कर्मचारीले फोहोर उठाए

शंकर आचार्य

पर्सा — वीरगन्ज महानगरपालिकाका सरसफाइ कर्मचारीले मंगलबारदेखि महानगरको फोहोर उठाउन थालेका छन् । उनीहरूले दैनिक बिहान १ पटकका लागि फोहोर उठाउन थालेका हुन् । 

कर्मचारीले फोहोर उठाए

महानगरपालिकाको कार्यालयको कार्यपालिका बोर्डले गठन गरेको वार्ता समिति र आन्दोलनरत स्थानीय तहको वार्ता समितिबीच सोमबार राति ८ बजे सम्पन्न पहिलो चरणको वार्तामा भएको सहमतिअनुसार आन्दोलनरत कर्मचारीमध्ये सरसफाइ कर्मचारी मात्र ७२ घण्टाका लागि काममा फर्केका हुन् । मनपाको कार्यालयमा ४ सय २० बढी सरसफाइ कर्मचारी मात्र छन् ।

अन्य कर्मचारी भने अझै पनि हडतालमै छन् । वार्तामा सहभागी स्थानीय तह कर्मचारी संघ वीमनपा इकाई समितिका अध्यक्ष मुकेश गुप्ताले बिहीबारसम्मका लागि दैनिक एक पटक मात्र सरसफाइ कर्मचारीले सरसफाइ गर्ने बताए । वार्तामा कर्मचारी समायोजन प्रक्रिया आन्दोलनरत कर्मचारीहरूको माग सम्बोधन नभए सम्मका लागि रोक्का राख्ने र नयाँ भर्ना पनि नगर्ने सहमति भएको छ । त्यसैगरी, आन्दोलनरत कर्मचारीहरूको माग ७२ घण्टाभित्र बोर्ड बैठक बसी निर्णय गरी नगर सभाबाट पारित गर्ने सहमति भएको छ ।

सरसफाइ बाहेकका कर्मचारीहरू मंगलबार पनि मनपाको कार्यालय प्रांगणमा धर्ना दिएर बसेका छन् । गुप्ताले ३ दिनभित्र आफूहरूको माग सम्बोधन तथा सोमबारको वार्तामा भएको सहमति कार्यान्वयन नभए सरसफाइ कर्मचारी पुन: हडतालमा फर्कने बताए ।

वार्तामा मनपा कार्यापालिका बोर्डका तर्फबाट अरविन्द गुप्ता संयोजकत्वमा प्रदीप कुमार चौरसिया, मनोज कलवार र पारस यादव सहभागी थिए । आन्दोलनरत कर्मचारीका तर्फबाट सोहन थापा, मुकेश गुप्ता, मदन प्रसाद कुर्मी, अयुव अन्सारी, सतिश श्रीवास्तव, नरबहादुर बुढा र शेष अकवर वार्तामा सहभागी थिए । यसअघि आइतबार साँझ हुने भनिएको वार्तामा निजामतीतर्फका उपसचिव शिव लम्साल सहभागी भएपछि आन्दोलनरत कर्मचारीले आपत्ति जनाएका थिए । उनीहरूले वार्तामा निजामतीतर्फका मुख्य प्रशासकीय अधिकृत डा. भीष्मकुमार भुषाल बाहेक अन्य स्वीकार्य नहुने अडान लिएपछि वार्ता हुन सकेको थिएन ।

महानगरका सरसफाइ कर्मचारीले लगातार ५ दिन फोहोर नउठाउँदा सोमबारबाट नागरिक स्तरबाट फोहोर उठाउने काम सुरु भइसकेको थियो । व्यवस्थित वीरगन्ज अभियानले प्रहरीसँगको साझेदारी तथा मनपाको कार्यालयका मुख्य प्रशासकीय अधिकृत डा. भुषाल समेतको सहभागीमा फोहोर उठाउन सुरु गरेको थियो ।


मंगलबार पनि महानगरका विभिन्न क्षेत्रबाट फोहोर उठाउने योजना व्यवस्थित वीरगन्ज अभियान र ग्रिन सिटी सामुदायिक संस्था आदर्शनगर लगायतकाले गरेका थिए । महानगरका ३२ वटै वडाका घर तथा व्यावसायिक प्रतिष्ठानहरूबाट दैनिक १ सय ४० टन फोहोर सडकमा निस्कन्छ ।

प्रकाशित : पुस २५, २०७५ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?