मुसहर युवाले थाले खेती अभियान

भरत जर्घामगर

सिरहा — तराई–मधेसमा भूमिपुत्र मानिने मुसहर समुदायको पुख्र्यौली पेसामा माटो काट्नु र टालामा बोक्नु पनि पर्छ । कृषि मजदुरीको ठूलो हिंस्सा मुसहर समुदायले ओगटेका छन् । हलो जोत्नुदेखि बाली भित्र्याउने काम मुसहर समुदायले नै धान्छन् । 

मुसहर युवाले थाले खेती अभियान

अधिकांश गिरहत (जग्गाधनी) को खेतबारीमा काम गरेर जेनतेन गुजारा चलाउँछन् । दिनरात गिरहतको खेतीमै खटिए पनि त्यसले छाँक टार्न उनीहरूलाई हम्मे पर्छ ।


माटोसँगै दिनरात हातेमालो गर्ने खेतीपातीको सीपमा दख्खल मुसहर अधिकांश सुकुम्बासी छन् । सिरहाका ९५ प्रतिशत मुसहर समुदायको बसोबास ऐलानी जग्गा, सडक, खोला किनार र पोखरीका डिलमा छन् । खेतीपाती सीपमा दख्खल राख्ने तिनै मुसहर समुदायका युवाहरूले सिरहामा ‘आफ्नै बारी, आफ्नै खेती’ अभियान सुरु गरेका छन् । खेतीका लागि जग्गा जोड्न उनीहरूले युवाहरूलाई वैदेशिक रोजगारी जान प्रेरित गर्न थालेका छन् ।


नौ वर्ष वैदेशिक रोजगारीका लागि दुबई स्टिल फ्याक्ट्रीमा काम गरेका सिरहा सिसवनीका ३५ वर्षीय मनोज कुमार सदाय मुसहरले त्यहींको कमाइबाट ४७ हजार कठाको दरले २ बिघा २ कठा जग्गा जोडे । त्यही जग्गामा तरकारी खेतीबाट मनोजको परिवारको गुजारा आरामले चलेको छ । अहिले उनको खेतमा काउली, लसुन, आलु लगायत तरकारी भरिभारउ छ । सिँचाइका लागि उनले जग्गामा ५० हजारमा बोरिङ गाडेका छन् ।


खेतीपातीबाटै मनोजले ४ छोरी र १ छोरालाई वार्षिक ३६ हजार खर्चेर पढाइरहेका छन् । २०५६ सालमा एसएलसी उत्तीर्ण उनले अहिले जिल्लामै मुसहर समुदायलाई खेती अभियानमा होमाएका छन् । ‘पहिला वैदेशिक रोजगारमा जाने, अर्थोपार्जन गरेपछि दिगो खेतीमा लाग्ने अभियान थालेका हौं,’ उनले भने, ‘जन्मेदेखि नै माटोमा खेल्ने मुसहर समुदायलाई खेतीमा सहज हुने भएकाले आम्दानी लिन सक्षम भएका छौं ।’


५० घर मुसहर समुदायको बसोबास रहेको सिसवनी मुसहर बस्तीका घरलौरी युवा वैदेशिक रोजगारीमा छन् भने अधिकांश युवा वैदेशिक रोजगारीबाट फर्के खेतीपाती अभियान सामेल भएका छन् । २०५६ सालमै एसएलसी उत्तीर्ण नन्दीलाल सदायले १० कठठा जग्गा जाडेर खेतीपाती अभियानमा सामेल भएका छन् । बस्तीमै ज्ञान कुमार सदाय मुसहरले ६ कठा जग्गामा पोखरी खनेर वार्षिक २० हजार रूपैयाँमा भाडामा लगाएका छन् ।


बस्ती अधिकांश युवा युवतीदेखि वृद्धवृद्धासम्म आफ्नै जग्गामा खेतीमा तल्लिन भेटिन्छन् । १० वर्षअघिसम्म गिरहतको खेतमा काम गर्दै ६० वर्षीय बच्चु सदाय मुसहर आफ्नै खेतमा मिहिनेत गरेर खेती गरिरहेका छन् । उनका तीन भाइ छोराले वैदेशिक रोजगारीबाट कमाएर जग्गा जोडेपछि उनी दिनरात आफ्नै खेतीमा खटिन्छन् । आफ्नै बारीमा काम गर्न पाएका बच्चु खुसी हुँदै भन्छन्, ‘अहिले आफैं गिरहत (मालिक), आफैं कामदार ।’


सिसवनी मात्र होइन युवाको यो अभियान भगवानपुर गाउँपालिका १ स्थित मुसहर बस्तीमा पनि पुगेको छ । ३६ घरपरिवारको बसोबास रहेको बस्ती उनीहरू आफ्नै खेतीपाती गर्छन् । बस्तीका १३ युवा वैदेशिक रोजगारीमा छन् । वैदेशिक रोजगारीकै कमाइले लखन, मखन र चन्दरको परिवारले २ बिघा जग्गा जोडेका छन् ।


चन्दर परिवार आफ्नै खेतीको उब्जनीले आम्दानी गर्छन् । वैदेशिक रोजगारी र तरकारी खेतीले गाउँको आम्दानी बढेपछि बालबालिकाको शिक्षामा जोड दिन थालेको सुनाउँछन् रामविलास सदाय मुसहर । उनले शिक्षाबिना रोजगारी र सोच परिवर्तन हुँदैन भन्ने निधोमा पुगेर बस्तीमा अनिवार्य बालबालिका पढाउनुपर्ने नियम बनाएको बताए ।

प्रकाशित : पुस २७, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?