निर्माणमा अघि बढ्दै सप्तरी

विकास निर्माणका कार्यले जिल्ला फेरि एकपटक विकासको पथमा अघि लम्कन लागेको छ । २०१६ सालमा उद्घाटन भई लामो समयदेखि बन्द रहेको राजविराज विमानस्थलमा अहिले नियमित हवाई सेवा सुरू भएको छ ।
अवधेशकुमार झा

राजविराज — विकासमा पछि परेको सप्तरी फेरि एक जुर्मुराएको छ । सडक सञ्जालदेखि विमानस्थलसम्म, स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि नर्सिङ कलेजसम्मको निर्माण सुरु हुने तयारीमा छन् ।

निर्माणमा अघि बढ्दै सप्तरी

रेफरल सेन्टरका रूपमा रहेको अञ्चल अस्पताल अत्याधुनिक शैलीमा निर्माणको तयारी गरिएको छ । भारतीय सीमा नाकासित जोड्ने राजविराज कुनौली सडक निर्माणको प्रक्रिया सुरु भएको छ । महेन्द्र राजमार्गदेखि भारतीय सीमासम्मका सडक दु्रत गतिमा निर्माण भइरहेका छन् । हुलाकी राजमार्ग निर्माण क्रममा छ ।

विमानसेवा नियमित

२०१६ सालमा उद्घाटन भई लामो समयदेखि बन्द रहेको राजविराज विमानस्थलमा अहिले नियमित हवाई सेवा सुरु भएको छ । अहिले श्री एयरलायन्सले मात्र उडान गर्दै आएको यस विमानस्थलमा बुद्ध एयरले पनि सेवा सञ्चालन गर्ने तदारूकता देखाएको छ ।

स्थानीयहरू अब विमानस्थलबाट नियमित रूपमा सेवा पाउनुपर्ने बताउँछन् । ‘कुनै पनि बहानामा अब विमानसेवा रोकिनुहुन्न,’ नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादवले भने, ‘बरु यसको पूर्णरूपेण नियमितताका लागि सरकारी र स्थानीय स्तरबाट केके गर्न

सकिन्छ यसमा सबैको समन्वय हुनु जरुरी छ ।’

‘राजविराज विमानस्थलबाट नियमित उडान सुरु हुनुले सप्तरी सहित छिमेकी जिल्लाहरू सिरहा र उदयपुर तथा भारतीय यात्रुहरूलाई समेत सहज भएको छ,’ राजविराज नगरपालिकाका नगर प्रमुख शम्भुप्रसाद यावले भने, ‘यसको निरन्तरताका लागि स्थानीय सरकारका तर्फबाट गरिनुपर्ने हरेक कार्यका लागि हामी तयार छाैं।’

बसपार्क द्रुत गतिमा

बसपार्कको अभावमा जताततै पार्किङ गरिँदा राजविराजका मूल सडकहरूको अवस्था वर्षौंदेखि विजोग छ । तर पछिल्लो समय राजविराजमा बसपार्क निर्माण कार्य भइरहेको छ । राजविराज नगरपालिका २ राजदेवी मन्दिर नजिक रहेको जग्गामा उक्त बसपार्क निर्माण भइरहेको हो ।

हदबन्दीमा परेको जमिन्दारको जग्गा सरकारी नाममा आएपछि २०४४ सालमा उक्त जग्गामा वीरेन्द्र हरित उद्यान निर्माणका लागि तात्कालीन प्रधानमन्त्री मरिचमान सिंहले शिलान्यास गरेका थिए ।

हरित उद्यान निर्माण हुन नसकेपछि प्रजातन्त्र पुन:स्थापनापछि २०५२ सालमा तात्कालीन मेयर शैलेश चौधरीको सक्रियतामा उक्त स्थानमा बसपार्क निर्माण गर्ने भन्दै कार्य अघि बढेको थियो । तर त्यसपछि पनि निर्माण कार्य अघि बढ्न सकेको थिएन । पछिल्लो समय उक्त बसपार्क निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ ।

