१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पुल बनाउन अनशन

भरत जर्घामगर

सिरहा — हुलाकी राजमार्गअन्तर्गत सिरहा–धनुषा र सिरहा–सप्तरी जोड्ने कमला र बलान खोलाको पुल ६ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने माग सहित सिरहाको महावीर चोकमा महिलाले अनिश्चितकालीन रिले अनशन सुरु गरेका छन् ।

पुल बनाउन अनशन

पुल निर्माणको माग गर्दै यसअघि हुलाकी सडक संघर्ष समितिका संयोजक रामरिझन यादवको नेतृत्वमा पुस १७ गतेदेखि रिले अनशन सुरु भएको थियो । यादव नेतृत्वको सातांै दिनको अनशनपछि मंगलबार आठौं दिनदेखि महिलाहरूले २४ घण्टे रिले अनशन सुरु गरेका हुन् ।


सरकार र ठेकेदार कम्पनीको लापरवाहीका कारण पुल निर्माण भएको ८ वर्ष ८ महिना बितिसक्दा पनि निर्माण सम्पन्न नभएको भन्दै ६ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने माग गर्दै हुलाकी सडक संघर्ष समितिले पुस १७ गतेबाट रिले अनशन सुरु गरेको थियो ।

काम थालेको ४२ महिनामै हस्तान्तरण गर्नुपर्ने पुल ८ वर्ष ८ महिना बित्दा समेत ठेकेदार कम्पनीले आधा निर्माण गरेर अलपत्र छाडेपछि सिरहा र सप्तरीका तीन दर्जन गाउँका बासिन्दाले बलान खोला तर्न सास्ती व्यहोर्नु परेको छ ।


हिउँदमा जसोतसो खोला वारपार गरे पनि वर्षामा पानीको बहाव बढी हुँदा ती गाउँ बीच आवतजावत बन्द हुन्छ । पुल निर्माण नहुँदा सिरहातर्फ इटहरवा, सखुवा, ठाडी, कल्याणपुर, सिनुरीया, नरहा भगवानपुर र सप्तरीतर्फ परमानपुर, टिकुलीया, चन्ही, थलाहा, डिगिया, मल्हनीया लगायत तीन दर्जन गाउँका बासिन्दाले बलान खोला तर्न सास्ती व्यहोर्दै आएका छन् । ती क्षेत्रको मुख्य बजार लहान हो । स्थानीय किनमेल र विद्यार्थीलाई राम्रो पठन पाठनका लागि लहान बजार नै धाउँछन् ।


आर्थिक वर्ष २०६७/६८ मा हुलाकी राजमार्गअन्तर्गत बलान खोलामा पुल निर्माणको ठेक्का लागेर ठेकेदार कम्पनीले काम सुरु गर्दा सिरहा र सप्तरी दुवै गाउँका स्थानीय खुसी भएका थिए । ‘वर्षौंदेखि आवतजावतमा सास्ती भोग्यौं, ८ वर्षअघि पुलको काम सुरु भएपछि सहज होला भनेर खुसी भयौं,’ सिरहा कल्याणपुरका ६१ वर्षीय रामविलास ठाकुरले भने, ‘तर ८ वर्ष ८ महिना बित्तिसक्दा पुल बन्न त परै जाओस्, पुल निर्माणका लागि सिरहाबासीले अनशन सुरु गर्नुपरेको छ ।’


उनका अनुसार सिरहातिरको जग्गा उतातिर र सप्तरीपट्टिको जग्गा जमिन यतातिर भएकाले खेती गर्न दुवैतिरका बलान खोला वारिपारि गरिरहन्छन् । हिउँदमा जसोतसो बाली भित्र्याए पनि वर्षायाम पछिको फसल भित्र्याउन बलान खोलामा पुल नभएकै कारण समस्या पर्ने गरेको उनले सुनाए । ‘हिउँदमा समेत बलान खोलामा घुडासम्म पानी रहन्छ,’ स्थानीय सुन्दरलाल पण्डितले भने, ‘वर्षायाममा कम्मर मुनिसम्म पानी अटुट हुन्छ, यस्तोमा आवतजावत गर्ने कठिन हुन्छ, खेती गर्न जान समेत पाइँदैन ।’


मधेसको लाइफलाइन मानिने हुलाकी राजमार्गअन्तर्गत सप्तरी र सिरहाको सीमामा पर्ने बलान खोलामा पुल निर्माणका लागि हुलाकी राजमार्ग परियोजनाले टेन्डर आहान गरेपछि शर्मा–पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार त्यति खेर ४२ महिनामा काम सम्पन्न गर्ने शर्तमा शर्मा–पप्पु कन्स्ट्रक्सनले २८ करोड हाराहारीमा ठेक्का सकारेको थियो । दुई पटक गरी चार वर्ष म्याद थपिसके पनि ५० प्रतिशत मात्र काम भएको छ ।

प्रकाशित : पुस २७, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?