हुन नसकेको बताइन् ।

प्रकाशित : पुस २५, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?