तीन वर्षभित्र काम सम्पन्न हुने गरी काम भइरहेको नगर प्रमुख शम्भुप्रसाद यादवले बताए । विस १९९७ सालमा राजविराज नगर बसाइ पनि यहाँ बसपार्क निर्माण हुन सकेको छैन । बसपार्क नहुँदा राजविराजमा विभिन्न स्थानमा सडक नै अवरोध गर्ने गरी बसहरू सञ्चालन हुँदै आएका छन् ।

रूपनी मोड,गजेन्द्र चौक,सखडा रोड लगायतका स्थानमा सडकबाटै बसहरू खुल्ने गरेको छ । बसपार्कको अभावमा सडकमै बसपार्क बनाइदा नगरको सौन्दर्यमा समेत नकारात्मक प्रभाव पर्नुका साथै सडक जामकै स्थिति सृजना हुँदै आएको छ ।

सहरी विकास मन्त्रालय र राजविराज नगरपालिकाको संयुक्त प्रयासमा सम्झौताअनुसार निर्माण कम्पनीले आगामी २०७७ साल पुस १८ गतेभित्र बसपार्क निर्माण गरी सक्नुपर्ने छ । १६ करोड ३८ लाख ९६ हजार ५ सय १९ रूपैयाँमा निर्माण सम्पन्न हुने राजविराज बसपार्कमा सेड निर्माण, घन्टाघर, सर्भिस सेन्टर, इन्धन केन्द्र, शौचालय, टर्मिनल भवन र चारैतिर पर्खाल निर्माण गरी व्यवस्थित बनाइने तयारी छ ।

राजविराज हटिया व्यवस्थित गरिँदै

एक बिगाहा ११ कठ्ठा जग्गामा कतै अतिक्रमण त कतै झुपडीमा पसल सञ्चालन हँुदै आएकोमा अब पक्की संरचना निर्माण गरी हटियालाई व्यवस्थित गर्न लागिएको हो ।

राजविराज हटिया स्थापना भएयता यसलाई पूर्ण रूपमा व्यवस्थित गर्न सकिएको थिएन । सघन सहरी विकास कार्यक्रमअन्तर्गत राजविराज नगरपालिकाले पाएको कुल ३५ करोड बजेटअन्तरगत १९ करोडको लागतमा राजविराजको हटिया व्यवस्थित गर्न लागिएको हो । कुल ३ सय ८ वटा कोठा रहने गरी दुई तले सपिङ कम्प्लेक्स राजविराज हटियामा निर्माण हुन लागेको हो । पहिलो तला छत ढलान गर्ने तथा दोस्रो तलामा जस्ताले छाउने गरी कम्प्लेक्स निर्माण गर्ने तयारी छ ।

कोल्ड स्टोर निर्माणको तयारी

सप्तरीको राजविराजमा दोस्रो ठूलो क्षमताको कोल्ड स्टोर निर्माणको तयारी भएको छ । केही दिनभित्रै राजविराज नगरपालिका वडा नम्बर १५ देउरी भरुवामा कोल्ड स्टोर निर्माण कार्य सुरु हुने नगर प्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए ।

जिल्लामा यसअघि निजी क्षेत्रबाट एउटा कोल्ड स्टोर सञ्चालनमा रहेको छ । संघीय सरकार,प्रदेश सरकार र स्थानीय सरकार सहित सहकारीहरूको समन्वयमा उक्त कोल्ड स्टोर स्थापना हुन लागेको यादवले बताए । कोल्ड स्टोर स्थापनापछि जिल्लाका कृषकहरूको उत्पादनलाई राख्न सजिलो हुने उनले विश्वास व्यक्त गरे ।

प्रतिष्ठान र नर्सिङ कलेज स्थापना हुने

सरकारले सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको छ । सरकारी स्तरबाट स्थापना गर्न लागिएको उक्त प्रतिष्ठानमा उपचारका साथै चिकित्सा विज्ञानको अध्ययन अध्यापन समेत हुने बताइएको छ । सरकारी निर्णयसँगै उपयुक्त जग्गाको खोजी भइरहेको छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना सँगै सप्तरीलाई प्रदेस नम्बर २ को स्वास्थ्य उपचार केन्द्रका रूपमा विकास गरिने सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको भनाइ छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको निर्णयसँगै जिल्लावासी उत्साही भएका छन् । ‘प्रतिष्ठान स्थापनाले जिल्लाको विकासमा महत्त्वपूर्ण टेवा पुर्‍याउनेछ,’ राजविराज नगरपालिकाका पूर्व नगर प्रमुख शैलेशकुमार चौधरीले भने ।

यता सप्तरी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहेका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तरगत उक्त क्षेत्रलाई प्राप्त ४ करोड रुपैयाँ राजविराजमा नर्सिङ कलेज स्थापनामा लगाउने निर्णय गरेका छन् ।

अस्पताललाई अत्याधुनिक बनाइँदै

विगतका दिनमा रेफरल सेन्टरको उपनाम पाएको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल अत्याधुनिक बनाइने भएको छ । पछिल्ला दिनमा विशेषज्ञ चिकित्सकको उपस्थिति बढ्दै गएपछि सुधार हुँदै गएको अञ्चल अस्पताललाई अत्याधुनिक शैलीको बनाउन लागिएको हो । ‘अत्याधुनिक डिजाइनमा अत्याधुनिक उपकरण सहित अञ्चल अस्पताल निर्माण हुन्छ,’ उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भने ।

करिब ४५ करोड रुपैयाँको लागतमा निर्माण हुने उक्त अत्याधुनिक भवनमा १ सय ८० शय्या रहने तथा उक्त भवनको शिलान्यास आगामी पुस २६ गते मन्त्री यादवले गर्दैछन् । अस्पताल परिसरमै रहेका पुराना भवनहरू क्षतिग्रस्त भई समस्या भइरहेको थियो । ती पुराना भवनहरूलाई भत्काएर सोही स्थानमा अत्याधुनिक शैलीको नयाँ अस्पताल भवन निर्माण हुन लागेको हो ।

विस २०१३ सालमा सप्तरीको हनुमाननगरमा रहेको पृथ्वी बीर विक्रम उपचार केन्द्र राजविराज सारिएपछि ०२९ सालमा ५० शय्या सहितको सगरमाथा अञ्चल अस्पताल स्थापना भएको थियो । ०६१ साल भदौ २८ गते ५० शय्या थप गरिएको थियो । हाल अस्पतालमा ८४ वटा शय्या छ ।

सडक सञ्जाल थपिँदै

जिल्लाकै सबैभन्दा पुरानो सडकका रूपमा रहेको भारतीय सिमानाका कुनौली–राजविराज सडक खण्ड वर्षौंदेखि जीर्ण रहेको थियो । पछिल्ला केही वर्षमा त यो सडकमा साना सवारी साधन समेत चलाउन मुस्किल थियो । तर अहिले उक्त सडक निर्माण कार्य भइरहेको छ । उक्त सडक खण्ड भित्र तिलाठी नजिक रहेको खाँडो पुल समयमै निर्माण हुन नसक्नुले समस्या भइरहेको स्थानीयको कथन छ ।

साथै उक्त सडक निर्माण कार्यमा गुणस्तरीय काम नभइरहेको स्थानीयको आरोप छ । तर सम्बन्धित निकायले सडक निर्माण र पुल निर्माणको समय र गुणस्तरीतामा ध्यान दिन सकिए र उक्त सडक निर्माण भए सप्तरीको विकासमा लाइफलाइन सावित हुने स्थिति छ । भारतीय सीमा क्षेत्रसित जोडिएको उक्त सडक हुँदै रेलवे लाइनसम्म पुग्न सहज हुने स्थिति छ ।

प्रकाशित : पुस २७, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?